ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरिया भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्वनिर्धारित भ्रमण रद्द गरेका हुन् ।

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको तथा अझै पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु रहेको मन्त्रालयले जनाएको छ । साथै क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्ति नियमित तथा व्यवस्थित गर्ने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने र विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गर्ने निर्णय लिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो ।

सो भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत १३ साउनमा भ्रमण स्वीकृत गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरिया भ्रमण रद्द