धनकुटा । विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आउने नयाँ परिवारलाई टिकाइ राख्न स्थानीय छथर जोरपाटी गाउँपालिकाले ‘सुरक्षित आवास’ कार्यक्रम अघि बढाएको छ ।
यसअघि सो पालिकाले बसाइँसराइ गरी आउनेलाई पाँच वर्षदेखि ‘दुहुना गाई’ वितरण कार्यक्रम सञ्चालन गर्दै आएकोमा त्यसलाई हटाएर ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गरेको छ ।
नयाँ परिवारलाई गाउँको उत्पादनसँग जोड्ने र पशुपालनबाट आम्दानीको बाटो खोल्ने उद्देश्यले दुहुना गाई अभियान सञ्चालन गर्दै आएकामा गाई दिएर मात्रै नयाँ परिवारलाई टिकाउन नसकिने निष्कर्षका साथ गाउँपालिकाले अब आफ्नो रणनीति फेरेको हो ।
आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको दुहुना गाई कार्यक्रमअन्तर्गत पाँच वर्षमा ५० बसाइँ आएका परिवारले लैनो गाई पाएका छन् । त्यस क्रममा पहिलो वर्ष नौ परिवारलाई गाई दिइएको थियो । त्यसपछि क्रमशः आर्थिक वर्ष २०७८/७९ मा १०, २०७९/८० मा १८, २०८०/८१ मा ४ र २०८१/८२ मा तीन परिवारलाई गाई वितरण गरिएको पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईले बताए ।
दूध उत्पादनबाट आम्दानी गर्न सक्ने भएकाले नयाँ ठाउँमा बसोबास गर्न आउने परिवारलाई आर्थिक रूपमा सहज हुने अपेक्षा गाउँपालिकाको रहेको प्रमुख राईले बताए ।
कार्यक्रमको प्रभाव अपेक्षाअनुसार नदेखिएपछि गाउँपालिकाले बसाइँसराइ गरी आउने परिवारका लागि आम्दानीको स्रोतभन्दा पहिले स्थायी बसोबासको आधार आवश्यक रहेको निष्कर्षमा पुगेको छ ।
अब बसाइँसराइ आउने परिवारलाई घर निर्माणमा सहयोग गरिने गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । ‘दुहुना गाई’ कार्यक्रमको विकल्पका रुपमा सुरक्षित आवासलाई अघि सार्न लागिएको उनले बताए ।
गाउँपालिकाले आउने बित्तिकै गाई वितरण गर्ने नभई बसाइँसराइ गरेको तीन महिना पूरा भएपछि मात्रै प्रक्रिया अघि बढाउने गरिएको थियो ।
गाई लिन चाहने परिवारले गाउँपालिकामा निवेदनसँगै बसाइँसराइ दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रमाणित प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस बुझाउनुपर्ने व्यवस्था थियो ।
कागजात प्राप्त भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरेर परिवारको वास्तविक अवस्था, बसोबास र आवश्यक अन्य पक्षको अध्ययन गथ्र्याे । अनुगमनमा योग्य ठहरिएका परिवारलाई मात्रै दुहुना गाई उपलब्ध गराउँथ्यो ।
आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न नसक्दा भने केही इच्छुक परिवार कार्यक्रमबाट वञ्चितसमेत भएको पशुपन्छी विकास शाखाका प्रमुख राईले बताए ।
छथर जोरपाटीमा बसाइँसराइ गरेर आउने परिवारमध्ये सबैभन्दा धेरै तेह्रथुमका रहेको गाउँपालिकाले जनाएको छ । भौगोलिक र सामाजिक सम्बन्ध नजिक रहेकाले तेह्रथुमबाट आउने परिवारको संख्या बढी रहेको हो ।
धनकुटाकै अन्य स्थानीय तह, भोजपुर, संखुवासभा र झापाबाट परिवार जोरपाटीमा बसाइँसराइ गरी यहाँ आएको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।
गाउँमा नयाँ परिवार भित्र्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले बसाइँसराइ गरी आउने परिवारलाई स्थानीय तहको सेवा सुविधासँग जोड्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए ।
पाँच वर्षको अनुभवपछि पालिकाले बसाइँसराइ व्यवस्थापनको आफ्नो प्राथमिकता परिवर्तन गरेको हो । यसअघि गाउँमा आउने परिवारलाई ‘उत्पादनसँग जोड्ने’ नीति लिइएको थियो ।
अब भने ‘सुरक्षित बसोबासको आधार तयार गर्ने’ नीतितर्फ गाउँपालिका अघि बढ्ने अध्यक्ष सुब्बाले बताए । उनका अनुसार दीर्घकालीन रूपमा परिवारलाई गाउँमा टिकाउन आयआर्जनसँगै स्थायी र सुरक्षित आवासको आवश्यकता देखिएको छ ।
बसाइँसराइ सरी आउने परिवारका लागि घर निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई पालिकाले सहयोगमा प्राथमिकतामा राखेको अध्यक्ष सुब्बाले स्पष्ट पारे ।
सम्बन्धित समाचार
भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ बेपत्ता
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन
बाढीले बगाएका गरगहना कसैलाई थाहा नदिई घरमा राखे, अहिले छन् प्रहरीको हिरासतमा
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा सीडीओका स्वकीय सचिवसहित दुई जनाको मृत्यु
कहाँ गए जितेन्द्र खड्का ? तनावमा परिवार
भोटेकोशी बाढीले खोसेको खुसी : तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन






