आजदेखि चार दिन अति भारी वर्षाको चेतावनी

काठमाडौं । बंगालको खाडी तथा उत्तर अण्डमान सागर आसपास विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका विभिन्न राज्यमा वितण्डा मच्चाउँदै नेपालतर्फ सोझिएपछि आगामी चार–पाँच दिन मुलुकभर मौसमी विपद्को उच्च जोखिम बढेको छ ।

बंगालको खाडीमा विकसित ‘डिप्रेसन’को असर

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै ८ असोजदेखि १२ गतेसम्म देशका अधिकांश भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बंगालको खाडीबाट उठेको जलवाष्पयुक्त ‘डिप्रेसन’ उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालमा रहेको पश्चिमी वायुको न्यूनचापीय रेखासँग अन्तरक्रिया (ट्रफ रेखाको टकराव) हुने भएकाले असामान्य वर्षाको आकलन गरिएको हो ।

मौसम विज्ञानका अनुसार समुद्रको सतह तातेर वायुमण्डलीय चाप घट्दा सुरुमा ‘न्यूनचापीय क्षेत्र’ विकसित हुन्छ । चाप थप घट्दै प्रणाली बलियो बनेपछि यसलाई ‘सुस्पष्ट न्यूनचापीय क्षेत्र’ भनिन्छ । उक्त प्रणालीमा हावाको गति प्रतिघण्टा ३१ देखि ४९ किलोमिटरसम्म पुगेपछि यसलाई ‘डिप्रेसन’ र गति बढेर ५० देखि ६१ किलोमिटर पुग्दा ‘गहिरो डिप्रेसन’ भनिन्छ । हावाको वेग प्रतिघण्टा ६२ किलोमिटर वा सोभन्दा माथि पुगेपछि ‘चक्रवात’ (साइक्लोनिक स्टर्म) भनिन्छ ।

विभागका अनुसार विगत केही सातादेखिको वर्षाले जमिन पूर्ण रूपमा भिजिसकेकाले थोरै वर्षाले पनि भीषण पहिरो, गेग्रान बहाव र आकस्मिक बाढी निम्त्याउने खतरा छ ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभाग उच्च जोखिममा छन् । विभिन्न अन्तर्राष्ट्रिय मौसम मोडेलहरूले केही भूभागमा २०० देखि ४०० मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएका छन् ।

मौसमविद्हरूका अनुसार चुरे तथा महाभारत शृङ्खलाबाट बहने खहरे खोलाहरूमा अचानक आउने बाढीले तल्लो तटीय बस्तीहरूमा ठूलो विनाश निम्त्याउन सक्छ । सप्तकोशी, बागमती, नारायणी, कमला र बाणगंगा नदीको बहाव खतराको विन्दुभन्दा माथि जाने अनुमान छ ।

– पाँच प्रदेशमा ‘रेड अलर्ट’

– १२ गतेसम्म देशभर भीषण वर्षाको चेतावनी

– २४ देखि ४८ घण्टा अति संवेदनशील

– रात्रिकालीन यात्रा रोक्न, नदी तटीय क्षेत्र खाली गर्न निर्देशन

– सुरक्षा निकायहरू ‘स्ट्यान्डबाइ’

मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा पानी निकास हुन नसकेर हजारौँ घर डुबानमा पर्ने र नागरिक विस्थापित हुने जोखिम छ । काठमाडौँ उपत्यकाभित्र बागमती, विष्णुमती, मनोहरा, धोबीखोला र हनुमन्तेको जलसतह बस्तीसम्म पुग्ने र नदी किनारका कोरिडोर सडकहरू डुबानमा पर्ने चेतावनी दिइएको छ ।

पछिल्लो समय भोटेकोशी, त्रिशूली तथा रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको बाढी–पहिरोको घाउ पुरिन नपाउँदै फेरि निम्तिन लागेको भारी वर्षाले पूर्वाधारमा थप आघात पु¥याउने देखिएको छ ।

जमिन गलेका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडक, कान्ति लोकपथ र मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड पहिरोले अवरुद्ध हुन सक्ने उच्च जोखिम छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयले सम्भावित क्षति न्यूनीकरणका लागि विशेष कार्ययोजना लागू गरेका छन् । जोखिमयुक्त पहाडी सडकहरूमा रातिको समयमा सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिइएको छ भने सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा स्थगित गर्न आग्रह गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीहरूलाई देशभर ‘स्ट्यान्डबाइ’ राखिएको छ । बाढी तथा पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न स्थानीय प्रशासनहरूलाई निर्देशन दिइएको छ । विभागले २४ सै घण्टा बाढी पूर्वानुमानको निःशुल्क टोल फ्री नम्बर ११५५ खुला राखेको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन् । उनले आगामी चार दिन विशेष सावधानी अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

भारतमा डुबान, नदीहरू खतराको विन्दुमा
नेपाल भित्रिन लागेको मौसमी प्रणालीले भारतका पूर्वी र उत्तरी राज्यहरूमा ठूलो जनधनको क्षति पु¥याइसकेको छ । ओडिशा, पश्चिम बंगाल, झारखण्ड, बिहार र उत्तर प्रदेशमा मुसलधारे वर्षाका कारण कोलकाता र पटनासहितका प्रमुख सहरहरू जलमग्न छन् ।

गंगा, कोशी, महानन्दा, गण्डक र सुवर्णरेखालगायत प्रमुख नदीहरू खतराको रेखा नाघेर बगिरहेका छन् । बिहार र उत्तर प्रदेशका तराई क्षेत्रमा नदी कटान र बाढीका कारण हजारौँ हेक्टरमा लगाइएको पाक्न लागेको धानबाली तथा तरकारी खेती नष्ट भएको छ । रेलमार्गका ट्रयाकहरूमा पानी जम्दा दर्जनौँ रेल रद्द तथा डाइभर्ट गरिएका छन् । ग्रामीण सडकहरू भत्किँदा यातायात सम्पर्क टुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुदूरपश्चिममा सुरक्षा संयन्त्र तैनाथ
शुक्रबारदेखि तीन दिनसम्म भारी वर्षा हुने चेतावनीपछि सुदूरपश्चिम प्रदेशमा पनि प्रशासनिक तथा सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका निमित्त प्रमुख सञ्जयकुमार शाहका अनुसार चुरे क्षेत्रसँगै बझाङ, बाजुरा, दार्चुला र अछाममा बाढी र पहिरोको जोखिम उच्च छ ।

जोखिमलाई ध्यानमा राखी सशस्त्र प्रहरी बल श्री नं. ७ वैद्यनाथ बाहिनी, अत्तरियाले जनशक्ति र खोज–उद्धारका उपकरण तयार राखेको जनाएको छ भने नेपाली सेनाको सुदूरपश्चिम पृतनाले हेलिकप्टरसहितको टोली तयारी अवस्थामा राखेको छ ।

धनगढी उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गरी नदी किनारका बस्तीहरूमा माइकिङ गर्दै सुरक्षित स्थानमा सर्न आग्रह गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम