मनसुनजन्य प्राकृतिक विपद् उद्धारका लागि सशस्त्र प्रहरीको उच्च तयारी, ११ हजार बढी जनशक्ति परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६ सय ५० वटा जोखिमयुक्त ठाउँमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति उच्च सतर्कताका साथ परिचालन अवस्थामा राखेको छ ।

सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै देशभर व्यापक पूर्वतयारी तथा परिचालन योजना तयार गरी कार्यान्वयनमा ल्याउनुका साथै थप जनशक्ति र उद्धार सामग्रीहरूको प्रभावकारी व्यवस्थापनसमेत गरेको छ ।

जसअन्तर्गत २ हजार ६० जना विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिका साथै १३३ जना गोताखोर, २२४ जना रोप रेस्क्युलगायत उच्च भू–भाग खोज तथा उद्धार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा खटिएका छन् । यसका अतिरिक्त डुबानमा परेकाहरूको उद्धारका लागि १ सय ३ वटा र्याफ्ट बोट, ५८ वटा मोटर बोटसमेत तयारी अवस्थामा राखिएको छ ।

खोज तथा उद्धार कार्यलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र ५ वटा विशेष ड्रोन एयरमार्क गरी परिचालनको लागि तयारी अवस्थामा राखिएको छ । विपद्बाट सडक अवरोध भएमा तत्काल हटाउन वा खुलाउन तथा हेभी रेस्क्युका लागि विपद् जोखिमयुक्त नदी करिडोर र प्रदेशस्थित बाहिनी मुख्यालयहरूमा ह्विल लोडर, क्रेन र एक्साभेटर जस्ता हेभी इक्यूपमेन्टहरू तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै उच्च जोखिममा रहेका सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी, बाग्मती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते, नख्खुलगायत खोलाहरूमा आवश्यक उद्धार सामाग्रीसहित विपद् व्यवस्थापन जनशक्ति तयारी हालतमा राखिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले र्याफ्ट एसोसिएसनसँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशमा थप १०÷१० वटा र्याफ्ट बोटहरू तयारी अवस्थामा राखेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा आवश्यकता अनुसार तत्काल अन्य थप जनशक्तिसमेत परिचालन गर्ने गरी रणनीति तयार गरिएको छ । भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले शुक्रबारदेखि आइतबारसम्म जोखिमयुक्त नदी तटीय क्षेत्रहरूमा बसोबास गर्ने वासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन माइकिङ गर्नुका साथै सडक मार्गहरूमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउन सर्वसाधारण नागरिकहरूलाई विशेष अनुरोधसमेत गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

दोहोरो अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार