सडक बन्दको असर बजारमा, दशैंसम्मै अभाव र महँगी

स्केजः सामाजिक सञ्जाल ।

काठमाडौं । रसुवा–भोटेकोशी बाढीले सिर्जना गरेको विपत्को घाउ नसेलाउँदै सुरु भएको अविरल वर्षाले उपत्यकासँगको आवागमनका राजमार्ग प्रभावित पारेपछि त्यसको असर बजारमा दशैंसम्मै जाने भएको छ ।

रसुवा–भोटेकोशी बाढीकै कारण केरुङ नाका र पृथ्वी राजमार्ग प्रभावित भएसँगै चीनसँगको व्यापार र उपत्यकाको ‘लाइफलाइन’ मानिने राजमार्गको सम्पर्क टुटेको थियो ।

भोटेकोशी बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको केही दिनमै गत बिहीबारदेखि सुरु भएको अविरल वर्षाले धेरै ठाउँमा पहिरोसहित सडक क्षति गराएको छ । बिहीबारदेखि सुरु भएको चारदिने वर्षाले काठमाडौंसँग सम्पर्क जोडिने मुख्य राजमार्गहरू प्रभावित भएपछि उपत्यकाको बजारमा सुरु भएको तरकारीदेखि खाद्यान्नसम्मको अभाव र महँगी दशैंसम्मै बढ्ने देखिएको हो ।

उपत्यकालाई देशका विभिन्न भागसँग जोड्ने मुख्य सडकहरू पटक–पटक अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ भने वैकल्पिक बाटोबाट सामान ल्याउँदा ढुवानी लागत र समय दुवै बढेको छ । दशैं नजिकिँदै गर्दा बजारमा वस्तुको माग बढ्ने समयमै आपूर्ति शृंखला प्रभावित भएपछि उपत्यकामा खाद्यान्न, तरकारी, खाना पकाउने एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको मूल्य र उपलब्धतामाथि दबाब बढेको छ ।

अहिले देखिएको आपूर्ति संकट केही दिनको वर्षासँग मात्र जोडिएको छैन । भोटेकोशी बाढीपछि पृथ्वी राजमार्गको कृष्णभीरमा भएको क्षतिदेखि नै काठमाडौंको आपूर्ति प्रणाली वैकल्पिक सडकमा निर्भर हुँदै आएको थियो । पछिल्लो वर्षाले ती वैकल्पिक मार्गसमेत प्रभावित बनाएपछि जोखिम थप बढेको हो ।

कालीमाटीमा आपूर्ति दुई तिहाइ घट्यो
पछिल्ला दिनको सबैभन्दा प्रत्यक्ष असर तरकारी बजारमा देखिएको छ । निरन्तर वर्षा र पहिरोका कारण काठमाडौं उपत्यकासँग तरकारी उत्पादन हुने जिल्लाको सडक सम्पर्क प्रभावित भएपछि कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिने तरकारीको परिमाण एकाएक घटेको छ ।

कालीमाटीमा शुक्रबार जम्मा २४२ टन तरकारी भित्रिएको थियो । त्यसको अघिल्लो दिन ६५७ टन र एक साताअघि दैनिक ८१७ टनसम्म तरकारी आएको थियो । सामान्य अवस्थामा कालीमाटीमा दैनिक ७ सयदेखि ८ सय टन तरकारी आउने गरेको छ । अर्थात् पछिल्लो अवस्थामा सामान्य आपूर्तिको तुलनामा आगमन करिब दुई तिहाइले घटेको छ ।

आपूर्ति घटेसँगै मूल्यमा त्यसको प्रभाव तत्काल देखिएको छ । एक सातामै थोक बजारमा गोलभेंडाको मूल्य ६१.७६ प्रतिशतले बढेर प्रतिकिलो ११० रुपैयाँ पुगेको छ । खुद्रा बजारमा यसको मूल्य १५०–१६० रुपैयाँसम्म पुगेको छ । बन्दाकोबीको थोक मूल्य १७१.४३ प्रतिशतले बढेर ९५ रुपैयाँ पुगेको छ भने काउलीको मूल्य २२.७३ प्रतिशतले बढेर १३५ रुपैयाँ पुगेको छ ।

भदौको मध्यतिर औसत २२ रुपैयाँ रहेको लोकल गोलभेंडाको मूल्य शनिबार ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यो तेब्बरभन्दा महँगो भएको अवस्था हो । सुकेको प्याजको मूल्य पनि केही दिनयता लगातार उकालो लागिरहेको कालीमाटी तरकारी बजारको मूल्य विवरणमा देखिएको छ ।

काठमाडौंको तरकारी आपूर्ति धादिङ, चितवन, मकवानपुर, काभ्रेलगायत छिमेकी जिल्लासँगै तराईका उत्पादन क्षेत्रबाट हुने गर्छ । आलु, प्याज र कागतीको ठूलो हिस्सा भारतबाट समेत आउने भएकाले सडक सञ्जालमा अवरोध हुँदा स्थानीय उत्पादन मात्र होइन, आयातित वस्तुको आपूर्तिसमेत प्रभावित हुने अवस्था छ ।

रसुवा–भोटेकोशी बाढीपछि कालीगण्डकी जलप्रणालीमा पनि बाढीका कारण विद्युत् उत्पादनमा संकट सिर्जना हुने खतरा बढेसँगै ऊर्जा संकट निम्तिने सम्भावना बढेको छ । ऊर्जा संकटका कारण पनि पुनः खाना पकाउने ग्यासमा संकट बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन् ।

तरकारीपछि उपत्यकामा थप संकट ग्यासको आपूर्तिमा देखिन सक्ने भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए पनि बदलिएको परिवेशले ग्यास संकट अझै बढाउन सक्ने देखिएको छ । भारतबाट ग्यास बोकेर आएका बुलेटहरू मुख्य राजमार्गमा रोकिँदा उपत्यकामा ग्यासको नियमित आपूर्ति प्रभावित नै छ ।

आइतबार सार्वजनिक विवरणअनुसार करिब डेढ लाख सिलिन्डर बराबरको ग्यास बोकेका बुलेटहरू विभिन्न सडकमा रोकिएका छन् । नेपाल आयल निगमका अनुसार पछिल्लो वर्षाका कारण सडक अवरुद्ध भएपछि नयाँ ग्यास बुलेट काठमाडौं उपत्यका भित्रिन सकेका छैनन् ।

यसअघि पनि कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि निगम र ग्यास उद्योगहरूले तराईका बोटलिङ प्लान्टबाट सिलिन्डर भरेर वैकल्पिक सडक हुँदै काठमाडौं ल्याउने व्यवस्था गरेका थिए । एक चरणमा वैकल्पिक मार्गबाट ठूलो परिमाणमा ग्यास उपत्यकामा भित्र्याएर आपूर्ति धानिएको थियो ।

तर वैकल्पिक सडकसमेत वर्षाले प्रभावित भएपछि त्यसको भरमा मात्र आपूर्ति धान्न कठिन देखिएको छ । मुख्य राजमार्गमा ठूलो क्षति हुँदा ग्यासका बुलेटलाई उपत्यका प्रवेश गराउनुभन्दा तराईमै सिलिन्डर भरेर साना तथा मध्यम मालवाहकमार्फत ल्याउने विकल्प अपनाइएको थियो । यसले आपूर्ति जोगाए पनि ढुवानीको समय र लागत बढाएको छ ।

अहिलेको समस्या सडक अवरोधमा मात्र सीमित छैन । दशैं, तिहार र छठ नजिकिँदै गर्दा बजारमा वस्तुको माग स्वाभाविक रूपमा बढ्ने समय हो । यही बेला सडक सञ्जाल कमजोर हुँदा आपूर्ति घट्ने र माग बढ्ने दुईवटा दबाब एकैपटक बजारमा पर्न सक्ने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौसम्म वार्षिक उपभोक्ता मूल्यवृद्धि ५.९६ प्रतिशत पुगेको थियो । एक वर्षअघि यस्तो वृद्धि १.६८ प्रतिशत मात्र थियो । सो अवधिमा तरकारीको मूल्यवृद्धि ६.९० प्रतिशत थियो ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पर्कविहीन दशै जना जडीबुटी संकलक आए सम्पर्कमा