पूर्वप्रधानन्यायाधीश जबरा पक्राउको विषय संसदमा उठ्यो, विपक्षी दलहरुद्वारा चर्काे भर्त्सना

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइको विषयले प्रवेश पाएको छ । आजको बैठकमा बोल्ने विपक्षी सांसदले पूर्वप्रधानन्यायाधीश जबरा पक्राउको चर्काे विरोध गरेका छन् ।

नेकपा एमालेले पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीलाई सरकारको राज्य आतंक र बर्बर नमुना भएको बताएको छ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको पछिल्लो कदमप्रति आपत्ति जनाए ।

१० असोजको राति पूर्वप्रधानन्यायाधीश जबरालाई घरबाटै पक्राउ गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै महरले भने, ‘सरकारले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित र प्रतिष्ठित व्यक्तिलाई मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर राज्य आतङ्क र बर्बर नमुना प्रस्तुत गरेको छ । यो राज्य र विधिको शासनको चरम उल्लंघन हो ।’

महरले सरकार गठन भएको केही समयमै विभिन्न पूर्वपदाधिकारीहरूलाई पक्राउ गर्ने शैलीले सरकारको नियतमाथि प्रश्न उठाएको बताए । ‘सरकार बनेकै दिनदेखि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानन्यायाधीशसम्मलाई मध्यरातमा डाका शैलीमा पक्राउ गर्ने, घरमै गएर धरपकड गर्ने काम भइरहेको छ । यसले सरकारको लोकतान्त्रिक चरित्र होइन, निरंकुशता र स्वेच्छाचारिताको नमुना देखाउँछ,’ उनले भने ।

एमाले प्रमुख सचेतक महरले जेन्जी पुस्ताको काँधमा टेकेर सरकारले आफ्ना गैरकानुनी क्रियाकलापलाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाए । ‘जोसुकै व्यक्तिले कानुन मिचेको छ भने उसलाई कानुनको दायरामा ल्याउनुपर्छ, यसमा कसैको विमति छैन । तर, तथ्य र प्रमाणबिना, प्रतिशोधका आधारमा पूर्वाग्रही भएर गरिने पक्राउले कानुनको शासनलाई नै गिज्याउँछ,’ उनले भने ।

उनले थपे, ‘मान्छेलाई तर्साउने, धम्क्याउने, मध्यरातमा पक्राउ गरेर हुर्मत लिने काम अहिलेको सरकारको मुख्य शैली बनेको छ । यो विधिको शासन हो कि जसको शक्ति उसैको भक्ति भन्ने शैलीको निरंकुशता ?’।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइ प्रकरणले देशमा गैरकानुनी राज्यको अभ्यास भइरहेको आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।

प्रमुख सचेतक दुलालले पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा पक्राउ गर्ने र बिनाकारण छाड्ने सरकारको कदमले लोकतन्त्रको उपहास गरेको बताए । उनले भने, ‘बिना पक्राउ पुर्जी, बिना कारण मध्यरातमा पक्राउ गर्ने अनि १२ घण्टा नबित्दै छोड्ने ? यो कस्तो कानुनी राज्य हो ? सरकारले कुन स्टन्ट देखाउन खोजेको हो ?’

उनले थप प्रश्न गर्दै भने– ‘यो सरकार कानुनी बाटोमा हिँड्दै छ कि अराजकताको ? गिरफ्तार गर्ने र सुरक्षा थ्रेट छ भन्दै बहाना बनाउने कामले देशको न्याय प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ ।’ उनले सरकारलाई यस्तो ‘दादागिरी’ र ‘पागलपन’ बन्द गर्न चेतावनी दिए ।

प्रमुख सचेतक दुलालले राज्य संयन्त्रको दुरुपयोग गरेर राजनीतिक स्टन्ट देखाउनु भन्दा कानुनी प्रक्रियामा स्पष्ट हुन सरकारलाई आग्रह गरे । ‘मध्यरातमा जोस र दिउँसो होस हराउने सरकारको कार्यशैलीले जनतालाई निराश बनाएको छ। के खाएपछि यस्तो मध्यरातमा जोस र दिउँसो होस हराउँछ, सरकारले यसको जवाफ दिनुपर्छ,’ उनले भने ।

यस्तै, आजको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद भरत गिरीले सरकारले राज्य आतंक सिर्जना गरेको आरोप लगाए ।

सांसद गिरीले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित पदमा बसेका व्यक्तिलाई कानुनी प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले मुलुकमा विधिको शासनको उपहास भएको बताए । ‘सरकारले पूर्वप्रधानन्यायाधीश जबरालाई जसरी मध्यरातमा घरबाटै अपहरण शैलीमा पक्राउ ग¥यो, यो राज्य आतङ्कको बर्बर नमुना हो। यस्तो शैलीले लोकतन्त्र र मानव अधिकारको मर्ममाथि प्रहार गरेको छ,’ उनले भने ।

सांसद गिरीले आफूहरू कानुनको शासन र विधिको शासनको पक्षमा रहेको तर सरकारले कानुनको नाममा ‘प्रतिशोध’ को राजनीति गरिरहेको बताए । ‘हामी कानुन मान्छौँ, तर कानुनको आडमा गरिने डार्क राजनीति हामीलाई स्वीकार्य छैन । राज्यले शक्ति प्रयोग गर्दा पारदर्शिता अपनाउनुपर्छ, तर यो सरकारले त पटक–पटक निरंकुश र स्वेच्छाचारी शैली अपनाइरहेको छ,’ उनले भने ।

सांसद गिरीले यो सरकार गठन भएदेखि नै संवैधानिक अंगका प्रमुखहरू, पूर्वप्रधानमन्त्रीहरू र पूर्वपदाधिकारीहरूलाई लक्षित गरी निरन्तर यस्ता घटना दोहोरिरहेको बताए । उनले भने, ‘कहिले पूर्वप्रधानमन्त्री, कहिले पूर्वपदाधिकारी त कहिले पूर्वप्रधानन्यायाधीश राति सुतिरहेको बेला उठाउने र हतकडी लगाउने काम सरकारको नियमित कार्यतालिका जस्तै भएको छ । के यो लोकतान्त्रिक सरकारको काम हो ?’

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी शैलीप्रति कडा आपत्ति जनाउँदै यसलाई केटाकेटी खेलको संज्ञा दिए । सिंहदरबारस्थित संसद् भवनमा बोल्दै सांसद राईले प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई पक्राउ गर्नु सामान्य विषय नभएको बताए ।

उनले भने, ‘पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने, अनि भोलिपल्टै छोड्ने ? यो पक्राउ हो कि केटाकेटी खेल्ने खेल हो ? सरकारले यस्ता गम्भीर विषयमा नौटंकी गर्न छोड्नुपर्छ ।’

सांसद राईले राज्य संयन्त्रले कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा त्यसको आधार र गम्भीरता पुष्टि हुनुपर्नेमा जोड दिए । ‘विषय कति गम्भीर हो, त्यसको तथ्यपूर्ण अनुसन्धानपछि मात्रै कानुनी कारबाही अघि बढाउनुपर्छ। । पक्रिने र भोलिपल्टै छोड्ने कामले देशको न्याय प्रणाली र सरकारी निकायको विश्वसनीयतामाथि प्रश्न उठाएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

चोलेन्द्रशमशेरलाई भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाइयो