काठमाडौं । चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको हो ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार चाडपर्वका समयमा अनधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएभन्दा बढी भाडा असुली, सिट क्षमताभन्दा बढी टिकट बिक्री तथा एउटै सिटका लागि धेरै टिकट बिक्रीजस्ता घटना हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि अभियान सञ्चालन गरिनेछ ।
चाडपर्वका बेला तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र सडकमा सवारीसाधनबीच अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घटना हुन सक्ने भएकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी संयुक्त रूपमा विशेष चेकजाँच तथा अनुगमन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रराज सुवेदीका अनुसार बसपार्क, चाबहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुंगा, कलंकी, भीमढुंगा, साँखुलगायतका मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी विशेष अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषण जाँच गरिनेछ भने लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ ।
मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न ब्रेथलाइजर मेसिन प्रयोग गरी जाँच तथा अनुगमनलाई तीव्रता दिइने प्रवक्ता सुवेदीले बताए । दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको थप उपस्थिति गराई नागरिकलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने गरी अभियान सञ्चालन गरिने छ ।
चाडपर्वका समयमा मठमन्दिरमा दर्शनार्थीको भीड बढ्ने भएकाले ती स्थानमा पार्किङ व्यवस्थापनका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ । अभियानलाई प्रभावकारी बनाउन सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग तथा महानगर प्रहरीबीच समन्वय गरी एकीकृत रूपमा परिचालन गर्ने व्यवस्था मिलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
गन्दुरामले मध्यराति गरे श्रीमतीको हत्या, अनि आफैले दिए प्रहरीलाई जानकारी
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
अघि बढ्यो बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया
अध्यक्ष–महासचिव टकराब केन्द्रीय कमिटीमा छताछुल्ल
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. वाग्लेलाई
सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत





