काठमाडौं । सेवा सुविधा र नियमित उडान भर्न नपाएको लगायतका कारण देखाउँदै नेपाल वायुसेवा निगमका ६ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् ।
निगमका ६ जना पाइलटले दिए राजीनामा
निगममा कार्यरत ३ जना स्थायी र ४ जना करारका पाइलटहरूले राजीनामा दिएपछि निगममा कार्यरत अन्य पाइलट, को–पाइलट र एयर होस्टेजसमेतले सेवा सुविधा र कार्यस्थलको वातावरणको विषयलाई लिएर व्यवस्थापनको ध्यानाकर्षण गराउने तयारी थालेका छन् ।
राजीनामा दिएका वाइड बढी विमानका वरिष्ठ पाइलटहरू सञ्जय पौडेल, प्रशान्त श्रेष्ठ र न्यारो बढीका पाइलट मनिश विक्रम शाह स्थायी जागिरे हुन भने को–पाइलटहरू रचेन्द्र जोशी, प्रनव मल्ल र रेश्मा सिजापति करारका कर्मचारी हुन् । करारका कर्मचारीहरूको सेवा अवधि अझै एक वर्ष बाँकी रहेको निगमको भनाइ छ ।
उनीहरूले निगमको अपरेसन विभागको कार्यशैली, नियमित उडान नपाएको, विमान लामो समय ग्राउण्डेड भएका कारण वृत्ति विकासमा असर परेको लगायतका कारण देखाएर राजीनामा बुझाएका हुन् ।
पाइलटहरूले राजीनामा बुझाएपछि निगमको अपरेसन विभाग प्रमुख सुवास रिजालले पुर्न बिचार गर्न भन्दै पाइलटहरूलाई पत्राचार समेत गरेका छन् ।
निगमको मानव संसाधन विभाग प्रमुख अशोक सिग्देलले पाइलटहरूको राजीनामा दिएको पुष्टि गर्दै अपरेसन विभागका निर्देशकका तर्फबाट राजीनामा पुर्न बिचार गर्न पत्राचारसमेत भइसकेको पुष्टि गरेका छन् । ‘पाइलटहरूले दिएको राजीनामा त मैले देखेको छैन तर अपरेसन विभागका प्रमुखबाट राजीनामा पुर्न बिचार गर्न लेखेको पत्र भने मानव सुशासन विभागलाई प्राप्त भएको छ,’ सिग्देलले राजधानीसँग भने ।
राजीनामा दिएका एक जना वरिष्ठ पाइलटका अनुसार लामो समयदेखि विमान उडान नपाउँदा वृत्ति विकाशमा असर परेको, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको व्यवहार, भुक्तानीको समस्याजस्ता कारण राजीनामा दिनुपर्ने अवस्था आएको हो ।
निगममा हाल ६० जना भन्दा बढी पाइलट र को पाइलट कार्यरत छन् । तर तीमध्ये अधिकांश कामविहीन अवस्थामा छन् । निगमको जहाज महिनामा ८० घन्टा उडान गर्ने पाइलटले ६ लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्छन् । तर हाल वरिष्ठ पाइलटले समेत महिलामा मुस्किलले ४५ घन्टा उडान भर्न पाउँछन् । सो बापत उनीहरूले अढाई देखि ३ लाख रुपैयाँ तलब पाउँछन् ।
निगमकै तुलनामा निजी क्षेत्रका विमानले ८० घन्टा अन्तर्राष्ट्रिय उडान गर्दा १३ देखि १४ लाख रुपैयाँ सम्म पारिश्रमिक दिइरहेका छन् । आन्तरिक उडानमै पनि दुर्गम क्षेत्रको उडान भर्नेले १० लाख भन्दा बढी र सुगममा उडान भर्नेले सात लाख रुपैयाँसम्म पारिश्रमिक पाइरहेका छन् ।
निजीको तुलनामा अति न्यून पारिश्रमिक हुने र चरम राजनीतिका कारण काम गर्ने वातावरण नै नभएको भन्दै पाइलटहरूले जागिर छाड्न खोज्ने क्रम बढेको पाइलटहरू बताउँछन् ।
निगमका विमान ग्राउण्डेड भएको बेला विदेशी कम्पनीलाई क्रु भाडामा लगाउन पाइलटहरूले गरेको आग्रह पनि नमान्ने र कानुनले दिएको बेतलबी बिदा बसेर बिदा अवधिभर अन्य विमान उडान भर्न पनि नदिने नीतिका कारण पाइलट पलायन बढ्दै गएको निगमका कर्मचारीहरू बताउँछन् ।
ककपिटमा विभेद, व्यवस्थापनमा लापरबाही
राष्ट्रिय ध्वजावाहक निगम चरम व्यवस्थापकीय फितलोपन, जहाजहरूको निरन्तर ग्राउन्डिङ, ५० अर्ब रुपैयाँभन्दा बढीको ऋण भार र अनुभवी पाइलटहरूको तीव्र पलायनका कारण गम्भीर संकटमा फस्दै जान थालेको छ ।
आवश्यक मर्मत र पार्टपुर्जा अभावमा जहाजहरू महिनौँ ग्राउन्डेड भएर उडान तालिका अस्तव्यस्त बनेको छ भने विदेशी र स्वदेशी पाइलटबीचको चरम पारिश्रमिक विभेदले दक्ष जनशक्ति धमाधम राजीनामा दिएर बाहिरिन थालेका छन् ।
विगत पाँच वर्षमा निगमबाट ३५ भन्दा बढी स्थायी तथा करारका पाइलटहरूले राजीनामा दिइसकेका छन् । निगमभित्र एउटै ककपिटमा समान जिम्मेवारी सम्हाल्ने विदेशी र स्वदेशी पाइलटबीचको सेवा–सुविधामा ३ देखि ५ गुणासम्मको अन्तर रहेको पाइलटहरूको गुनासो छ ।
निगमले अन्तर्राष्ट्रिय एजेन्सीमार्फत ल्याउने विदेशी कनट्र्याक्ट पाइलटलाई मासिक १० देखि १५ हजार अमेरिकी डलर (करिब १३ देखि २० लाख रुपैयाँ) ग्यारेन्टीसहित भुक्तानी गरिरहेको छ । उनीहरूका लागि तारे होटेलमा आवास, निःशुल्क हवाई टिकट र सम्पूर्ण स्थानीय कर निगमले नै बेहोर्छ ।
नेपाली पाइलटहरूले ३६ प्रतिशतसम्म आयकर तिरेर हाल मासिक ३ देखि बढीमा ५ लाख रुपैयाँ मात्र पैसा पाइरहेको उनीहरूको गुनासो छ ।
नेपाली पाइलटको आम्दानी उडान घण्टामा निर्भर हुने भएकाले जहाज ग्राउन्डेड हुँदा उनीहरूको पारिश्रमिक कम हुने भए पनि विदेशीको हकमा यो व्यवस्था लागू हुँदैन । यसलाई पाइलटहरूले विभेद मानेका छन् ।
हाल निगमसँग व्यावसायिक उडानका लागि २ वटा वाइड बडी, २ न्यारोबडी र २ वटा ट्विनअटर मात्र छन् । मर्मतलगायतका प्राविधिक प्रक्रियामा हुने ढिलाइका कारण यी जहाज पनि पालैपालो ग्राउन्डेड हुने गरेका छन् ।
नियमित ‘सी–चेक’ का लागि इटाली पठाइएको एउटा वाइड बडी जहाज अहिलेसम्म बनेको छैन भने अर्को वाइड बडी पनि इन्जिन समस्याले जापानको नारितामै ग्राउन्डेड छ ।
सञ्चालन घाटा देखाएर सन् २०२० देखि पूर्ण रूपमा ग्राउन्डेड गरिएका ६ वटा चिनियाँ जहाज (२ एमए–६० र ४ वाई–१२ई) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा वर्षौंदेखि थन्किएर बसेका छन् ।
वाइड बडी र न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको करिब ५० अर्ब रुपैयाँ ऋणको साँवा–ब्याजसमेत निगमले नियमित रूपमा तिर्न नसकेको कर्मचारीहरू बताउँछन् ।
सम्बन्धित समाचार
आजको विनिमयदर : जापानी येन कमजोर बन्दा अमेरिकी डलर ४ दिनदेखि स्थिर
राष्ट्र बैंक कानुन संशोधनः गभर्नरको कार्यकाल अब तीन वर्ष
घट्यो सहकारीको ऋणको अधिकतम ब्याजदर, अब १३ प्रतिशत भन्दा बढी लिन नपाउने
बढ्यो सुनचाँदीको भाउ, कतिमा भइराखेको छ कारोबार ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएको सम्बन्धमा अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
मानव बेचबिखनको बदलिँदो स्वरूपः परम्परागत बाटो, डिजिटल जालो





