काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।
नेपाली कांग्रेसको संस्थापन पक्षले यही १८ असोजदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकै बेला सो पार्टीको इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो ।
देउवा समूहले पनि १५औँ महाधिवेशन आगामी २१ मंसिरदेखि २३ मंसिर सम्मका लागि तोेकेको छ । सोहीअनुसार नै यस समूहले यही २० असोजमा पालिका, २३ असोजमा प्रदेशसभा निर्वाचन क्षेत्रीय र ४ मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ ।
सो समूहले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकेको जानकारी सो पार्टीका नेता किरणराज पौडेलले दिए ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो तर संस्थापन पक्ष भने यही असोज ३ गतेदेखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो । देउवा पक्षले आजदेखि सुरु गर्न लागेको वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक पनि खटाइएको जनाएको छ ।
देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।
उता, नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले पार्टीको १५औँ महाधिवेशनबाट आन्तरिक मतभेद समाधान हुने बताएका छन् ।
उनले आजबाट सुरु हुन लागेको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशनमा उल्लासपूर्ण ढंगले सहभागी हुन पनि नेता कार्यकर्तालाई अपिल गरेका छन् ।
देउवाले सामाजिक सञ्जाल मेटामा सन्देश लेख्दै आठ दशक लामो इतिहास बोकेको पार्टीको १५औँ महाधिवेशन निकै महत्वपूर्ण रहने भएकाले नेता कार्यकर्तालाई सहभागी हुन अपिल गर्दै भनेका छन्, ‘नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका बलिदान, त्याग र सर्घषलाई थप मजब्ुत बनाउन १५ औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ ।’
उनले भनेका छन्, ‘तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी भएर सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछु ।’
उनले पार्टीभित्रको मतभेद १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टी अरु मजबुत बनाउने प्रण गरेका छन् ।

सम्बन्धित समाचार
ओली हटाउने एजेन्डामा गुन्डुमै बैठक जारी
अध्यक्ष–महासचिव टकराब केन्द्रीय कमिटीमा छताछुल्ल
सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
विपद्को जोखिम अझै टरेको छैन, अत्यावश्यक कामबाहेक यात्रा नगर्नुस्ः प्रधानमन्त्री बालेन
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज
दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने





