इलामको त्यो असोज: एक वर्षपछि पनि उस्तै छन् बाढीपहिरोका घाउ

इलाम । इलाम नगरपालिका–१० टापुकी जानुका परियारका लागि २०८२ सालको असोज १८ गतेको रात केवल एउटा विपद्को मिति होइन, जीवनभर नबिर्सने दिन बन्यो । १३ वर्षदेखि टापुमा बस्दै आएकी उनले घरमा वर्षौं लगाएर जोडेको र साँचेर राखेको केही पनि जोगाउन सकिनन् । एकै रात आएको बाढी–पहिरोले उनको घर, सामान र सुरक्षित जीवनको आधार नै खोसिएको एक वर्ष बितिसक्यो तर पनि त्यो रात अझै उनको आँखामा घुमिरहन्छ ।

सोही ठाउँकी सुकमाया तामाङको दैनिकी पनि उस्तै छ । विपद् आयो, गयो, एक वर्ष भयो तर त्यो पिडा दैनिक जीवनबाट गएको छैन । उनीहरुमात्रै होइन असोजको त्यो दिन इलामका धेरै बस्तीका लागि सामान्य दिन थिएन । लगातार परेको वर्षाले कतै पहाड चिरिएका थिए, कतै सडक भासिएका थिए । जता तत्यै पहिरो खस्यो, खोलाहरू उर्लिए र बस्तीहरू बाढी तथा पहिरोको चपेटामा परे ।

२०८२ साल असोज १८ र १९ गतेको त्यो विपद् अहिले पात्रोको एउटा मितिमा सीमित भएको छ । तर त्यसले छाडेका घाउ अझै पुरिएका छैनन् । एक वर्ष बितिसक्दा पनि कतिपय सडकका घाउ उस्तै छन् । कतिपय पुलका भग्नावशेष उस्तै छन्। कतिपय बस्तीमा विपद्को त्रास बाँकी नै छ । घर गुमाएका परिवारको जीवन सामान्य अवस्थामा फर्किन सकेको छैन ।

त्यो बाढीपहिरोमा इलामले ३९ जनाले गुमाए । २६ जना घाइते भए भने एक जना अझै बेपत्ता छन् । मानवीय क्षतिसँगै सडक, पुल, खानेपानी, विद्युत्, सिँचाइ, कृषि तथा निजी आवासमा ठूलो क्षति भयो । सरकारी तथ्यांकअनुसार इलाममा बाढीपहिरोबाट १२ अर्ब रुपैयाँभन्दा बढीको पूर्वाधार क्षति भएको थियो ।

‘विपद् सङ्कटग्रस्त जिल्ला’, आशा अधुरै
विपद्को केही दिनपछि सरकारले असोज २३ गते इलामलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त जिल्ला’ घोषणा ग¥यो । तीन महिना बित्यो । छ महिना बित्यो । एक वर्ष पुग्यो । तर पुनर्निर्माणको गति भने अपेक्षाअनुसार बढ्न सकेन । कतिपय योजना बजेट अभावका कारण कार्यान्वयनमा जान सकेनन् । कतिपय संरचना अस्थायी मर्मतको भरमा सञ्चालन भइरहेका छन् । कतिपय स्थानमा नागरिक अझै जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।

गत वर्षको क्षति समयमै सम्बोधन हुन नसक्दा यस वर्षको मनसुन पनि इलामवासीले त्रासमै बिताए । जहाँ पहिरो गएको थियो, त्यहाँ फेरि पहिरो जाने डर, जहाँ सडक कमजोर थियो, त्यहाँ बाटो अवरुद्ध हुने चिन्ता, जहाँ पुल जोखिममा थियो, त्यहाँ आवतजावत गर्दा मनमा त्रास यसरीनै बितिरहेको छ । पात्रोमा एक वर्ष बित्या े। तर इलामका केही परिवारको जीवनमा २०८२ सालको त्यो असोज अझै रोकिएको छ ।

२०८२ साल असोज १८ गते परेको अविरल वर्षापछि आएको बाढी–पहिरोले इलाममा ठूलो मानवीय तथा भौतिक क्षति गरेको थियो । दसैंका बेला परिवारका सदस्य तथा आफन्तहरू घरमा भेला भएर सुतिरहेका बेला पहिरो खस्दा धेरै परिवारले आफ्ना सदस्य गुमाएका थिए । जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार बाढी–पहिरोमा परी ३९ जनाको मृत्यु भएको थियो । २६ जना घाइते भएका थिए भने एक जना बेपत्ता भएका थिए ।

सन्दकपुर गाउँपालिकामा मात्रै चारवटा पहिरोमा परी छ जनाको मृत्यु भएको थियो भने एक जनालाई बाढीले बगाएको थियो । इलाम नगरपालिका–५ मा बाँसको झ्याङसहितको पहिरो खस्दा एउटै परिवारका छ जनाले ज्यान गुमाएका थिए । माङसेबुङलगायतका क्षेत्रमा पनि पहिरोका कारण मानवीय क्षति भएको थियो ।

पाँच मोटरेबल र एक झोलुंगे पुलमा क्षति
बाढीले इलामका दुईवटा पक्की पुलसहित पाँचवटा मोटरेबल र एक झोलुंगे पुलमा क्षति पु¥याएको थियो । मेची करिडोरअन्तर्गत इलाम नगरपालिका–११ सोयाक र माई नगरपालिका–९ चिसोपानी जोड्ने माईखोलाको पक्की पुलमा क्षति पुगेको थियो । सोही सडकअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलाको बेलिब्रिजसमेत बाढीले बगाएको थियो । यी दुई वटै खोलामा अहिले बेलीबृज जोडीएको छ ।

मंगल’bout–गजुरमुखी–इभाङ–चतुरे सडकअन्तर्गत गजुरमुखीधाममा देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिका जोड्ने देउमाई खोलाको पुलमा क्षति पुगेको थियो । सिमलगोलाइ–जोगमाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलाको बेलिब्रिजसमेत बाढीले बगाएको थियो । यो ठाउँमा बेलीबृजको बेस निर्माण भएको छ तर बेलीबृज जडान हुन सकेको छैन । मेची राजमार्गअन्तर्गत राजदुवालीमा इलाम नगरपालिका–९ र १० जोड्ने माईखोलाको पक्की पुलमा पनि बाढीले क्षति पु¥याएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १८ र १९ गते २४ घण्टामा तीनसय ३२ दशमलव ६ मिलिमिटर, र तीनसय १४ दशमलव २ मिलिमिटर साथै २ सय ८० दशमलव २ मिलिमिटर वर्षा भएको थियो । एक वर्ष बित्दा पनि मेची राजमार्ग मर्मत र पुननिर्माण बाहेक अन्य काम हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

८ वर्षदेखि अलपत्र शिवगंगा पुल, उपमहानगरलाई बर्सेनि अस्थायी संरचना बनाउनुपर्ने बाध्यता