किसान र घर गुमाएकाहरु राहत र पुनःस्थापनाको प्रतीक्षामा, कृषिमा राहत भने शुन्य

इलाम । २०८२ असोज १८ र १९ गतेको रात आएको बाढीपहिरोमा परी इलाममा ३९ जनाले ज्यान गुमाए । २६ जना घाइते भए भने एक जना अझै बेपत्ता छन् । विपद्ले मानवीय क्षतिसँगै सडक, पुल, खानेपानी, विद्युत्, सिँचाइ, कृषि तथा निजी आवासमा ठूलो क्षति पु¥यायो । सरकारी तथ्यांकअनुसार जिल्लामा १२ अर्ब रुपैयाँभन्दा बढीको पूर्वाधार क्षति भएको थियो ।

बाढीपहिरोले सिंगो जिल्ला प्रभावित बनाएको लामो प्रतीक्षापछि इलाममा पुनर्निर्माणका लागि स्वीकृत ७ अर्ब ८६ करोड रुपैयाँको बजेट सडक तथा पुल निर्माणमा केन्द्रित देखिएको छ । विपद्मा घर गुमाएका परिवार, खेतीयोग्य जमिन बगेका किसान र जीविकोपार्जनको आधार गुमाएका नागरिकको पुनःस्थापना’bout भने बजेट विवरणमा स्पष्ट कार्यक्रम देखिएको छैन ।

स्वीकृत बजेटमध्ये राजदुवाली पुल तथा वैकल्पिक सडकका लागि एक अर्ब १० करोड रुपैयाँ, बिब्ल्याँटे–माइपोखरी–सन्दकपुर सडक, पुल तथा पहिरो नियन्त्रणका लागि ८९ करोड र सिमलगोलाई–तिल्केनी सडकका लागि ८५ करोड रुपैयाँ छुट्याइएको छ । त्यस्तै, फिक्कल–श्रीअन्तु खण्ड (छिरुवा–छब्बीसे सडक) का लागि ४५ करोड, जोगमाई र पुवा खोला पुल निर्माणका लागि ४०÷४० करोड, मेची राजमार्गको पहिरो नियन्त्रणका लागि २० करोड र ठाडे खोला पुलका लागि १५ करोड रुपैयाँ स्वीकृत भएको छ ।

सडक तथा पुल पुनर्निर्माणका लागि बजेट विनियोजन हुनु सकारात्मक भए पनि विपद्पछिको पुनःस्थापनालाई सडक पूर्वाधारमा मात्रै सीमित गर्न नहुने भन्दै कृषिको क्षतिमा राज्यको ध्यान नपुगेको स्थानीयको गुनासो छ । बाढीपहिरोले राजमार्ग मात्रै भत्काएको थिएन, नागरिकका घर पनी बगाएको थियो । किसानका खेतबारी बगाएको थियो । कतिपय परिवारको वर्षौंको मेहनत र आम्दानीको आधार एकै रातमा समाप्त भएको थियो ।

अहिले पनि घरबारविहीन भएका परिवारको सुरक्षित आवास समाधान भएको छैन । खेतीयोग्य जमिन गुमाएका किसानको जीविकोपार्जनको आधार छैन । खेतबारी बगेपछि उत्पादन गर्ने जमिनसमेत नरहेका किसान समस्यामा छन । अहिले सार्वजनिक भएको बजेटमा आवास पुनर्निर्माण, कृषि पुनःस्थापना र प्रभावित परिवारको जीविकोपार्जनसँग सम्बन्धित योजना भने देखिँदैन । माईजोगमाई गाउँपालिकाका महेश सापकोटाले ग्रामीण क्षेत्रको पुनर्निर्माणका लागि बजेट विनियोजन नभएको भन्दै दुख व्यक्त गरेका छन् । उनले बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको माइजोगमाई गाउँपालिकाका नागरिकले अझै पनि यातायातको समस्यासँग जुध्नुपरेको भन्दै राजमार्ग बाहेक कुनै पनि क्षेत्रमा बजेट नदेखिएको बताए । बजेटमा ग्रामीण क्षेत्रका सडक पुल, कृषि क्षेत्र छुट्नु दुखद रहेको उनको भनाई छ ।

सडक सम्पर्क अवरुद्ध हुँदा नागरिकले भोगेको सास्ती र जिल्लाको आर्थिक गतिविधिमा परेको असर कम गर्न सडक तथा पुल निर्माण प्राथमिकतामा पर्नु स्वभाविक हो तर पुनर्निर्माणको अर्थ सडक खुलाउनु मात्रै होइन । विपद्ले विस्थापित बनाएका नागरिकलाई पुनःस्थापित गर्नु र गुमेको जीविकोपार्जनको आधार फर्काउनु राज्यको दायित्व रहेको स्थानीयको भनाई छ ।

ग्रामीण क्षेत्र ओझेलमा
२०८२ असोज १८ र १९ गते आएको भीषण वर्षासँगैको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठूलो बजेट विनियोजन हुनु सकारात्मक भए पनि ग्रामीण सडक र पुलपुलेसाको पुनर्निर्माणमा ध्यान नपुगेको गुनासो स्थानीयको छ । इलामका हुकुमलाल थेवेले राष्ट्रिय राजमार्ग तथा वैकल्पिक सडक सिमलगोला–तिल्केनी सडक पुनर्निर्माणका लागि बजेट आउनु स्वागतयोग्य भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रका सडक र पुलको अवस्था पनि गम्भीर रहेको बताए ।

थेवेले पुनर्निर्माणका काममा राजनीतिक जस–अपजसको प्रतिस्पर्धाभन्दा पनि पारदर्शिता, दीर्घकालीन योजना र भौगोलिक अवस्थाअनुसारका संरचना निर्माणमा जोड दिनुपर्ने बताएका छन् । पहाडी भूगोलमा निर्माण गरिएका कतिपय साँघुरा र होचा पुल बाढीले बगाएको उल्लेख गर्दै उनले अनुभवी तथा योग्य प्राविधिक र परामर्शदातामार्फत नयाँ डिजाइन तयार गरी संरचना निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै बासुदेव गौतमले पनि पुनर्निर्माणका लागि विनियोजित बजेटमा ‘इलाम भनेको पुवाखोला पारि मात्रै हो ?’ भन्दै पश्चिम इलामका क्षेत्रमा बजेट नदेखिएको उनको भनाई छ । राष्ट्रिय राजमार्ग र ठूला संरचनाको पुनर्निर्माणसँगै ग्रामीण सडक, पुलपुलेसा र पालिका केन्द्र जोड्ने सडक र कृषिलाई पनि प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ ।

तीन हजार २५१ किसानको २७ करोडभन्दा बढीको कृषि क्षति
२०८२ असोज १८ र १९ गते परेको अविरल वर्षापछिको बाढीपहिरोले ३ हजार २५१ जना कृषक प्रभावित भएका थिए । ८८४.०५ हेक्टर क्षेत्रफलमा लगाइएको कृषि बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र, इलामले सार्वजनिक गरेको क्षति मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जिल्लामा करिब २ हजार ९८८.७९ मेट्रिक टन कृषि उत्पादन नष्ट भएको छ । जसको अनुमानित मूल्य २७ करोड ३५ लाख ७८ हजार ८८९ रुपैयाँ रहेको थियो ।

प्रतिवेदनअनुसार कृषि बालीबाहेक कृषि पूर्वाधारतर्फ समेत करिब ३८ लाख ९२ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । बाढीपहिरो गएको एक वर्ष बितिसक्दा पनि इलामको कृषि क्षेत्रमा भने राहत पुग्न सकेको छैन । कृषि ज्ञान केन्द्र इलामका प्रमुख रविकिरण अधिकारीका अनुसार केन्द्रले बाढीपहिरोबाट भएको कृषि क्षेत्रको क्षतिको विवरण संकलन गरी सम्बन्धित निकायमा पठाइसकेको भए पनि हालसम्म राहतका नाममा एक रुपैयाँसमेत बजेट प्राप्त भएको छैन । क्षतिको विवरण संकलन र सिफारिस प्रक्रिया पूरा भए पनि बजेट नआउँदा प्रभावित किसानहरू अझै राहतको पर्खाइमा रहेका छन् ।

धान र अलैँचीमा सबैभन्दा ठूलो क्षति
इलामको कृषि क्षेत्रमा भएको क्षतिको विवरण हेर्दा सबैभन्दा ठूलो आर्थिक क्षति अलैँची र धानबालीमा भएको देखिन्छ । धानबालीमा सबैभन्दा ठूलो क्षेत्रफल र उत्पादनको क्षति भएको छ । जिल्लामा १ हजार ५७४ जना कृषकले लगाएको ६७५.३० हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ । यसबाट २ हजार २८९.२८ मेट्रिक टन धान उत्पादन नष्ट भएको अनुमान गरिएको छ । धानबालीमा मात्रै ८ करोड ३१ लाख ८ हजार रुपैयाँभन्दा बढीको क्षति भएको कृषि ज्ञान केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, अलैँची खेतीमा ९५५ जना कृषक प्रभावित भएका छन् । १५३.७७ हेक्टर क्षेत्रफलमा लगाइएको अलैँचीमा क्षति पुग्दा ५३.१६ मेट्रिक टन उत्पादन नष्ट भएको छ । यसको अनुमानित आर्थिक मूल्य ११ करोड ५२ लाख १५ हजार रुपैयाँ रहेको छ । चिया खेतीमा ६१५ जना कृषक प्रभावित भएका छन् । ५६.२५ हेक्टर क्षेत्रफलको चियामा क्षति पुग्दा ५०.१६ मेट्रिक टन उत्पादन नष्ट भएको छ । चियामा २ करोड ५१ लाख ९८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, अदुवामा १ करोड ५७६ लाख रुपैयाँ होइन, प्रतिवेदनमा उल्लेख भएअनुसार ५७ लाख ६२ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ । अदुवा खेतीमा १०८ जना कृषक प्रभावित भएका छन् । १२.११ हेक्टर क्षेत्रफलमा क्षति पुग्दा १४३.८८ मेट्रिक टन उत्पादन नष्ट भएको छ । तरकारी खेतीमा १५२ जना कृषक प्रभावित भएका छन् । १६.०५ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीमा क्षति पुग्दा २१६.७२ मेट्रिक टन उत्पादन नष्ट भएको छ । तरकारीमा ७४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

माई नगरपालिकामा सबैभन्दा बढी क्षति
स्थानीय तहअनुसार गरिएको क्षति मूल्याङ्कनमा माई नगरपालिका सबैभन्दा बढी प्रभावित देखिएको छ । माई नगरपालिकामा ९५२ जना कृषक प्रभावित भएका छन् । त्यहाँ ४८२.७४ हेक्टर कृषि क्षेत्रमा क्षति पुगेको छ भने करिब ६ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको कृषि उत्पादन नोक्सान भएको छ । इलाम नगरपालिकामा ८१९ जना कृषक प्रभावित भएका छन् । १३६.१९ हेक्टर क्षेत्रफलमा क्षति पुग्दा ५ करोड ४३ लाख ४९ हजार रुपैयाँभन्दा बढीको उत्पादन नोक्सान भएको छ । देउमाई नगरपालिकामा ३४९ जना कृषक प्रभावित भएका छन् । त्यहाँ १३०.२९ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ भने २ करोड ३५ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । माईजोगमाई गाउँपालिकामा २५२ जना कृषक प्रभावित भएका छन् । ५२.२८ हेक्टर क्षेत्रफलमा क्षति पुग्दा ३ करोड १६ लाख ८५ हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ ।

सूर्योदय नगरपालिकामा ५६९ जना कृषक प्रभावित भएका छन् भने ४४.०६ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । त्यहाँ २ करोड १९ लाख १८ हजार रुपैयाँभन्दा बढीको क्षति भएको विवरण छ । सन्दकपुर गाउँपालिकामा १४५ जना कृषक प्रभावित भएका छन् । १७.४१ हेक्टर क्षेत्रमा क्षति पुग्दा १ करोड २० लाख रुपैयाँभन्दा बढीको उत्पादन नोक्सान भएको छ । फाकफोकथुम गाउँपालिकामा ९६ जना कृषक प्रभावित भएका छन् भने १०.५२ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । माङसेबुङ गाउँपालिकामा ४९ जना, रोङ गाउँपालिकामा २० जना कृषक प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

किसान र घर गुमाएकाहरु राहत र पुनःस्थापनाको प्रतीक्षामा, कृषिमा राहत भने शुन्य