मृत्युपछि सबैले आँखा दान गरौँ : मुख्यमन्त्री कार्की

उदयपुर । मृत्युपछि काम नलाग्ने आँखाको नानी दान गर्दा दृष्टिविहीन व्यक्तिले पुनः संसार देख्न सक्ने भएकाले सबैले मृत्युपछि आँखा दान गर्ने अभियानमा सहभागी हुनु पर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

मुख्यमन्त्री कार्कीले आँखा दानलाई ठूलो पुण्यको कामका रूपमा लिन आग्रह गर्दै मृत्यु भएपछि संकलन गरिएको आँखाको नानी सुरक्षित भण्डारण गरी आवश्यकता अनुसार दृष्टिविहीन व्यक्तिमा प्रत्यारोपण गर्न सकिने बताए । उनले कोशी प्रदेशमा आँखा दान, संकलन, संरक्षण र प्रत्यारोपणको व्यवस्था थप प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मदन भण्डारी आँखा अस्पताल (दृष्टिकुञ्ज), गाईघाटमा आइतबार आयोजित ‘स्मृति वृक्षारोपणको सातौँ वार्षिक उत्सव कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छ । हामीलाई नचाहिने बेलाको आँखाले अर्को व्यक्तिले संसार देख्न सक्छ ।

उनका अनुसार कोशी प्रदेशमा हाल उपलब्ध क्षमता र पूर्वाधारबाट करिब ३०० जनासम्मको आँखा प्रत्यारोपण गर्न सकिने सम्भावना विशेषज्ञहरूले औँल्याएका छन् । विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमा यस अघि नै आँखा प्रत्यारोपण सेवा सञ्चालनमा रहेको जानकारी दिँदै उनले प्रदेशका अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्न सरकार सकारात्मक रहेको बताए ।

मुख्यमन्त्री कार्कीका अनुसार एक साता अघि विराटनगरमा स्वास्थ्य मन्त्रालयका सचिव तथा आँखा उपचारसँग सम्बन्धित विशेषज्ञहरूसँग बैठक गरी मृत्युपछि आँखा संकलन, संरक्षण तथा प्रत्यारोपण सेवालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । प्रदेश सरकारले आवश्यक बजेट र प्राविधिक सहयोग उपलब्ध गराउने गरी अस्पतालहरूलाई काम अघि बढाउन निर्देशन दिइ सकेको उनले बताए । आँखा दानबाट दृष्टिविहीन व्यक्तिलाई नयाँ जीवन सरह उज्यालो दिन सकिने भएकाले यसलाई सामाजिक सेवाको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउनु पर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री कार्कीले उदयपुरमा रहेको मदन भण्डारी आँखा अस्पतालको सेवा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने पनि बताए । अस्पतालमा नियमित रूपमा आँखा शल्यक्रिया भइ रहेको उल्लेख गर्दै उनले आवश्यक उपकरण तथा पूर्वाधारका लागि स्वास्थ्य मन्त्रालय मार्फत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री कार्कीले उदयपुरलाई वन क्षेत्रका हिसाबले महत्वपूर्ण जिल्ला भन्दै वन नभएका तथा खाली क्षेत्रमा बहुउद्देश्यीय र आम्दानी दिने प्रजातिका बिरुवा रोप्न स्थानीय तह र वन कार्यालयलाई आग्रह गरे । उनले वातावरणीय सन्तुलन कायम गर्न मात्र नभई आर्थिक समृद्धिमा समेत योगदान पु¥याउने गरी फलफूल तथा काठजन्य प्रजातिका रूख रोप्नु पर्ने धारण राखे । रूखले वातावरणीय सन्तुलन कायम गर्छ । त्यसबाट प्राप्त हुने फलफूल तथा अन्य उत्पादनले आर्थिक लाभ समेत दिन्छ,’ उनले भने, ‘त्यसैले वातावरण संरक्षणसँगै आम्दानी बढाउने गरी बहुउद्देश्यीय बिरुवा रोप्ने अभियान अघि बढाउनु पर्छ । उनले स्थानीय तह, वन कार्यालय तथा समुदायको सहकार्यमा खाली र वन क्षेत्र नभएका स्थानमा उत्पादनमुखी वृक्षरोपण गर्नु पर्ने बताए । यसबाट वातावरण संरक्षणसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

त्यसैगरी मुख्यमन्त्री कार्र्कीले मदन भण्डारी आँखा अस्पताल परिसरमा आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा वृक्षारोपण समेत गरेका थिए । नेपाल नेत्र ज्योति संघ उदयपुर तथा मदन भण्डारी आँखा अस्पतालका सभापति भागवत राउतका अनुसार अस्पताल परिसरमा ‘स्मृति वृक्षारोपण अभियान’ सात वर्ष अघि सुरु गरिएको हो । पितृहरूको सम्झनामा गरिँदै आएको वृक्षारोपणका कारण अस्पताल परिसर हराभरा बन्दै गएको राउतले बताए ।

उनका अनुसार यो अभियान वृक्षारोपणमा सीमित नभई मानव सेवा, वातावरण संरक्षण, संस्थागत इतिहास र नागरिक सहभागितालाई जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाइएको हो । अस्पतालसँग जोडिएका दाता, सहयोगी, चिकित्सक, कर्मचारी, सामाजिक अभियन्ता, विभिन्न संस्था तथा शुभेच्छुकहरूको योगदानलाई जीवित स्मृतिका रूपमा संरक्षण गर्दै अस्पताल परिसरमा ‘स्मृति वाटिका’ विकास गर्ने अभियानको मुख्य उद्देश्य रहेको राउतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

८ वर्षदेखि अलपत्र शिवगंगा पुल, उपमहानगरलाई बर्सेनि अस्थायी संरचना बनाउनुपर्ने बाध्यता