८ वर्षदेखि अलपत्र शिवगंगा पुल, उपमहानगरलाई बर्सेनि अस्थायी संरचना बनाउनुपर्ने बाध्यता

धनगढी । कैलालीको शिवगंगा नदीमा निर्माणाधीन पुल आठ वर्ष बितिसक्दा पनि अधुरै छ । धनगढी उपमहानगरपालिका–१६ र १७ जोड्ने पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले वर्षौँदेखि आवागमनमा सास्ती खेप्दै आएका छन् ।

निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको ढिलासुस्तीका कारण पुल निर्माण अलपत्र परेको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगर र निर्माण कम्पनीबीच २०७४ असारमा १४ करोड २६ लाख रुपैयाँ लागतमा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार २०७७ असारसम्म पुल निर्माण सकिनुपर्ने थियो ।

तर, निर्धारित समय सकिएको वर्षौँ बितिसक्दा पनि पुल निर्माणले गति लिन सकेको छैन । सडक डिभिजन कार्यालयका अनुसार निर्माण कम्पनीले ३० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै कुल ठेक्का रकमको २२ प्रतिशत अर्थात् तीन करोड १३ लाख ७२ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ ।

स्थायी पुल निर्माणमा ढिलाइ हुँदा धनगढी उपमहानगरपालिकाले भने हरेक वर्ष ह्युमपाइप राखेर अस्थायी सडक तथा पुल निर्माण गर्नुपर्ने बाध्यता छ । यस वर्ष पनि उपमहानगरपालिकाले शिवगंगा नदीमा ह्युमपाइप राखेर अस्थायी पुल तथा सडक निर्माणको काम अघि बढाएको छ ।

शिवगंगा नदीमा स्थायी पुल नहुँदा स्थानीयवासीसँगै धनगढीको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल बेहडाबाबा मन्दिर जाने श्रद्धालु र पर्यटकसमेत प्रभावित हुँदै आएका छन् । विशेषगरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा आवागमनमा थप कठिनाइ हुने गरेको छ ।

पुल निर्माणमा भइरहेको ढिलाइप्रति उपमहानगरपालिकाले पटक–पटक सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ । निर्माण कम्पनीले काम अघि बढाउन नसक्ने अवस्था भए ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाउनसमेत आग्रह गरिएको छ । तर, सम्बन्धित निकायबाट ठोस पहल नहुँदा पुल निर्माण अझै अन्योलमा छ ।

स्थायी पुल निर्माण हुन नसक्दा उपमहानगरपालिकाले बर्सेनि अस्थायी संरचना बनाउन बजेट र समय खर्चिनुपरेको छ । वर्षौँदेखि दोहोरिँदै आएको यो समस्याले स्थानीयवासीलाई सास्ती दिनुका साथै सरकारी स्रोतको समेत दोहोरो खर्च हुने अवस्था सिर्जना गरेको छ ।

स्थानीयवासीले लामो समयदेखि अलपत्र पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् । स्थायी पुल बने धनगढीका विभिन्न वडाका बासिन्दासँगै बेहडाबाबा मन्दिर पुग्ने श्रद्धालु तथा पर्यटकलाई वर्षभरि सहज आवागमन हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ