१०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

धनगढी । धनगढीको शिवपुरीधाममा १०८ फिट अग्लो शिवलिंगमुनि हुर्कँदै गरेको कल्पवृक्ष भक्तजनको नयाँ आकर्षण बनेको छ ।

धार्मिक आस्था, विशाल संरचना र प्राकृतिक वातावरणका कारण धनगढी उपमहानगरपालिका-४, उत्तरबेहडीस्थित धाममा पछिल्लो समय दर्शनार्थीको चहलपहल बढ्दै गएको छ ।

मनोकामना पूरा हुने विश्वास

करिब आठ बिघा क्षेत्रमा फैलिएको धाममा १०८ फिट अग्लो शिवलिंगसहित १०८ तुलसीका मठ, द्वादश ज्योतिर्लिंग, १०८ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायण, गणेश, मुक्तिनाथ, दुर्गा र उग्रतारा मन्दिर छन् । साधुसन्तका लागि आवास भवनसमेत निर्माण गरिएको छ ।

धाम परिसरमा पत्रकार पुष्पराज जोशीले २२ जेठ २०७८ मा रोपेको कल्पवृक्ष चार वर्षमा हुर्कँदै गएको हो । हिन्दू धार्मिक मान्यताअनुसार कल्पवृक्ष समुद्र मन्थनबाट उत्पन्न १४ रत्नमध्ये एक हो। यसको मुनि बसेर मनोकामना गरे पूरा हुने विश्वास रहँदै आएको छ ।

शिवपुरीधामका पुरोहित हरिनारायण भट्टका अनुसार यही विश्वासका कारण कल्पवृक्ष हेर्न र पूजाआजा गर्न आउनेको संख्या बढेको छ ।

धाम व्यवस्थापन समितिका अध्यक्ष मदन कुँवरका अनुसार कैलालीका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्ला र भारतबाट समेत दर्शनार्थी आउन थालेका छन् । शनिबार, सार्वजनिक बिदा र धार्मिक पर्वमा धाममा बढी भीड लाग्ने गरेको उनले बताए ।

धाम बिहान ५ बजेदेखि बेलुका ७:३० बजेसम्म खुला रहन्छ । यहाँ महाशिवरात्रिसहित विभिन्न धार्मिक अनुष्ठान, विवाह, व्रतबन्धलगायत मांगलिक कार्य हुँदै आएका छन् ।

यता, स्थानीयले धामको थप विकाससँगै संरक्षणमा सरकारी निकायको ध्यान जानुपर्ने बताएका छन् । धाम आसपासको धार्मिक वनमा तारबार नहुँदा छाडा चौपायाले समस्या पार्ने गरेको उनीहरूको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

१०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष