काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गर्दै सत्यको मार्गमा हिँड्न, सुशासन कायम गर्न र सामाजिक विकृतिमाथि विजय प्राप्त गर्न आह्वान गरेका छन्।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बडादसैँको शुभकामना दिँदै विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै हरेक घरमा उत्सव, उमङ्ग र आत्मीयता ल्याउने विश्वास व्यक्त गरेका छन्। उनले दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको एकता, सद्भाव र पारिवारिक मिलनको पर्वका रूपमा व्याख्या गरेका छन्।
उनले भूकम्प, कोभिड महामारी, जेनजी आन्दोलनपछिको तनावपूर्ण परिस्थिति तथा विभिन्न प्राकृतिक विपत्तिका बीच पनि नेपालीहरूले आफ्नो मौलिक परम्परा र सांस्कृतिक मूल्यमान्यतालाई निरन्तरता दिँदै आएको स्मरण गरेका छन्।
रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री शाहले मृतकका आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, विस्थापित नागरिकको पुन:स्थापनाका लागि सरकारले काम गरिरहेको बताएका छन्।
दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै उनले प्रत्येक व्यक्तिले आफूभित्र रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले रोजगारी र जीविकोपार्जनका लागि विदेशिन बाध्य नेपालीहरूको पीडा तथा चाडपर्वमा समेत परिवारसँग भेटघाट गर्न नपाउने अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। देशको समृद्धि र नागरिकको सुखद जीविकोपार्जनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक अभावका कारण कसैका लागि पनि दसैँ बोझ बन्न नहुने बताएका छन्।
उनले देशलाई सुशासनको मार्गमा अघि बढाउँदै आर्थिक समृद्धि हासिल गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहले माता दुर्गा भवानीको कृपा सबैमा रहिरहोस् भन्ने कामना गर्दै सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन्।
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया पार्टी कार्यालयमा शुरू
संसद् सत्ताको छायाँमा परेको एमाले निष्कर्ष
कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति तय भएको छैनः परराष्ट्र मन्त्रालय
गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान
राष्ट्रपति पौडेलले जारी गरे २ वटा अध्यादेश
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने






