सर्बियामा विद्यार्थी आन्दोलनको विजय, भुसिकको १४ वर्षे शासन अन्त्य

बेलग्रेड । सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको छ । यससँगै राष्ट्रपति अलेक्जान्डर भुसिकको दलको १४ वर्ष लामो शासन अन्त्य हुने भएको छ ।

सन् २०२४ मा नोभी साद रेलवे स्टेसनको छत भत्किँदा १६ जनाको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले देशव्यापी रूप लिएको थियो । विद्यार्थीहरूले दुर्घटनाको पारदर्शी अनुसन्धान र भ्रष्टाचार नियन्त्रणको माग गर्दै करिब दुई वर्षदेखि अभियान चलाउँदै आएका थिए ।

विद्यार्थी सूचीका उम्मेदवार राडोमिर साइसिकले प्रारम्भिक नतिजाले अधिकांश मतदान केन्द्रमा आफूहरू अगाडि रहेको देखाएको बताएका छन् । उनले निर्वाचनको परिणामलाई न्याय, स्वतन्त्रता र मर्यादित सर्बियाको आशासँग जोडेका छन् ।

निर्वाचनमा करिब ६५ प्रतिशत मतदाताले मतदान गरेका थिए । यो सन् १९९३ यताकै उच्च मतदान सहभागिता भएको जनाइएको छ । मतदान सकिएको दुई घण्टाभन्दा कम समयमै भुसिकले पराजय स्वीकार गरेका थिए । राजधानी बेलग्रेडमा हजारौँ समर्थक सडकमा भेला भएर विद्यार्थी आन्दोलनको विजय उत्सव मनाएका थिए ।

प्रारम्भिक तथ्याङ्कअनुसार विद्यार्थी आन्दोलनले २५० सदस्यीय संसद्मा १३५ देखि १४० सिट जित्न सक्ने भुसिकले बताएका थिए । उनले निर्वाचनको परिणाममा विभिन्न युरोपेली देश र अमेरिकाको ‘डिप स्टेट’ को समर्थन रहेको आरोपसमेत लगाएका छन् ।

विद्यार्थीहरूले देशभर र्‍याली तथा पदयात्रा गर्दै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाएका थिए । बिहीबार बेलग्रेडमा आयोजित अन्तिम चुनावी र्‍यालीमा करिब एक लाख ५० हजार मानिस सहभागी भएको स्वतन्त्र अनुगमनकर्ताले जनाएका थिए ।

निर्वाचनमा विद्यार्थी आन्दोलनबाट उम्मेदवार बनेकाहरूलाई युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयन र हङ्गेरीका प्रधानमन्त्री पिटर मग्यारले बधाई दिएका छन् । भोन डेर लेयनले सर्बियामा कानुनी शासन, सञ्चारमाध्यमको स्वतन्त्रता र भ्रष्टाचार नियन्त्रणका लागि सहयोग गर्ने बताएकी छन् ।

विद्यार्थी सूचीमा रहेका अधिकांश उम्मेदवार शिक्षाविद्, कलाकार र विभिन्न क्षेत्रका विशेषज्ञ छन् । तीमध्ये धेरैसँग राजनीतिक अनुभव कम छ । नोभी साद दुर्घटनाको पारदर्शी अनुसन्धानको मागबाट सुरु भएको आन्दोलन पछि भ्रष्टाचार नियन्त्रण र निर्वाचनको मागमा केन्द्रित भएको थियो ।

आन्दोलनको दबाब बढेपछि भुसिकले गत महिना आकस्मिक निर्वाचन घोषणा गरेका थिए । उनले प्रधानमन्त्री बन्न राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । निर्वाचनको अनुगमन स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकले गरेका थिए भने विद्यार्थीहरूले पनि मतदान प्रक्रियाको निगरानी गर्न ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो