जाग्यो कांग्रेस, पछ्याउँदै देउवा पक्ष

काठमाडौं । चारतारे झण्डा र रुख चुनाव चिह्नसहित नेपाली कांग्रेसको नाममा दुईवटा अलग–अलग अभ्यास भइरहेका बेला गगन थापा नेतृत्वको पार्टीले औपचारिक रूपमा काम सुरु गरेको छ ।

१५औं महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको कार्यसमितिले बिहीबार शपथ ग्रहण समारोह सम्पन्न गरेसँगै पार्टीको नेतृत्व सम्हालेको हो । उता, पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर महाधिवेशनको तयारी जारी राखेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित समारोहमा सभापति थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए । थापा नेतृत्वको कांग्रेसले औपचारिक रूपमा काम सुरु गर्दा देउवा पक्षले भने चुनदेवीस्थित केन्द्रीय संयोजन कार्यालयबाट छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ ।

– थापा नेतृत्वको कार्यसमितिले शपथ लिएर काम थाल्यो

– देउवा पक्षधरको समानान्तर महाधिवेशन तयारी जारी

थापा नेतृत्वमा महाधिवेशन सम्पन्न भएर कार्यसमितिले काम सुरु गरिसक्दा पनि देउवा पक्षले कांग्रेसकै नाममा अर्को महाधिवेशन गर्ने तयारी नछाडेको एक पुराना कांग्रेस नेताले बताए । उनका अनुसार थापा नेतृत्वको कांग्रेसले गति लिइसकेको भए पनि देउवा समूहको गतिविधि सुस्त देखिएको छ ।

थापा नेतृत्वको महाधिवेशनले थापालाई पुनः सभापतिमा निर्वाचित गरेको थियो । गत १८ देखि २३ असोजसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टीको नेतृत्व सम्हालेको छ ।

थापा नेतृत्वको कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य, पुष्पा भुसाल र विनोद चौधरी निर्वाचित भएका छन् । त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला निर्वाचित भएका छन् । बिहीबारको शपथ ग्रहणमा चार केन्द्रीय सदस्यको भने शपथ रोकिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले शपथ रोकिएको कांग्रेसले जनाएको छ ।

देउवा पक्षले छुट्टै १५औं महाधिवेशन गर्ने भन्दै २१ देखि २३ मंसिरसम्मको मिति तय गरी कार्यतालिका सार्वजनिक गरेको थियो । प

देउवा पक्षले १५ असोजमा वडा, २० असोजमा पालिका, २३ असोजमा क्षेत्रीय, ३० कात्तिकसम्म जिल्ला र ४ मंसिरमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । पालिका र जिल्ला अधिवेशन निर्धारित समयभन्दा केही अघि वा पछि भए पनि केन्द्रीय महाधिवेशनको मिति नसर्ने देउवा पक्षले जनाएको छ ।

समानान्तर महाधिवेशनको तयारीअन्तर्गत देउवा पक्षले ४८० पालिकामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । देशभरका ६ हजार १०७ वडामा पनि अधिवेशन सकिएको केन्द्रीय संयोजन कार्यालय चुनदेवीले जनाएको छ ।

देउवा पक्षको केन्द्रीय संयोजन कार्यालयका अनुसार ११ कात्तिकसम्म संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी र रोल्पामा जिल्ला नेतृत्व चयन भएको छ । ती जिल्लामा क्रमशः रामकुमार जिमी, देउप्रसाद बुढा, सूर्यबहादुर शाही, नेत्रकला शाही, तिलक मल्ल, नन्दबहादुर विष्ट, नगेन्द्र विष्ट, बाजीसिंह खड्का, वीरबहादुर विष्ट र मानबहादुर खत्री जिल्ला सभापति चुनिएका छन् ।

पालिका अधिवेशनतर्फ कोशीमा ८९, मधेशमा ५४, बागमतीमा ७०, गण्डकीमा ५०, लुम्बिनीमा ८६, कर्णालीमा ५५ र सुदूरपश्चिममा ७६ पालिकामा अधिवेशन सम्पन्न भएको छ । त्यस्तै, १७० प्रदेशसभा निर्वाचन क्षेत्र र ८५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि अधिवेशन भएको देउवा पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल