मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन् ।

जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ ।

यद्यपि, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने ठोस सहमति भइनसकेको उनले बताएका छन् । एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जसपा र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनका विषयमा संवाद भइरहेको र चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्‍याइने जानकारी दिएका छन् । नयाँ राजनीतिक समीकरणसँगै नयाँ सरकारको नेतृत्वमा भने तीनवटै दलबाट दाबी हुँदै आएको छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । उक्त पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले तीनवटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको बताएका छन् ।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ । अहिले यहाँ नेपाली कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा प्रहरीको गोली चल्यो, २ लागूऔषध कारोबारी घाइते