डडेल्धुरा । गन्यापधुरा गाउपालिकामा हिजो विहीबारमात्रै ५८ जनामा कोरोना संक्रमण भएको पुष्टि भए असार १२ गतेसम्मका लागि गाउँपालिका पुरै सिल गरिएको छ । एकैदिन गाउपालिकाका ५८ जनामा कोरोना संक्रमण देखिएकाले र कोराना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न नदिनका लागि गन्यापधुरा गाउँपालिकाले असार १२ गतेसम्म पुरै सिल गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाभित्रका स्वास्थ्य सेवाका कार्यालयबाहेक अन्य सवै कार्यालय तथा गाउपालिकाभित्र चल्ने सवै सवारी साधनसमेत असार १२ गतेसम्मका लागि संचालन गर्न नपाउने गरी सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले बताए । उनले भने संक्रमण थप फैलिन नदिनका लागि गाउपालिका भित्रका होटेल, पसल बन्द गर्ने र एक गाउँबाट अर्को गाउँमा मानिसहरु पनि जान नपाउने गरि सिल गरेका छौं ।
आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरुको पिसिआर रिर्पोट नआउदै क्वारेन्टाइनबाट घर पठाउने कार्य गाउपालिकाको गलत भएको भन्दै स्थानीय व्यक्तिहरुले आक्रोश व्यक्त गरेका छन् । सिमाबाट उद्दार गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न सक्ने तर आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरुको पिसिआर रिपोट आउन नपाउँदै घर पठाउन हतार गर्नु गाउँपालिकाको गैरजिम्मेवारिपन रहेको एक जना स्थानीयले बताए ।
यता गाउँपालिकाले भने स्वाव संकलन गरि पठाएको धेरै दिनसम्म पनि पीसिआर रिर्पोट नआएको र क्वारेन्टाईनमा १४ दिन पुरा गरेका व्यक्तिहरुमा कुनै लक्षण नदेखिएकोले घर पठाएको बताएको छ ।
आरडीटी पोजेटिभ भएका व्यक्तिहरुघर पठाएको भएको र उनीहरु घरमा पनि सुरक्षित रुपमा होम क्वारेन्टाईनमा रहेको गन्यापधुरा गाउपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव नौन्यालले बताए ।






