काठमाडौं । विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि देशभित्र र बाहिरबाट संकलन गरिएको अर्बौं रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थन्किएका बेला बागमती प्रदेश सरकारले भने आफ्नै विकास बजेट कटौती गरेर पुनर्निर्माणका लागि स्रोत जुटाउने भएको छ ।
संघीय सरकारको कोषमा रकम जम्मा भए पनि खर्च गर्ने प्रक्रियागत जटिलता र सरकारी निकायबीचको समन्वय अभावका कारण प्रभावित क्षेत्रका नागरिकले राहत तथा पुनःस्थापनाको अनुभूति गर्न नपाएपछि प्रदेश सरकार आफैं अघि सर्न बाध्य भएको हो ।
गत १० भदौमा भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पु¥याएको थियो । बाढीले सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् तथा निजी संरचनामा क्षति पु¥याउनुका साथै कैयौं परिवारलाई विस्थापित बनाएको थियो । तत्काल उद्धार र राहतमा सक्रिय देखिएका सरकारी संयन्त्र बाढीपछि पुनर्निर्माण र दीर्घकालीन पुनःस्थापनाको काममा भने अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन् ।
प्रारम्भिक चरणमा पठाइएको रकमबाहेक संघीय सरकारबाट कुनै सहयोग नआएको र त्रिशूली वारपार गर्न पुल बनाउनेलगायतका काम प्रदेश सरकारको बजेटबाट भएको विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले बताइन् । विपद् प्रभावितलाई सहयोग गर्ने नाममा संकलन भएको ऋण तथा व्यक्तिगत र संस्थागत सहयोग संघीय सरकारसँग हुँदाहुँदै पनि नागरिकका पीडा निरीह भएर हेर्न बाध्य भएको उनको भनाइ छ ।
विपद्का नाममा रकम संकलन गर्ने तर पीडितको आवश्यकता पूरा गर्न खर्च गर्न नसक्ने सरकारी कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ मा ६ अर्ब रुपैयाँ स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको मुख्यमन्त्री किरण थापाले बताए । प्रदेशका विभिन्न मन्त्रालयका कम प्राथमिकताका विकास योजनाको बजेट कटौती गरेर विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा लगाउने निर्णय प्रदेश सरकारले गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी रहे पनि प्रभावित क्षेत्रमा रकम पुग्ने र खर्च हुने अवस्था भने निराशाजनक देखिएको छ ।
राष्ट्रियसभाअन्तर्गतको भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा प्रस्तुत विवरणअनुसार १२ कात्तिकसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब २८ करोड रुपैयाँभन्दा बढी मौज्दात थियो । तर, विपद् प्रभावित स्थानीय तहमा जम्मा २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको थियो । त्यसमध्ये पनि १३ करोड ५० लाख रुपैयाँ मात्रै स्थानीय तहसम्म पुगेको बताइएको छ ।
सरकारले कोषमा संकलित रकम स्थानीय तह र प्रदेश सरकारमार्फत परिचालन गर्न नचाहेको तथा संघीय सरकारमार्फत साना काम गर्दा स्थानीय र प्रदेश सरकारको असन्तुष्टि हुने अवस्था रहेकाले रकम अलपत्र परेको पाइएको छ । संघीय सरकारले कानुनी र प्रक्रियागत जटिलता देखाउँदै कोषको रकम थन्क्याएर राखेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम सोझै स्थानीय तहमा पठाउन नमिल्ने भन्दै रोकिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, केन्द्रीय विपद् व्यवस्थापन कोष तथा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिका सिफारिसलगायतका प्रक्रिया पूरा गर्नुपर्ने भन्दै रकम परिचालन लम्ब्याइएकोमा असन्तुष्टि बढिरहेको छ ।
सरकारले यसअघि प्रधानमन्त्री कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाएको थियो । तर, उक्त रकमसमेत अपेक्षित रूपमा खर्च हुन नसकेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ ।
राहत वितरण, अस्थायी आवास र जीविकोपार्जनसम्बन्धी सरकारले बनाएको कार्यविधिका कारण रकम खर्च गर्न कठिनाइ भएको उनीहरूको भनाइ छ । कोषमा रकम उपलब्ध हुँदाहुँदै पनि खर्च गर्ने अधिकार र प्रक्रियाको अन्योलले पीडित नागरिकलाई राहत दिनसमेत स्थानीय तहलाई कठिन भएको छ ।
विपद् व्यवस्थापनमा संघीय सरकारको एकद्वार प्रणाली र तीन तहका सरकारको साझा जिम्मेवारीबीचको अन्तरसंघर्ष यस घटनाले छर्लंग पारेको छ । रकम केन्द्रमा संकलन गर्ने तर स्थानीय आवश्यकता र प्राथमिकताअनुसार परिचालन गर्न सहज वातावरण नबनाउने सरकारी शैलीका कारण पुनर्निर्माणको कामसमेत प्रभावित भएको स्थानीय अगुवाहरूले बताएका छन् ।
संघीय सरकारको कोषमा रकम थन्किएपछि प्रभावित क्षेत्रका स्थानीय तहहरूले प्रदेश सरकारसँग निरन्तर समन्वय र स्रोत व्यवस्थापनका लागि आग्रह गर्दै आएका थिए । त्यसपछि आफ्नै क्षमताअनुसार बजेट पुनःसंरचना गरेर विपद् प्रभावित क्षेत्रका लागि बागमती प्रदेश सरकार अघि सरेको हो । नागरिकस्तरबाट समेत पुनःस्थापना र पुनर्निर्माणमा सरकारको उदासीनता’bout गुनासो बढेपछि प्रदेश सरकारले आफ्नै बजेटबाट स्रोत जुटाउने निर्णय गरेको मुख्यमन्त्री थापामगरले बताए ।
प्रदेश सरकारका अनुसार चालु आर्थिक वर्षको बजेटमा रहेका कम प्राथमिकताका विकास योजना कटौती गरेर विभिन्न मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म रकम व्यवस्थापन गरिएको छ । प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको १० करोड पाँच लाख रुपैयाँ तत्काल खर्च गर्न सकिने अवस्थामा रहेपछि थप स्रोत जुटाउन मन्त्रालयगत बजेट पुनःव्यवस्थापन गरिएको मुख्यमन्त्री थापामगरले बताएका छन् ।
गत २२ असोजको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयको बजेटबाट करिब ६ अर्ब रुपैयाँ कटौती गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट तीन अर्ब ७२ करोड, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयबाट एक अर्ब २० करोड, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयबाट ४४ करोड ९६ लाख, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयबाट ४० करोड २८ लाख र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयबाट १९ करोड १६ लाख रुपैयाँ कटौती गरिएको छ । अन्य मन्त्रालयबाट पनि रकम कटौती गरी अर्थ विविध शीर्षकमा राखिएको छ ।
प्रदेश सरकारले उक्त रकमबाट सडक, पुल, खानेपानी, जोखिमयुक्त बस्तीको स्थानान्तरण, प्रभावित परिवारको पुनःस्थापना र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । नुवाकोट र रसुवामा पाँचवटा झोलुङ्गे पुल तथा नुवाकोटमा दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णयसमेत प्रदेश सरकारले यसअघि गरिसकेको छ ।
७ मंसिरमा मुख्यमन्त्रीको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले पुनर्निर्माण र पुनःस्थापनाका लागि ६ अर्ब रुपैयाँ स्रोत व्यवस्थापन गर्ने निर्णयलाई थप अघि बढाएको हो ।
भोटेकोसी बाढी प्रभावितका पीडा र आँसुका कारण संकलन भएको रकम संघीय सरकारको कोषमा अलपत्र परेका कारण पुनर्निर्माण र पुनःस्थापना प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । उनीहरू संघीय सरकारले यसमा जिम्मेवारी लिनुपर्ने बताउँछन् ।
विपद्पछि उद्धारमा करिब असफल प्रमाणित भएको संघीय सरकार विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा समेत स्रोत हुँदाहुँदै गैरजिम्मेवार देखिएको स्थानीय तहहरूको आरोप छ । एकातिर पीडित नागरिक सुरक्षित आवास र जीविकोपार्जनको पर्खाइमा छन् भने अर्कोतिर उनीहरूकै नाममा संकलित रकम खर्च गर्ने प्रक्रियाका नाममा सरकारी संयन्त्र अल्झिएको छ ।
स्थानीय तहले अग्रिम रूपमा आफ्नै स्रोत खर्च गर्नुपर्ने र पछि सोधभर्ना लिनुपर्ने अवस्थाले उनीहरूलाई थप आर्थिक दबाबमा पारेको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल बताउँछन् ।
विपद्का बेला सहयोगका लागि हात फैलाएर संकलन गरिएको रकम नागरिकले अनुभूति गर्ने गरी समयमै खर्च हुनु आवश्यक रहेको अर्यालले बताए ।
संघीय सरकारले तत्काल अस्थायी बसोबासको काम सुरु गरिहाल्ने प्रस्ताव ल्याएको भए पनि संघर्ष समिति र सरोकार समितिहरूसँगको परामर्शमा दीर्घकालीन स्थायी बसोबासको व्यवस्थापन गर्ने विषयमा सहमति भएपछि काममा ढिलाइ भएको हुन सक्ने उनको भनाइ छ ।
कोषमा संचित रकम वा ऋण तथा अनुदानका बजेटबाट भए पनि सार्वजनिक पुनर्निर्माण सुरु गर्न सकिने अवस्था हुँदाहुँदै काममा ढिलाइ भएकोमा असन्तुष्टि बढेको अर्यालले बताए ।
सम्बन्धित समाचार
भीमफेदीमा भएको ईभी दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काइँदै
भारत, चीन र इजरायलका राजदूत नियुक्त, राष्ट्रपति समक्ष शपथ
निर्वाचन आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न औषधि व्यवस्था विभागको निर्देशन
सशस्त्र प्रहरीद्वारा आज काठमाडौं, ललितपुर र भक्तपुरमा निःशुल्क बससेवा सञ्चालन, यस्तो छ रुट
बाढीपछि गोसाइँकुण्डमा बढ्दै पर्यटकको चहलपहल






