क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काइँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो संख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन् ।

महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको थियो । सो पार्टीले कार्यक्रमअघि नै सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरिएको जनाइएको छ ।

आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको छ । पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ ।

नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए । कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले स्मरण गरे ।

‘महाधिवेशन स्थलको रूपमा हामीले खुल्ला मञ्च प्रयोग गर्दा वर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ । दुई दिन परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो । त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो,’ उनले भने ।

उनले खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताए । सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारीसमेत भएको उनको भनाइ छ ।

कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्व जोगाउनु पार्टीको साझा दायित्व भएको बताइन् । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावतका कारण क्षति पुगेको देखेपछि त्यसलाई सुधार्न पार्टी आफैँ सक्रिय भएको उनले बताइन् ।

‘यो ऐतिहासिक धरोहर हो । काठमाडौंको मुटुमा रहेको टुँडिखेलको आफ्नै महत्व छ । यसको अस्तित्व र सौन्दर्य जोगाउनु हाम्रो पनि कर्तव्य हो । कसैले भनेर मात्र होइन, आफ्नो जिम्मेवारी सम्झेर हामी यहाँ आएका हौँ,’ उनले भनिन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले महाधिवेशनपछि सामाजिक सञ्जालमा टुँडिखेलको क्षतिलाई लिएर टिप्पणी गरेको प्रसंगमा सहमहामन्त्री गौतमले त्यसलाई आफ्नो अभियानको कारण नभएको स्पष्ट पारिन् । ‘प्रधानमन्त्रीले के भन्नुभयो भन्नेभन्दा पनि यो स्थानलाई जोगाउनु हाम्रो आफ्नै जिम्मेवारी हो भन्ने ठानेर हामी आएका हौँ,’ उनले भनिन् ।

कांग्रेसका केन्द्रीय सदस्य जनक चट्टौतले महाधिवेशनका क्रममा संरचना निर्माण र ठूला सवारीसाधनको आवतजावतका कारण दुबोलगायतका संरचनामा क्षति पुगेको बताए । महानगरपालिकाबाट क्षतिको विषय उठेपछि पार्टीले बिग्रिएको क्षेत्र पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएको र सोहीअनुसार काम अघि बढाइएको उनले उल्लेख गरे । पुनःस्थापनापछि पनि नियमित सिँचाइ तथा संरक्षणको व्यवस्था गरिने उनको भनाइ छ ।

कांग्रेसका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले महाधिवेशनका क्रममा प्रयोग गरिएको सार्वजनिक स्थलमा पुगेको क्षति सुधार गर्नु पार्टीको कर्तव्य भएको बताए । बिग्रिएको दुबोलाई प्राकृतिक रूपमै पुनर्जीवित गर्ने उद्देश्यले चितवनबाट दुबो मगाएर पुनःरोपणको काम अघि बढाइएको उनले बताए ।

केन्द्रीय सदस्य सीता मिजारले महाधिवेशनका क्रममा भएको क्षतिको परिपूर्ति गर्ने प्रतिबद्धताअनुसार पार्टीले काम गरिरहेको बताइन् । ‘यो राष्ट्रिय सम्पत्ति हो । यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली कांग्रेसले आफैँ दुबो रोप्ने कार्यक्रम गरेको हो । जति क्षति भएको छ, त्यसको परिपूर्ति गर्छौँ भनेर हामीले त्यतिबेलै प्रतिबद्धता जनाएका थियौँ,’ उनले भनिन् ।

३० दिनमा पुरानै अवस्थामा फर्काउने लक्ष्य

दुबो पुनःरोपण तथा मर्मतसम्भारको प्राविधिक जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोट्र्सका थमन भूसालका अनुसार अहिले प्रारम्भिक चरणको रोपण कार्य भइरहेको छ । रोपिएको दुबोलाई आवश्यकताअनुसार थिच्ने, माटो मिलाउने, खनजोत गर्ने र सिँचाइ तथा मलखादको व्यवस्था गरेर अन्तिम रूप दिइने छ ।

उनका अनुसार अहिलेको मौसममा दुबोलाई पूर्ण रूपमा स्थापित गरी पुरानै अवस्थामा फर्काउन न्यूनतम ३० दिन लाग्ने अनुमान छ । काम सम्पन्न भएपछि वास्तविक लागत विवरणसमेत तयार गरिने उनले बताए ।

खुलामञ्च खुला हुनुपर्ने बहस

दुबो पुनःरोपणसँगै कांग्रेसका नेताहरूले खुलामञ्चको दीर्घकालीन संरक्षण र सर्वसाधारणको पहुँचको विषयसमेत उठाएका छन् । महानगर सभापति वैद्यले खुलामञ्चलाई घेराबन्दी गरेर सर्वसाधारणको पहुँच सीमित गर्नु यसको मूल मर्मविपरीत हुने बताए ।

उनले विगतमा खुलामञ्चका सटर हटाउने, टुँडिखेललाई खुला गर्ने तथा भूमिगत पार्किङ निर्माण गर्ने योजनाविरुद्ध आफूहरूले आन्दोलन गरेको स्मरण गरे । खुलामञ्च काठमाडौंको ऐतिहासिक गहना मात्र नभई नागरिकले सहज रूपमा उपयोग गर्न पाउनुपर्ने सहरी सार्वजनिक सुविधा भएको उनको भनाइ छ ।

‘खुलामञ्चको आत्मा भनेको नागरिकले स्वतन्त्र रूपमा उपयोग गर्न पाउनु हो । यसलाई जेलजस्तो बन्द गरेर सर्वसाधारणलाई प्रवेश निषेध गर्नु यसको मर्म होइन,’ उनले भने ।

सार्वजनिक स्थलमा फोहोर नगर्ने, हरियाली नष्ट हुन नदिने र साझा सम्पत्तिको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् । राजनीतिक दलले आयोजना गर्ने ठूला कार्यक्रमपछि सार्वजनिक सम्पत्तिमा पुग्ने क्षतिको जिम्मेवारी सम्बन्धित आयोजकले लिनुपर्ने बहसका बीच कांग्रेसले थालेको पुनःस्थापना अभियानले आयोजकको जवाफदेहिताको सन्देश दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काइँदै