आनीको नियुक्तिमा सर्वोच्चको प्रश्न



काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

नियुक्ति बदर गर्न र अन्तरिम आदेश जारी गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले आगामी सोमबार (१४ मंसिर) छलफलका लागि बोलाएको हो ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निष्कर्षमा पुग्नुअघि दुवै पक्षको कुरा सुन्न उपयुक्त हुने ठहर गर्दै विपक्षीलाई झिकाउने आदेश गरेको हो ।

सफलता बोगटी लगायतले आनीलाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णय गैरकानुनी भएको दाबीसहित सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा नागरिकताको वैधानिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेको व्यक्तिलाई सरकारले महत्वपूर्ण सार्वजनिक पदमा नियुक्त गरेको प्रश्न उठाइएको छ । सर्वोच्चको आदेशसँगै आनीको नियुक्तिको कानुनी आधार र त्यसविरुद्ध उठेका प्रश्न अब न्यायिक छलफलमा प्रवेश गरेका छन् ।

सरकारले सुशासन र मेरिटोक्रेसीको प्रतिबद्धता जनाउँदै सार्वजनिक प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गर्ने प्रक्रिया अघि बढाए पनि लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा त्यसलाई पालना नगरेको भन्दै विवाद सुरु भएको थियो । सरकारले गत जेठमा कोषका विभिन्न पदमा नियुक्तिका लागि आवेदन मागेको थियो । उपाध्यक्षसहित १२ पदका लागि ७२७ जनाले आवेदन दिएकामा उपाध्यक्ष पदमा मात्रै १०४ जनाको आवेदन परेको थियो ।

तर, आवेदकहरूको मूल्यांकन, छनोटको आधार र अन्तर्वार्ताको विवरण सार्वजनिक नगरी सरकारले आनीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को ३० असोजको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेलको प्रस्तावमा उनलाई नियुक्त गरेको थियो । लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) अनुसार उपाध्यक्षको पदावधि पाँच वर्ष हुने व्यवस्था छ ।

……………………………………………………………………………………………..

–खुला प्रतिस्पर्धाका १०४ आवेदकलाई पन्छाएर नियुक्ति
–नागरिकता र आर्थिक कारोबारसम्बन्धी प्रश्न अदालतमा

………………………………………………………………………………………………………

प्रतिस्पर्धाका लागि आवेदन मागेर पनि छनोट प्रक्रिया सार्वजनिक नगरी राजनीतिक तहबाट नियुक्ति गरिएको भन्दै स्थानीय अगुवा, बौद्ध धर्मका जानकार तथा लुम्बिनी बचाउ महाअभियानले विरोध गर्दै आएका छन् । उनीहरूले लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बुझ्ने र सम्पदा व्यवस्थापनको अनुभव भएको व्यक्तिलाई नेतृत्व दिनुपर्ने माग गरेका थिए ।

विरोधका क्रममा नियुक्तिको औचित्यमाथि प्रश्न उठाउने अभियन्तामाथि प्रहरी कारबाहीसमेत भएको थियो । लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खान र अभियन्ता बनिउद्दिन मुसलमानलाई पर्यटनमन्त्रीको पुत्ला दहन गरेको आरोपमा प्रहरीले मध्यरातमा पक्राउ गरेको थियो । उनीहरूलाई एक दिन थुनामा राखेर भोलिपल्ट रिहा गरिएको थियो ।

आनीको नियुक्तिको विरोध हुनुको अर्को आधार उनको नागरिकता र विगतमा उठेका आर्थिक कारोबारसम्बन्धी प्रश्न हुन् । उनको आत्मकथा ‘फूलको आँखामा’ मा बुबाआमा तिब्बतबाट नेपाल आएको उल्लेख रहेको भन्दै अभियन्ताहरूले उनले वंशजका आधारमा नागरिकता लिएको विषयमा छानबिनको माग गरेका छन् । यस विषयमा २०७६ सालमा प्रहरीमा उजुरीसमेत परेको थियो ।

२०७५ सालमा हङकङबाट उनको बैंक खातामा १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर आएको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान अघि बढाएका थिए । राष्ट्र बैंकले थप रकम भित्र्याउने प्रयाससमेत रोकेको थियो । आनीले भने आफूविरुद्ध उठेका प्रश्न निराकरण भइसकेको र बदनाम गर्ने उद्देश्यले अनावश्यक आरोप लगाइएको बताउँदै आएकी छन् । उनले आफ्नो आर्थिक कारोबारसम्बन्धी विवरण सम्बन्धित सरकारी निकायबाट बुझ्न आग्रहसमेत गरेकी छन् ।

नियुक्तिको विरोध र विवादबीच आनीले करिब एक महिनापछि २६ कात्तिकमा लुम्बिनी विकास कोषको कार्यालय पुगेर पदभार ग्रहण गरेकी थिइन् । मायादेवी मन्दिरमा पूजाआजा गरेपछि उनले कोषको कार्यालय पुगेर जिम्मेवारी सम्हालेकी थिइन् । सोही दिन सदस्यसचिव सन्तोष पाण्डेयसहित नवनियुक्त पदाधिकारीले पनि पदभार ग्रहण गरेका थिए ।

आनीको नियुक्ति कसको दबाबमा भयो भन्ने प्रश्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैसमेत उठेको थियो । १०४ जना प्रतिस्पर्धी रहेको उपाध्यक्ष पदमा आवेदन मागेर पनि छनोट प्रक्रिया सार्वजनिक नगरी आनीलाई नियुक्त गरिएको विषयमा प्रश्न उठे पनि त्यस’bout सरकारले स्पष्ट जवाफ दिएको छैन । यसअघि डा. ल्हारक्याल लामा र अवधेशकुमार त्रिपाठीको नियुक्तिमा समेत विवाद भएको कोषमा अहिले फेरि नियुक्ति प्रक्रियामाथि प्रश्न उठेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार