डडेल्धुरा । हिन्दु धर्मशास्त्रमा भगवान शिवलाई सृष्टिका संहारकर्ता, योगी, तपस्वी र सम्पूर्ण जगतका रक्षकका रूपमा पुजिन्छ । शिवका अनेक स्वरूपमध्ये जगन्नाथको महिमा पनि उत्तिकै विशिष्ट मानिन्छ । भारतको काशीमा विश्वनाथ र नेपालको काठमाडौंमा पशुपतिनाथका रूपमा प्रसिद्ध भगवान शिव डडेल्धुराको अजयमेरु गाउँपालिका–४ चिपुरमा भने जगन्नाथ बाबाका रूपमा पुजिँदै आएका छन ।
अजयमेरुको चिपुरमा छ शिवशक्तिको रहस्यमयी धाम
अजयमेरु गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा, तीनवटा नदीको संगमस्थल (त्रिवेणी) मा अवस्थित जगन्नाथ बाबाको मन्दिर धार्मिक आस्था, प्राचीन वास्तुकला, ऐतिहासिक सभ्यता र रहस्यमयी परम्पराको अनुपम संगम हो । शममशानसँग जोडिएको शिवको स्वरूप भएकाले जगन्नाथ बाबालाई स्थानीयले शमशानवासी देवताका रूपमा समेत श्रद्धा गर्छन ।
यो मन्दिर केवल पूजाआजाको स्थल मात्रै होइन, तत्कालीन शक्तिशाली डोटेली राज्यको धार्मिक, सांस्कृतिक र ऐतिहासिक विरासतसँग जोडिएको महत्वपूर्ण सम्पदा पनि हो । यहाँको वार्षिक पूजा तथा जात्रासँग जोडिएका केही परम्परा झनै रोचक र रहस्यमयी छन । विशेषगरी अरुणी मन्थनबाट अग्नि उत्पन्न नभएसम्म जगन्नाथ बाबाको जात्रा नै नहुने धार्मिक मान्यता यस मन्दिरको सबैभन्दा विशिष्ट पक्ष हो ।
शिखर र प्यागोडा शैलीको अनुपम वास्तुकला
जगन्नाथ मन्दिर परिसरमा प्रवेश गर्दा सबैभन्दा पहिले प्राचीन ढुंगे वास्तुकलाले निर्मित संरचनाले ध्यान आकर्षित गर्छन । मन्दिरको मुख्य आकर्षण हो, ढुंगाबाट निर्मित गोप्य गात र त्यससँगै जोडिएको मन्दिर ।
शिखर शैलीको वास्तुकलामा निर्माण गरिएको गोप्य गातको टुप्पोमा ढुंगाकै चक्र राखिएको छ । त्यसको माथि प्यागोडा शैलीमा ताम्रपत्रको छानो र सबैभन्दा माथि गजुर स्थापना गरिएको छ । शिखर र प्यागोडा शैलीको यस्तो संयोजनले यस क्षेत्रको प्राचीन वास्तुकलाको विशिष्टता झल्काउँछ ।
गोप्य गातसँगै जोडिएको ढुंगे संरचनामा काठको प्रयोग गरी प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको छ । मन्दिरको अगाडिपट्टि पनि शिखर शैलीमा निर्मित अर्काे ढुंगे देवल छ । यसलाई शक्तिस्वरुपा कालिका माताको मन्दिरका रुपमा पुजा गरिन्छ । मन्दिरको पछाडिपट्टि साना–ठूला गरी आधा दर्जनभन्दा बढी ढुंगे देवलहरू देख्न सकिन्छ ।
त्यति मात्रै नभई मन्दिर परिसरको पछाडितर्फ प्राचीन ढुंगे धारा, न्वालाजस्ता संरचना र भक्तजनहरूका लागि बनाइएका प्रतीक्षालयजस्ता ढुंगे संरचनासमेत छन । यी संरचनाहरूको बनावट र वास्तुकला अजयमेरुकोटमा रहेका प्राचीन देवल तथा ऐतिहासिक संरचनासँग मिल्दोजुल्दो देखिन्छ । तत्कालीन डोटेली राज्यको मुख्य राजधानीका रूपमा परिचित अजयमेरुकोट र त्यस आसपासको धार्मिक तथा सांस्कृतिक इतिहाससँग जगन्नाथ मन्दिरको सम्बन्ध’bout थप अध्ययन तथा पुरातात्विक अनुसन्धान आवश्यक देखिन्छ ।
पशुपतिनाथ र विश्वनाथकै स्वरूप हुन जगन्नाथ
जगन्नाथ बाबाको धार्मिक महिमा र पूजाविधि’bout मन्दिरका मूल पुजारी श्यामराज चटौतका अनुसार जगन्नाथ जगत्का रक्षक भगवान शिवकै स्वरूप हुन । उनी भन्छन, जगन्नाथ देवता जगतका रक्षक हुनुहुन्छ । उहाँ शिव भगवान हुनुहुन्छ । भारतको बनारसमा रहनुभएका विश्वनाथ र नेपालको संघीय राजधानी काठमाडौंमा रहनुभएका पशुपतिनाथजस्तै आर्यघाट भएका यी जगन्नाथ हुन ।

पिडेश्वरको तपस्या र शिवालयको स्थापना
जगन्नाथ मन्दिरको स्थापनासँग जोडिएको अर्काे रोचक जनश्रुति पिडेश्वर नामका एक भक्तसँग सम्बन्धित छ । पुजारी चटौतका अनुसार पिडेश्वर नामले प्रख्यात एकजना अत्यन्त भक्त व्यक्ति प्रायः तीर्थयात्रामा रहने गर्थे । तीर्थयात्राबाट आफ्नो घर फर्किने क्रममा एक दिन उनी यस स्थानमा आइपुगे । त्यहाँ उनले शिवालय र शिवलिंग देखेपछि त्यसै दिनदेखि उक्त स्थानमा पूजाआजा सुरु भएको जनविश्वास छ ।
पिडेश्वर ब्रह्मलीन हुने बेलामा आफ्नो धार्मिक विधिविधान र परम्परा कसरी निरन्तरता पाउने भन्ने विषय उठेपछि यहाँका कैलपाल देवताले उनलाई शिवालयमै लीन गरिदिने वचन दिएको किंवदन्ती छ । त्यसपछि पिडेश्वरको नाम र महिमा पनि यस शिवालयसँग जोडिएर रहन गएको स्थानीय मान्यता छ ।
यसरी जगन्नाथ मन्दिरको धार्मिक इतिहासमा पिडेश्वरको तपस्या, कैलपाल देवताको भूमिका र शिवालयको स्थापना एकअर्कासँग जोडिएका छन ।
सातौँ शताब्दीदेखिको धार्मिक परम्पराको चर्चा
जगन्नाथ मन्दिरको ऐतिहासिक महत्व’bout योगी नरहरिनाथ आचार्यसमेत यहाँ आएको र मन्दिरको पूजाविधि’bout चासो राखेको पुजारी चटौत बताउछन । उनका अनुसार योगी नरहरिनाथले यहाँको धार्मिक विधिविधान र पूजापरम्पराको अध्ययन गर्दै सातौँ शताब्दीमा समेत यस किसिमका धार्मिक विधि र विधान जान्ने विद्वान् तथा जानकारहरू रहेको उल्लेख गरेका थिए ।
यदि यो परम्परा र संरचनाको ऐतिहासिक कालक्रम पुरातात्विक अध्ययनबाट पुष्टि हुन सकेमा जगन्नाथ मन्दिर सुदूरपश्चिमको प्राचीन धार्मिक इतिहासको महत्त्वपूर्ण प्रमाण बन्न सक्छ ।
अग्नि ननिस्किए जगन्नाथको जात्रा नै हुँदैन
जगन्नाथ मन्दिरको वार्षिक पूजा तथा जात्रासँग जोडिएको सबैभन्दा रोचक र रहस्यमयी परम्परा अरुणी मन्थन हो । हरेक वर्ष कार्तिक शुक्ल तृतीयाका दिन यहाँ अरुणी मन्थन गरेर अग्नि उत्पन्न गर्ने परम्परा छ । यसका लागि विशेष प्रकारको पिपलको हाँगा ल्याइन्छ । स्थानीय परम्परामा उक्त पिपललाई ‘त्रिजोगी’ भनिन्छ र तीन युगसँग सम्बन्धित मानिन्छ ।
परम्परागत विधिअनुसार पिपलको काठबाट अरुणी मन्थन गरी अग्नि उत्पन्न गर्ने प्रयास गरिन्छ। यसरी मन्थन गर्दा अग्नि निस्किएमा मात्रै जगन्नाथ बाबाको जात्रा, पूजा तथा लक्ष्यहोम सञ्चालन हुने धार्मिक मान्यता छ । यदि अग्नि उत्पन्न भएन भने त्यस वर्ष जगन्नाथ बाबाको जात्रा नै नहुने विश्वास छ ।
पुजारी चटौतका अनुसार अरुणी मन्थनबाट अग्नि उत्पन्न हुनु यहाँको धार्मिक परम्पराको अनिवार्य सर्त हो । अहिले पछिल्ला दुई–चार वर्षदेखि भने कार्तिक शुक्ल तृतीयाकै दिन अग्नि उत्पन्न हुँदै आएको छ ।
अरुणी मन्थनको यो परम्पराले वैदिक कालदेखि प्रचलित अग्नि उत्पन्न गर्ने प्राचीन विधि र स्थानीय धार्मिक विश्वासलाई जीवन्त राखेको देखिन्छ ।
तीन गाउँका देउरा त्रिवेणीमा भेला हुन्छन
अरुणी मन्थनबाट अग्नि उत्पन्न भएपछि जगन्नाथ मन्दिरमा तीन गाउँका देउरा (देवताका आवश्यक मुख्या पुजा सामाग्री, आभुषण सजिएको डोली, दिप, शंक, घण्टा, बिगुलसहितको शोभायात्रा) ल्याउने परम्परा छ ।
सिउतला ठिक्लाबाट एउटा, केलाडी पण्डितको घरबाट एउटा र चौडी गाउँबाट अर्काे गरी तीनवटा देउरा ल्याइन्छन । ती तीन गाउँका देउरा मन्दिर रहेको त्रिवेणी नदीको संगमस्थलमा आइपुग्छन । यसरी तीन गाउँबाट देउरा ल्याएर त्रिवेणीमा भेला गराउने परम्पराले यहाँको धार्मिक एकता, सामूहिक सहभागिता र पुस्तौँदेखि कायम रहेको सांस्कृतिक सम्बन्धलाई उजागर गर्छ ।
मृगशिरा नक्षत्रमा लाग्छ मेला, तीन गाउँका देउरा त्रिवेणीमा जुट्छनः अरुणी मन्थनबाट अग्नि उत्पन्न भएपछि मात्रै सुरु हुन्छ जगन्नाथको विशेष पूजा र जात्रा
जगन्नाथ बाबाको वार्षिक पूजामा स्थानीय बाजागाजा, दाइन, दमाहा, रुइसिङ र झिलीलगायतका परम्परागत वाद्यवादन बजाइन्छन । नेजा तथा ध्वजासहित चौलोहरू मन्दिरमा ल्याइन्छन । देवताका धामीहरू काँप्दै जयजयकार गर्छन । तिलक तथा प्रसाद ग्रहण गरिसकेपछि पनि देवताको सम्मानस्वरूप चौलो ल्याउने परम्परा रहिआएको पुजारी चटौत बताउछन ।
कैलपाल देवताः जगन्नाथका द्वारपाल र मुख्य धामी
जगन्नाथ मन्दिरको धार्मिक परम्परामा कैलपाल देवताको भूमिका अत्यन्त महत्वपूर्ण छ । स्थानीय मान्यताअनुसार कैलपाल जगन्नाथ बाबाका द्वारपाल हुन । जगन्नाथको पूजा, जात्रा र धार्मिक विधिविधानमा कैलपाल देवताको विशेष स्थान छ । यहाँको मुख्य धामी पनि कैलपाल देवताकै हुने परम्परा छ ।
पुजारी चटौतका अनुसार यहाँको पूजाविधि ‘षट्शाशी कैलपाल’ सँग सम्बन्धित छ । यसैबाट यहाँका धार्मिक विधिविधान, के गर्ने, के नगर्ने, पूजाको प्रक्रिया, रीतिरिवाज र परम्पराहरू निर्धारण भएका छन ।
यस विधिविधानमा वेदका मन्त्रहरू वेदबाटै समावेश गरिएका छन् भने तान्त्रिक मन्त्रहरू षट्शाशी कैलपालले आफैँ रचना गरेको मान्यता छ । ती तान्त्रिक मन्त्रहरू अन्य सामान्य कर्मकाण्डमा प्रयोग हुने मन्त्रभन्दा फरक रहेको पुजारीको भनाइ छ ।
कैलपाल देवताको धामी परम्परामा भाट परिवारको विशेष भूमिका रहिआएको छ । सकभर भाट परिवारकै व्यक्तिमा कैलपाल देवता काँप्ने धामी परम्परा रहेको भए पनि अन्य थरका व्यक्तिमा समेत देवता प्रकट हुन सक्ने स्थानीय विश्वास छ ।
यसरी चटौत थरीबाट पण्डित तथा मुल पुजारी, भट्ट थरीबाट पुजारी, भण्डारी र भाट थरीबाट द्वारिया तथा धामीको जिम्मेवारीसहित विभिन्न धार्मिक भूमिका तोकिएको छ । पूजाआजामा सहभागी परिवार र समुदायले आ–आफ्नो परम्परागत जिम्मेवारी निर्वाह गर्दै आएका छन ।

१२ गाउँ, ७२ प्याला र लक्ष्यहोमको विशेष महत्व
जगन्नाथ बाबाको वार्षिक पूजामा १२ वटा गाउँको सहभागिता रहने परम्परा छ । यी गाउँबाट पूजापोखल अर्थात् पूजाका सामग्री ल्याउने गरिन्छ । यहाँ ७२ प्याला र १२ ठूला गाउँको धार्मिक मान्यता पनि प्रचलित छ । ७२ प्याला (सानागाउँ) र ठूला १२ गाउँको यो परम्परा जगन्नाथ बाबाको लक्ष्यहोमसँग सम्बन्धित छ ।
पुजारी चटौतका अनुसार यस्तो विधिविधान र परम्परा अन्यत्र सहजै भेटिँदैन । वेद र तन्त्रको समिश्रणमा आधारित यहाँको लक्ष्यहोमलाई विशेष धार्मिक महत्वका साथ लिइन्छ ।
कालिका मन्दिरमा बलि नदिए जात्रा नहुने मान्यता
जगन्नाथ मन्दिर परिसरभन्दा केही पर कालिका माताको मन्दिर पनि छ । शिवालय भएका स्थानमा शक्तिपीठ पनि रहने धार्मिक मान्यताअनुसार यहाँ कालिका माताको मन्दिर स्थापना भएको स्थानीय विश्वास छ ।
महाअष्टमीका दिन कालिका मन्दिरमा विशेष पूजाआजा र बलि दिने परम्परा छ । यस दिन एउटा बोकाको मात्रै बलि दिने चलन रहेको पुजारी चटौत बताए । महाअष्टमीमा कालिका मन्दिरमा बोकाको बलि हुन नसके जगन्नाथको जात्रा नहुने धार्मिक मान्यता छ । त्यसैगरी कार्तिक शुक्ल तृतीया, चतुर्थी र पञ्चमी गरी तीन दिनसम्म अरुणी मन्थन गर्दा पनि अग्नि उत्पन्न नभए जगन्नाथको पूजा, जात्रा र मेला नहुने विश्वास छ ।
यसरी कालिका माताको पूजा र अरुणी मन्थन दुवै जगन्नाथ बाबाको वार्षिक धार्मिक अनुष्ठानका अनिवार्य पक्ष मानिन्छन ।
मृगशिरा नक्षत्रमा लाग्छ जगन्नाथको मेला
जगन्नाथ बाबाको पूजा तथा जात्रा नक्षत्रका आधारमा सञ्चालन हुने परम्परा छ । यहाँको विशेष मेला मृगशिरा नक्षत्रमा लाग्ने धार्मिक मान्यता रहेको पुजारी चटौत बताउछन । मृगशिरा नक्षत्रलाई आधार मानेर मेलाको तिथि निर्धारण गरिने भएकाले यसको मिति हरेक वर्ष एउटै पात्रो मितिमा पर्दैन ।
सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा लाग्ने देहिजाँतसँग पनि यसको तिथिगत सम्बन्ध देखिन्छ । उग्रतारा मन्दिरको देहिजाँतको दुई–तीन दिनपछि जगन्नाथ बाबाको मेला पर्ने गरेको छ । यस वर्ष भने देहिजाँतको एक दिनपछि नै जगन्नाथको मेला परेको थियो ।

घोडा उल्टो हिँडेको किंवदन्ती
जगन्नाथ बाबाको शक्तिसँग जोडिएको अर्काे रोचक किंवदन्ती तत्कालीन डोटेली राज्यका शासकसँग सम्बन्धित छ । स्थानीय जनश्रुतिअनुसार तत्कालीन शक्तिशाली डोटेली राज्यका एक राजा यस क्षेत्रमा पुगेका थिए । उनी देवताप्रति खासै आस्था नराख्ने स्वभावका थिए भन्ने किंवदन्ती छ ।
तर जगन्नाथ बाबाको क्षेत्रमा पुगेपछि उनी चढेको घोडा अगाडि जानुको सट्टा उल्टो हिँड्न थालेको भनाइ छ । घोडा उल्टो हिँडेपछि राजाले यस स्थानको देवताको शक्ति असाधारण रहेछ भन्ने महसुस गरेको र त्यसपछि देवतालाई जग्गा प्रदान गरेको जनश्रुति छ ।
यसरी राजाले जगन्नाथलाई दिएको जग्गालाई स्थानीय भाषामा ‘दसुनमाटी’ भनिने गरेको पुजारी चटौत बताउछन । दसुन–बिसुन माटो दिएको भन्ने किंवदन्ती पनि यससँग जोडिएको छ ।
यो किंवदन्तीले तत्कालीन राज्यसत्ता र स्थानीय धार्मिक शक्तिपीठबीचको सम्बन्ध’bout स्थानीय समाजमा रहेको ऐतिहासिक स्मृतिलाई झल्काउँछ ।
पन्त परिवारको इतिहास
जगन्नाथ मन्दिरको धार्मिक परम्परामा कैलपाल देवताको आगमनसँग जोडिएको अर्काे रोचक इतिहास पन्त परिवारसँग सम्बन्धित छ । पुजारी चटौतका अनुसार तत्कालीन समयमा पन्त परिवारका एकजना ब्राह्मण विशेष शक्ति प्राप्त गर्ने उद्देश्यले भारतको बनारस पुगेका थिए । उनी लामो समयसम्म बनारसमा बसेर धार्मिक साधना र शक्ति प्राप्त गरेपछि मात्रै फर्किने संकल्पका साथ त्यहाँ गएको जनश्रुति छ ।
धार्मिक साधनाबाट शक्ति प्राप्त गरेपछि उनी कैलपाल देवतालाई यहाँ ल्याउन सफल भएको स्थानीय इतिहासमा उल्लेख रहेको चटौत बताउछन । यसरी पन्त परिवारले कैलपाल देवतालाई यहाँ ल्याएको र त्यसपछि जगन्नाथ बाबाको द्वारपालका रूपमा कैलपालको पूजा तथा धामी परम्परा स्थापित भएको मान्यता रहिआएको छ ।
अनुसन्धानको सम्भावना
अजयमेरु गाउँपालिका–४ चिपुरस्थित जगन्नाथ मन्दिर धार्मिक आस्था, प्राचीन वास्तुकला, स्थानीय किंवदन्ती र जीवन्त सांस्कृतिक परम्पराको महत्त्वपूर्ण केन्द्र हो । यहाँ रहेका शिखर शैलीका ढुंगे देवल, प्यागोडा शैलीको मन्दिर, गोप्य गात, ढुंगे धारा, नालाजस्ता संरचना र प्रतीक्षालयले प्राचीन निर्माणकला र त्यस समयको सामाजिक जीवन’bout अध्ययन गर्न सकिने सम्भावना देखाउँछन ।

अर्काेतर्फ अरुणी मन्थनबाट अग्नि उत्पन्न भएपछि मात्रै जात्रा गर्ने परम्परा, तीन गाउँबाट देउरा ल्याउने चलन, १२ गाउँ र ७२ प्यालाको धार्मिक व्यवस्था, कैलपाल देवताको धामी परम्परा तथा मृगशिरा नक्षत्रमा लाग्ने मेलाले यस स्थानलाई विशिष्ट सांस्कृतिक पहिचान दिएका छन ।
तत्कालीन डोटेली राज्यको राजधानी अजयमेरुकोटसँग मिल्दोजुल्दो वास्तुकला र धार्मिक परम्पराको ऐतिहासिक सम्बन्ध’bout पुरातत्वविद्, इतिहासकार तथा संस्कृतिविद्बाट गहिरो अध्ययन हुन सकेमा यस क्षेत्रको प्राचीन सभ्यता र इतिहासका थप पाटा उजागर हुन सक्छन ।
स्थानीय जनश्रुति, पुजारीका भनाइ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका धार्मिक परम्परालाई अभिलेखीकरण तथा संरक्षण गर्न सके यो मन्दिर सुदूरपश्चिमको महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य बन्न सक्छ ।
तीन नदीको संगममा अवस्थित यो प्राचीन शिवधामले आज पनि आस्था, विश्वास र परम्पराको निरन्तरता बोकेको छ । अग्नि ननिस्किए जात्रा नहुने विश्वासदेखि मृगशिरा नक्षत्रमा लाग्ने मेलासम्मका अनेकौँ विशिष्ट परम्पराले अजयमेरुको चिपुरस्थित जगन्नाथ बाबाको मन्दिरलाई सुदूरपश्चिमको धार्मिक इतिहासमा अलग पहिचान दिएको छ ।
अजयमेरु गाउँपालिका वडा नं. ४ मा अवस्थित जगन्नाथ मन्दिर । तस्बिरः सम्झना पाण्डेय ।
सम्बन्धित समाचार
वर्णन थरीथरी, चम्पापुरी नगरी
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव
एनपीएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर ?
दानबहादुर कार्कीले दायर गरेको रिटमा भएन सुनुवाइ
औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न औषधि व्यवस्था विभागको निर्देशन
देउवा समूहको महाधिवेशनका लागि समिति बनाउने सम्पूर्ण अधिकार डा. शशांकलाई
कांग्रेस देउवा समूहका नेता कान्छारामविरुद्ध अदालतमा मुद्दा






