भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री शाहको काँग्रेसद्वारा आलोचना

काठमाडौं । नेपाली काँग्रेसले भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको आपत्ति जनाएको छ ।

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री प्रदीप पौडेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादको विषय नउठाउनु आपत्तिजनक रहेको बताएका हुन ।

उनले प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको टिप्पणी गरे । प्रधानमन्त्रीले विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा प्रस्तुत गर्ने गरेको अभिव्यक्ति अहिले कुटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखाएको उनको भनाई छ ।

सीमा विवादको विषयलाई प्रवेश नै नगराई फर्कनुले उनको दोहोरो चरित्र उदाङ्गो भएको उनको दाबी छ । विगतमा प्रधानमन्त्री साहले सीमा सम्बन्धी अभिव्यक्तिलाई लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टी भएको उनले बताए ।

उनले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक, ऐतिहासिक र विशिष्ट छ । दुई देशबीच सहकार्यमा अनेकौँ सम्भावना छन् भने वर्षौँदेखि समाधान हुन बाँकी सिमा लगायतका केही संवेदनशील विषयहरू पनि छन् । यस्ता संवेदनशील विषयहरूको समाधान कुनै एउटा भ्रमण वा बैठकबाट मात्र सम्भव हुँदैन भन्ने यथार्थताप्रति नेपाली काङ्ग्रेस स्पष्ट छ । यसको समाधानका लागि निरन्तर र गम्भीर अनि परिणाममुखी कूटनीतिक पहल अनिवार्य हुन्छ । द्विपक्षीय सहकार्यका बहुआयामिक सम्भावनालाई निरन्तर अगाडि पढाउँदै आपसी विश्वास, सम्मान र समझदारीका आधारमा थाती रहेका संवेदनशील विषयहरूको कूटनीतिक समाधान खोज्ने तथा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र गतिशील बनाउँदै लैजाने नेपाली काङ्ग्रेसको स्पष्ट र अविचलित दृष्टिकोण रहँदै आएको छ । तर प्रधानमन्त्री, प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध विशेषगरी सिमाका विषयमा जसरी वर्तमान प्रधानमन्त्रीज्यूले प्रस्तुत हुने गर्नुहुन्थ्यो । यसभन्दा अगाडि उहाँको प्रस्तुति अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिको रूपमा हामीले लिएका थियौँ । लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो । राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो । त्यो कुरा जब कूटनीतिक संवादमार्फत त्यही विषयलाई निर्णायक रूपमा उठाउने अवसर उहाँले प्राप्त गर्दा, ती विषयहरू नउठ्दै गरेको यो स्थितिले हिजो हामीले गरेको अनुमान आज पुष्टि भएको अवस्था छ । त्यसैले उक्त विषयलाई प्रवेश नै नगराई फर्कनुले उहाँको दोहोरो चरित्र उदाङ्गो भएको छ । कथनी र करनीबीचको यो विरोधाभास आफैँमा विडम्बनापूर्ण छ । त विडम्बनापूर्ण त छँदै छ, सँगसँगै यसले कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वतालाई पनि उजागर गरेको हाम्रो ठहर छ ।’

उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भएपनि सीमा लगायतका संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको बताए । यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको बताए ।

उनले प्रधानमन्त्री भारत भ्रमणका क्रममा भएका कतिपय सहमतिहरू सकारात्मक रहेकोले त्यसलाई कार्यन्वयनमा ल्याउन जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री शाहको काँग्रेसद्वारा आलोचना