असंगठित क्षेत्रका तीन मजदुरलाई राहत हस्तान्तरण

बागलुङ्ग । बागलुङ नगरपालिका बागलुङले असंगठित क्षेत्रका तीन मजदुरलाई राहत प्रदान गरेको छ । बन्दाबन्दी (लकडाउन) को कारण दैनिक जीवन निर्वाहमा परेका तीन परिवारलाई नगरपालिकाले एक लाख ८० हजार रुपैयाँ नगर हस्तान्तण गरेको हो ।

नगरपालिकाले बागलुङ नगरपालिका–७ तितौरेकी पुष्पा कार्कीलाई एक लाख, बानपा–९ तित्याङकी टिकादेवी शर्मा र बानपा–९ तित्याङ गुरुङडाँडाका अमरबहादुर थापालाई ४० हजार रुपैयाँ प्रदान गरेको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

राहत पाउने पुष्पा कार्कीका श्रीमान गत फागुन १३ गते रुख काट्ने मजदुरी गर्न जाँदा रुखले च्यापेर मृत्यु भएको थियो । घर मुलिको मृत्यु भए पछि परिवारका आर्थिक संकट बढेपछि दैनिक जीवन निर्वाहमा समस्या भएको थियो । कार्कीको परिवारमा दुई छोरा र एक छोरी रहेका छन् ।

टिकादेवी शर्माका श्रीमान शिवचन्द्र शर्मा फागुन १० गते दाउरा काट्न जाने क्रममा लडेर दुवै खुट्टा फ्याक्चर भएको थियो । घरमुली बिरामी परेर थला परेपछि शर्मा परिवारमा पनि दैनिक जीवन यापनमा संकट सृजना भयो । कृषी पेसामा संलग्न शर्मा परिवारले तरकारी तथा दुध बिक्रीबाट परिवार चल्दै आएको थियो ।

‘घरको मुख्य मान्छे चार महिनादेखि विस्तारामा हुँदा दैनिकी चलाउन समेत गाह्रो भएको छ’ टिकादेवी शर्माले भनिन्–‘गोठमा भएका तीन वटा दुहुनो भैसी पनि उपचार खर्चको लागि बेचियो, बारीमा तरकारीको विरुवा लगाउन पनि सकिएको छैन ।’ यसअघि शर्मा परिवारले दैनिक २५ लिटर दुध विक्री गर्दै आएको थियो । अहिले गोठमा एउटा मात्रा भैसी रहेको छ ।

राहत प्राप्त गर्ने अमरबहादुर थापा दुई वर्ष अघि सिगानाको सृजना फर्निचरमा मुढा चिर्ने क्रममा दुर्घटना हुँदा एउटा हात काटिएको थियो । गरी खाने हात नै काटिएपछि थापालाई मजदुरीमा समस्या भएको छ । असंगठित क्षेत्रका मजदुरलाई राहतको लागि नगरपालिको प्रयास गरेको नगर प्रमुख जनकराज पौडेलले बताए । असंगठित क्षेत्रमा काम गर्दा भएको समस्यालाई स्थानीय सरकारले सम्बोधन गरेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा