लन्डन । इग्लिस प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानका लागि चेल्सीको पक्कड बलियो बनेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले रेलिगेसनमा धकेलिएको नरिच सिटीलाई पराजित गरेसँगै उसको तेस्रो स्थानका लागि पक्कड बलियो बनेको हो ।
३६ खेलबाट ६३ अंक जोडेको चेल्सी चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडभन्दा ४ अंकले अगाडि छ । जितसँगै चेल्सीले जारी लिगमा दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको पक्कड बलियो पारेको हो । तर लेष्टर र म्यान्चेस्टर युनाईटेडले एक खेल खेल्न बाँकी छ ।
तेस्रो स्थानमा रहेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने अभियानमा रहेको चेल्सीले यो सिजन प्रिमियर डिभिजनबाट नरिच सिटीमाथि १–० को साँघुरो जित निकालेको हो ।
नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।






