काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पूरा भयो । यही बीचमा नेपाल प्रहरीका दुई जना प्रहरी प्रमुख (आइजिपी)ले अवकाश पाए । तर, १० साउन २०७५ मा बलात्कार पछि हत्या गरिएकी निर्मलाको हत्यारा अझै भेटिएको छैन ।
तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालले हत्यामा संलग्न रहेका मुख्य अभियुक्त पक्राउ परिसकेको भनेर प्रहरी प्रमुख रहँदा बोल्नै भ्याए । उनी सो प्रकरणमा धेरै विवादितसमेत बने । तर, आफ्नो कार्यकालमा उनले हत्यारा पत्ता लगाउन सकेनन् ।
उनी प्रहरी प्रमुख हुँदा दिलीपसिंह विष्टलाई दोषी ठहर गरिएको थियो । घटना भएको २४औं दिन अर्थात् ४ भदौ २०७५ मा प्रहरीले विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । तर, डिएनए परीक्षणको अनुसन्धानले विष्टलाई निर्दोष देखाएपछि उनी छुटेका थिए । विष्ट निर्दोष रहेको भन्दै कञ्चनपुरमा आन्दोलन उठ्दा भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय किशोर सन्नी खुनाको ज्यानसमेत गएको थियो । त्यसबखत सो घटनामा परी १२ जनाभन्दा बढी घाइते भएका थिए ।
गृह मन्त्रालयले सो घटनाको अनुसन्धानका लागि भन्दै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको समितिले निर्मलाको अन्यत्रै सामूहिक बलात्कार भएर उखुबारीमा लगेर शव फालिएको निष्कर्षसमेत निकालेको थियो । प्रतिवेदनमा प्रहरीले अनुसन्धानमा चरम लापरबाही गरेको भनिएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि पनि घटनाको अनुसन्धानका लागि कञ्चनपुर पुगेका थिए । आयोगले डिएनए परीक्षणको विधि नै सही नभएको निष्कर्ष निकाल्यो । यस बीचमा सो घटना निकै विवादित भयो ।
खनालपछि प्रहरी प्रमुख बनेका ठाकुर ज्ञवालीले समेत निर्मलाको हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिबद्धता जनाए । उनले पनि अवकाशमा जाँदै गर्दा त्यतातर्फ समय नै नपुगेको भनेर टारे । उनले आफ्नो कार्यकालमा सो घटनाको फाइल नै खोलेनन् ।
दुई वर्षमा दुई आइजिपी फेरिँदा पनि पत्ता नलागेको निर्मला बलात्कार तथा हत्या काण्डका मुख्य अभियुक्त पत्ता लगाएरै छाड्ने प्रतिबद्धता हालै महानिरीक्षक बनेका शैलेश थापा क्षत्रीले पनि गरेका छन् ।
थापाले केही दिनअघि सो घटना’bout तीन जना डिआइजीसँग छलफलसमेत गरेको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार प्रहरी महानिरीक्षक थापाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख डिआइजी सहकुल थापा र सिआइबीकै पूर्वप्रमुख समेत रहेका डिआइजी (हालै एआइजी बढुवा सिफारिस) निरज शाहीसँग घटना’bout छलफल गरेका हुन् ।
प्रहरी स्रोतका अनुसार सो छलफलमा विभिन्न आर्थिक वर्षमा भएका र टुंगोमा पुग्न बाँकी घटना’bout प्रहरी महानिरीक्षक थापाले चासो राखेका थिए । सो क्रममा निर्मला बलात्कार तथा हत्या प्रकरण प्रहरी संगठनको छविसँग जोडिएकाले निष्कर्षमा पु¥याउनुपर्ने पक्षमा महानिरीक्षक थापा रहेका छन् ।
सो घटनामा प्रमाण संकलनकै क्रममा प्रहरीबाट नै त्रुटि भएको आरोप लाग्ने गरेको छ । घटनाको अनुसन्धानका लागि बनेका विभिन्न समितिले समेत सोही निष्कर्ष निकालेका छन् ।
घटनाको अनुसन्धानका लागि यसअघि सिआइबी र प्रहरी महानिरीक्षकको सचिवालयबाट समेत विशेष टोली खटाएको भनिए पनि प्रहरीतर्फबाट घटनाको निष्कर्षतर्फ कुनै उपलब्धि भएको छैन । प्रहरीका तर्फबाट घटनाको अनुसन्धानका लागि पठाइएका समिति नै धेरै पटक फेरबदल भइसकेका छन् । हत्याको अनुसन्धानमा गएका प्रहरीहरूसमेत यस बीचमा अनुसन्धनको दायरामा तानिएका छन् भने उनीहरूविरुद्ध नै उल्टै मुद्दा चलेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी (हालै एआइजी बढुवा सिफारिस) निरजबहादुर शाहीले निर्मला हत्या प्रकरण अनुसन्धानको नियमित प्रक्रियामा नै रहेको बताए ।
‘सो घटना अहिले पनि अनुसन्धानको नियमित प्रक्रियामै छ, अनुसन्धानकै क्रममा रहेका कारण सबै पाटोबाट कामहरू भइरहेका छन्,’ प्रहरी प्रवक्ता शाहीले राजधानीसँग भने ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले यस बीचमा १२ जनाभन्दा बढीलाई अनुसन्धानमा तानिसकेको छ भने १ हजारभन्दा बढीको कल डिटेल प्रहरीले हेरिसकेको छ । तर, कसले, कसरी र किन हत्या गर्याे भन्ने गतिलो प्रमाण भेटिएको छैन ।
दुई वर्षअघि आजकै दिन अर्थात् ११ साउनमा घरनजिकैको उखुबारीमा निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
अरू आमालाई यस्तो पीडा नहोस्
दुर्गादेवी पन्त (निर्मलाकी आमा)
घटना भएको दुई वर्ष भयो । प्रहरी अनुसन्धान गरिरहेका छौं भन्छ । अहिले के भएको छ भन्ने नै थाहा छैन । शनिबार प्रहरी चौकी गएकी थिएँ, एसपीसाबसँग भेट भएन । प्रहरीहरू घरमा पनि आइरहन्छन् । हिजो अस्ति पनि आएका थिए ।
मैले जसलाई शंका लागेर जाहेरी दिएकी छु, त्यता प्रहरी किन लाग्दैन ? अरू चेलीलाई यस्तो नहोस् । अरू आमाले यसरी सन्तान गुमाउनु नपरोस् । यस्तो पीडा भोग्नु नपरोस् । मैले दिलीपमाथि नै शंका लागेर जाहेरी दिएकी छु । कि त उसलाई समात्नुप¥यो कि त यो हो हत्यारा भन्ने देखाइदिनुप¥यो ।
अब मेरी छोरी फिर्ता आउने त होइन । मलाई केही चाहिएको पनि छैन । घर बिग्रियो । छरछिमेक सबै बिग्रियो । आफन्त टाढिए । एक्लोभन्दा पनि एक्ली भएकी छु । नगरपालिकामा ज्यालादारीको जागिर छ । जागिरको पनि भर छैन । मजदुरी गर्छु । मलाई मेरी छोरीको हत्यारा खोज्ने अधिकार छैन ? सबैले हेप्छन् । मलाई दिलिपमाथि नै शंका छ । उसैमाथि जाहेरी दिएकी छु । तर, प्रशासन सुन्दैन । मलाई झन् पीडामाथि पीडा किन दिने ? तपाईंहरू पनि प्रशासनलाई दबाब दिनुस् । मेरो कुरा प्रधानमन्त्रीलाई सुनाइदिनुस् । हामीलाई न्याय दिनुस् । छोरीले न्याय पाओस् । मलाई अरू केही चाहिएको छैन ।
(निर्मला पन्तकी आमा दुर्गादेवी पन्तसँग भएको फोन संवाद)






