इटहरी । इटहरीमा चोरी डकैती गर्ने गिरोहहरु सक्रिय भएका छन् । ईलाका प्रहरी कार्यालय इटहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै इटहरीमा चोरी डकैती गर्ने गिरोहहरु सक्रिय भएको जनाएको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीका अनुसार गत शुक्रवार एक जना वृद्धलाई सार्बजनिक बसमा नै लुटपाटमा संलग्न रहेका गिरोहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
शुक्रबार धरान ८ सिद्धकाली चौकका ५७ वर्षीय डम्बर प्रसाद बास्तोला इटहरीको पूर्वी बस स्टेनमा सामूहिक रुपमा लुटिएका थिए । बास्तोलाको साथबाट नगद ९७ हजार ६ सय रुपैँया ६ जनाको समूहले चोरी गरेको भण्डारीले बताए । उनले भने, ‘एकजनालाई सोही दिन त्यही ठाउँबाट पक्राउ गर्यौँ, अरु बाँकी तीनजनालाई भने विभिन्न सार्बजनिक सवारीमा फलोअप गर्ने क्रममा पक्राउ गरेका हौँ ।’ ६ जनाको समूह सक्रिय रहेको भएपनि अन्य दुईजना भने फरार रहेका छन् । पक्राउ पर्नेमा काभ्रे रोसी गाउँपालिका वडा नं. ३ का ३६ बर्षीय जीतबहादुर श्रेष्ठ, वडा नं. ५ का चिउनी भनिने २२ बर्षीय युवराज लामा, काभ्रे भुङ्लो गाउँपालिका वडा नं. ८ का ३२ बर्षीय सुजन तामाङ र तिमाल गाउँपालिका वडा नं. २ धुँवाकोट बस्ने २६ बर्षीय कमल लामा रहेको डीएसपी भण्डारीले बताए । उनका अनुसार अनुप क्षेत्री र शंकमान लामा भने फरार रहेका छन् ।
पक्राउ परेका गिरोहको साथबाट नगद १२ हजार ९ सयसहित एक–एक थान मोबाईल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । ‘यीनिहरु डिजाईन गरेर नै चोरी गर्ने मानिस हुन्,’ भण्डारीले भने, ‘गत ८ गते टाटा सुमो रिजर्भ गरेर काठमाडौँबाट यता आएका रहेछन् ।’ उनले रणनीति हिसाबले नै चोरी गर्ने गिरोह रहेको र उनीहरु पेशेबर चोर रहेको बताए । भने, ‘यहाँ मध्येका केहीलाई यसअघि सात पटकसम्म चोरी केसमा मुद्धा दायर भएको रहेछ, यीनिहरु चोरी गरेरै जीविकोपार्जन गर्ने गिरोहरु हुन् ।’
पूर्वी नेपालमा पछिल्लो समय काठमाडौँबाट आएर चोरी गर्ने गिरोह सक्रिय भएको भण्डारीको तर्क थियो । चोरीमा संलग्न मानिसहरु अभद्र व्यवहारमा पनि मुद्धा दायर भईसकेकाले उनीहरु डिजाईन गरेरै चोरी गर्ने रहेको भण्डारीले जानकारी दिए । सुनसरी, मोरङ र झापा लगायतका जिल्लामा चोरी, लुटपाट तथा पकेटमारी गर्ने गिरोह काठमाडौँबाट आउँने गरेकाले सचेत रहन भण्डारीले आग्रह गरे ।
पक्राउ परेका तीनजनालाई भने प्रहरीले धरान जाने क्रममा आईतबार इटहरी २० तरहराबाट पक्राउ गरेको थियो । ‘म आँफै उनीहरुलाई पक्राउ गर्नका लागि अनुसन्धान गरेर सिभिलमा खटिएको थिएँ,’ डीएसपी भण्डारीले भने, ‘अन्य दुले चोरहरु पनि सक्रिय रहेकाले हामीले अहिले विभिन्न टोलीलाई खटाईरहेका छौँ ।’ उनका अनुसार इटहरीमा अन्य दुले चोर पनि रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘कसैको खसी, बाख्रा नै पनि चोरी भएका केसहरु पनि आएका छन्,’ उनले भने, ‘कसैको घरमै पसेर मोबाईल, कलको मटर पनि चोरी हुने गरेको कुराहरु पनि आएकाले हामी यस सम्बन्धमा गम्भीर छौँ ।’






