काठमाडौं । नेपाली युवा ब्याडमिन्टन खेलाडी सानिया चन्दले युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको एयर ब्याडमिन्टन च्याम्पियनसिपअन्तर्गतको महिला एकलतर्फको उपाधि जितेकी छन् ।
बिहीबार राति काइटबीच दुबईमा भएको फाइनलमा सानियाले भारतीय खेलाडी सान्द्रासातेसानलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । सानियाले पहिलो सेट ७–१५ ले गुमाए पनि त्यसपछिको दुवै सेटमा १५–११ र १५–९ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भइन् । सानिया दुबई स्पोर्ट्स काउन्सिलद्वारा आयोजित एयर ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेकी छन् ।
प्रतियोगितमा पुरुष एकल, पुरुष डबल्र्स, महिला एकल र मिक्स डबल्र्सका खेलहरू समावेश गरिएको थियो । विश्व ब्याडमिन्टन फेडेरेसन (बीडब्लूएफ) ले २०१९ मा एयर ब्याडमिन्टन प्रतियोगिता ल्याएको र यूएईमा पहिलोपटक भएको हो । एयर ब्याडमिन्टन हल बाहिर खुला ठाउँमा खेलिने खेल हो । यसका लागि विशेष आकृतिको रंगिन सेन्थेटिक सटल कक हुनेछ । नेपालमा यो खेल भित्रिसकेको छैन ।






