हरि पाण्डेले गरे ३ करोड ८० लाख बराबरको छात्रवृत्ति घोषणा

पोखरा । पूर्व मन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेले करिब ३ करोड ८० लाख बराबरको छात्रवृत्ति वितरण गर्ने घोषणा गरेका छन् ।

सोको लागि ३ करोड रुपैयाँ अक्षयकोषमा राखिने र ७९ लाख ५० हजार बराबरको छात्रवृत्ति आफ्नो जन्मभूमि पाल्पा र कर्मभूमि कास्कीमा वितरण हुनेछ ।

समाजसेवी पाण्डे अध्यक्ष रहेको मातृसेवा प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन् ।

सोमध्ये ३ करोड रुपैयाँ विभिन्न १२ नाममा २५/२५ लाख छुट्टाइएको छ । भगवान् शिव, नेपाल आमाकी महान् छोरी सीता, भगवान् कृष्ण, भगवान् बुद्ध, भौगोलिक रुपमा सिंगो नेपाल एकीकरण गराउने पृथ्वीनारायण शाह तथा योद्धाहरुका  नाममा छात्रवृत्ति घाेषणा गरेका छन् । भाषागतरुपमा सिंगो नेपाल उपलब्ध गराउने भानुभक्त आचार्य तथा साहित्यिक योद्धाहरु, हाम्रा महान् पुर्खा तथा शहीदहरु, भगवान् यशू ख्रीष्ट, भगवान् अल्लाह, मानव समानताका अभियन्ता तथा महान् दार्शनिक कार्ल माक्र्स, पृथ्वीमाता र ब्रह्माण्ड रम्भाको नाममा उनले देशभरबाट समेट्ने गरी विभिन्न विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने जनाएका छन् । सो अक्षयकोषबाट हरेक वर्ष करिब ४० जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यस्तै, उनी जन्मिएको पाल्पा जिल्लामा ४० लाख ५० हजार बराबरको ‘रम्भादेवी’ छात्रवृत्ति वितरण भैसकेको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा वितरित सो छात्रवृत्ति पाल्पाका ८१ वटा वडा समेट्ने गरी ९२ जनालाई गत फागुनमा वितरण गरिएको हो ।

यता, उनको कर्मभूमि कास्कीमा ‘कर्मभूमि’ नामको छात्रवृत्ति वितरण गरिनेछ । जिल्लाका सबै वडाबाट एक–एक जना समेट्ने गरी जनही ५० हजार दरले ३९ लाख रुपैयाँ छुट्टाइएको पाण्डेले जानकारी दिए ।

जीवनलाई फरक ढंगले परिभाषा गर्ने उद्योगी पाण्डेले विगतदेखि नै विभिन्न नाममा छात्रवृत्ति वितरण गर्दै आएका छन् । सो छात्रवृत्तिबाट हालसम्म ४ सय २६ लाभान्वित भैसकेका छन् ।

जसअनुसार १ सय ४० जनाले प्राविधिक विषयअन्तर्गत ग्राजुयट तहमा पूर्ण र आंशिक छात्रवृत्ति पाएका छन् । जसमा विभिन्न इञ्जिनियरिङ, कृषि र वनमा गरी ८२ जनाले पूर्ण र ५८ आंशिक प्राप्त गरिसकेका हुन् ।

यस्तै, उनकी छोरी डा. शान्ति पाण्डेको स्मृतिमा १ सय ९४ जनाले नर्सिङ लगायत स्वास्थ्यसम्बन्धी शिक्षा प्राप्तिका लागि छात्रवृत्ति पाएका छन् भने पाल्पामा नन–ग्रायजुयट प्राविधिक विषयमा ९२ जना गरी कुल ४ सय २६ जनाले पूर्ण तथा आंशिक छात्रवृत्ति प्राप्त गरेका हुन् । अब कास्कीमा सहित छात्रवृत्ति प्राप्त गर्नेको संख्या ५ सय ४ हुनेछ ।

पाल्पाली समाज पोखराको व्यवस्थापनमा भएको सो समारोहमा उनले लेखेको पुस्तक ‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’ पुस्तक विमोचन गरियो । ६ सय २४ पृष्ठ लामो सो पुस्तकको उनकी माता शिवकुमारी पाण्डेले सार्वजनिक गरिन् । ६ अध्याय रहेको सो पुस्तकमा उनले नेपालले आफ्नै सम्भावना प्रयोग कसरी समृद्धि प्राप्त गर्न सक्छ र मानव भइसकेपछि आफ्नो कत्र्तव्य पूरा गर्न के गर्नुपर्छ भन्ने’bout मिहिन ढंगले व्याख्या गरेका छन् ।

पूर्व उद्योग तथा जलस्रोत राज्यमन्त्री पाण्डे पोखरामा वरिष्ठ उद्योगपतिको रुपमा चिनिन्छन् । २०३५ सालमा पोखरा झरेका उनले हालसम्म १९ वटा व्यवसाय कम्पनीमा संलग्न हुँदै अनुभव प्राप्त गरेका छन् ।
गरिबी, असमानता तथा अपमानबाट मुक्तिको लागि समाधान बताउने पाण्डेले सकेसम्म स्वदेशी बस्तुको प्रयोग गर्ने, सकेसम्म बढी प्रतिफलयुक्त कार्यमा संलग्न हुने र सकेसम्म कम खर्चमा जीवनयापन गर्ने कुरा प्रयोगमा ल्याउँदै आएका छन् ।

सो क्रममा पाण्डेले गत चैतमा निधन भएका आफ्ना पिता स्व. खिमानन्द पाण्डेप्रति गहिरो स्मरण गरे । मातृसेवा प्रतिष्ठान नेपालका उपाध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएकोे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरे लगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 941 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम