संखुवासभा । संखुवासभा खाँदबारी नगरपालिका–१ बाट तास खेल्दै गरेका अवस्थामा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । खाँदबारीको वान्समोरमा होटलमा तास खेलिरहेका वडा सदस्यसहित चार जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।
प्रहरीले बिशेष सूचनाको आधारमा चिचिला गाउपालिका–३ वडा सदस्य आशिस राई, मकालु गाउँपालिका–१ का लाक्पा शेर्पा, चैनपुर नगरपालिका–२ मिङ्मा शेर्पा र होटल सञ्चालक सुनिल कुमार श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नगद ४४ हजार दुई सय पाँचसहित पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय संखुवासभा बाट जुवा मुद्दामा दिन ७ म्याद थप गरेर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । वान्समोरका होटल सञ्चालक श्रेष्ठ यसअघि पनि दुई पटक पक्राउ परिसकेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई साउन १४ गते खाँदबारीबाट पक्राउ गरेको थियो ।






