लिदी पहिरो : स्काभेटर प्रयोग नगरी बेपत्ता खोज्न कठिन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरामा परेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या आएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले पहिरो गएको दिन (शुक्रबार)बाटै बेपत्ताको खोजीकार्यलाई तीव्रता दिए पनि हाते औजार प्रयोग गरेर मात्रै बेपत्ताहरू भेटिने सम्भावना कम हुँदै गएको छ ।

बेपत्ताको खोजीका लागि आइतबारबाट स्काभेटर प्रयोग गरिने भएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५-१५ र नेपाली सेनाका २५ जना खोजबिनमा सक्रिय छन् । नेपाली सेनाले शनिबार हेलिकोप्टरमार्फत थप ३५ जनालाई पहिरो स्थलमा पठाएको छ । गाउँपालिकासँग समन्वय गरेर स्काभेटर लगेर पहिरो पन्छाएर बेपत्ताको खोजी गरिने प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहानसम्म पहिरो स्थलमा स्काभेटर पुग्ने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।पहिरामा पुरिएकामध्ये शनिबार बेलुकीसम्म १८ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरामा परी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, आठ वर्षीय मिलन दोङ, ५ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीयादावा लमु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ वर्षीया तारालामु दोङ, ३४ वर्षीया धनमाया दोङ र चार महिनाकी रेमिश दोङको सनाखत भएको छ ।

त्यस्तै, पहिरामा पुरिएका १६ वर्षीय मेकमाइ दोङ, ११ वर्षीय च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सात महिनाका कविर दोङको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरामा अझै २० जना हराइरहेका छन् । सुरुमा ३८ मात्रै बेपत्ता भनिए पनि थप एक जना पनि बेपत्ता भएको परिवारले जानकारी गराएपछि मृतक र बेपत्ताको संख्या ३९ पुगेको छ । पहिरामा हराएकामध्ये १६ को सनाखत भइसकेको छ ।
शव फेला परेकाको शनिबार नै बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ । ‘लामा गुरुहरू पूजापाठमा हुनुहुँदो रहेछ, फेला परेकाहरू सबैको आजै सदगत गरिने स्थानीयले जानकारी गराएका छन्,’ घटनास्थलमा रहेका प्रदेश सांसद सरेश नेपालले भने ।

मृत्यु हुने र बेपत्ता हुने सबै दोङ (तामाङ) रहेका छन् । सामान्य कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

प्रदेश सरकारले घर बनाइदिने
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल जुगल गाउँपालिका–२ लिदीका पहिरोपीडितलाई राहतलगायत अन्य आवश्यक सामग्री लिएर पहिरो स्थलमा पुगेका छन् ।

मुख्यमन्त्री पौडेलसहितको टोलीले नेपाली सेनाको हेलिकोप्टेरमा दाल, चामल, स्वास्थ्य सामग्री, अस्थायी शौचालय, खानेपानीलगायतका सामग्री लिएर पहिरो स्थलमा पुगेको बाग्मती प्रदेशका सांसद सरेश नेपालले जानकारी दिए ।
मुख्यमन्त्री पौडेलसहित बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ, बाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाललगायतको पीडितहरूलाई राहत सामग्री प्रदान गरेका थिए ।

पहिरोपीडितलाई तत्काल अस्थायी आवास बनाएर राखिदिने र वर्षापछि प्रदेश सरकारले पीडितको घर बनाइदिने मुख्य मन्त्री पौडेलले प्रतिबद्धता गरे । वर्षापछि जिल्लामा सबै सरोकारवालासँग छलफल गरेर लिदीलगायत जिल्लाका अन्य जोखिम बस्तीलाई स्थानान्तरण गर्न प्रदेश सरकारले काम सुरु गर्ने प्रतिबद्धता गरेका छन् ।

मुख्यमन्त्रीसँगै रहेका यस क्षेत्रका प्रदेश सांसद सरेश नेपालले पीडितहरूलाई दीर्घकालीन रूपमा र दिगो समाधान हुने गरी बस्ती स्थानान्तरणलगायत अन्य सबै काम गरिदिने बताएका छन् ।

प्रदेश सरकारले भूमि आयोगसमेत गठन गरिसकेकाले जग्गा खोजेर असुरक्षित रूपमा बसोवास गरिरहेकालाई स्थानान्तरण गरिने नेपालले बताए । अहिले पीडितको सुरक्षा र दैनिकी चलाउन स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले राहतको प्याकेज ल्याउने तयारी गरेको अर्थ तथा विकास समितिका सभापतिसमेत रहेका यस क्षेत्रका प्रदेश सांसद नेपालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 516 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना