संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको आइसोलेसनको स्वास्थ्य तोडफोड भएको छ । बिहिबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेसनको सामग्री गएराति तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ ।
हिमालय क्याम्पसमा रहेको आइसोलेसन तोडफोड र चोरी हुदाँ १५ लाखका स्वास्थ्य सामग्रीमा क्षति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन सुन्दरश्याम झाले जानकारी दिए । जिल्ला अस्पतालले हिमालय किरण क्याम्पसमा १० बेडको आइसोलेसन सेण्टर निर्माण गरेको थियो । उक्त आइसोलेसन गएराति तोडफोड गर्नुका साथै स्वास्थ्य सामग्री समेत हराएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेड झाले बताए । जिल्ला अस्पतालले करिब १५ लाख रुपैयाँभन्दा बढीको सामग्रीहरू तोडफोेड र चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दिएको छ ।
अस्पतालका प्रशासनका अनुसार आइसोलेसन बाट करिब १५ लाखबराबरको सामग्री चोरी भएको छ । अज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिपिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडर लगायतका सामग्री चोरी भएको अस्पतालले जनाएको छ । अस्पतालले करिब पाँच महिनाअगाडि सहमतिमा नै क्याम्पसमा आइसोलेसन निर्माण गरिएको थियो । तर, गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो । क्याम्पस प्रशासन र स्थानीयले जोखिम बढ्ने भन्दै आइसोलेसन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठक गरिएको थियो । उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेसन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले असहमति जनाएको थियो ।
आइसोलेसन तोडफोड गर्न ब्यक्ति अहिले सम्म कोही पनि पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिए । सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुष समेत कोरोना पुष्टिमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुलाई बिहीबार क्याम्पसमा निमार्ण भएको आईसोलेसनमा ल्याउने भएपछि स्थानीयले विरोध जनाउँदै आएका थिए । अहिले कोरोना संक्रमित ३ जना विरामीको हिमालय क्याम्पसमै उपचार गरिरहेको अस्पतालका प्रशासन जनाएको छ । तोडफोडपछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको छ । कोरोना पुष्टि भएको ४ दिन पछि मात्र उनिहरुलाई आइसोलेसनमा राखिएको हो । प्रहरीले चोरी र तोडफाडमा संलग्नको खोजी गरिरहेको जनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।






