यी हुन् पत्रकारका नेता, समस्यामा परेकालाई घरमै चामल पु-याउदै छन्

इटहरी । दाह्री, कपाल सेतै फुलेका । हँसिलो अनुहार, आईतबार इटहरीमा एक बृद्ध चामलको बोरा बोकेर गाडीमा लोड गर्दैथिए । लगातार उनले चामल, दाल लगायतका खाद्यान्न बोक्दै गाडीमा लोड गरिरहेका थिए । उनी हुन् – इटहरी ९ का कृष्ण अधिकारी । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व सभापति तथा प्रेस युनियन सुनसरीका पूर्व सभापति समेत रहेका अधिकारीले आईतबार खाद्यान्न अभावमा रहेका पत्रकारको घर–घरमा आफैँ चामलको बोरा बोकेर पु-याए ।

‘प्रेस युनियन सुनसरीले खाद्यान्न अभावमा रहेका पत्रकारहरुका लागि फुड बैँक अभियान सञ्चालन गरेको थियो, सोही अभियानलाई पूर्णता दिन पत्रकारको घरमै हामीले खाद्यान्न पुर्याईरहेका छौँ,’ फुड बैँकका संयोजक समेत रहेका अधिकारीले राजधानीसँग भने, ‘पत्रकारहरुसँगै खाद्यान्न लिएर, पत्रकारहरुलाई नै हामीले दिएका छौँ, यो अभियान अन्र्तगत पहिलो चरणको सहयोग समापन पनि गरिएको छ ।’ दुहवीका एक कोरोना संक्रमित पत्रकारको घरमा पुगेरै खाद्यान्न वितरण गरिएको छ । अहिले कोरोना संक्रमितलाई समाजले नै दूर–दूर गरिरहेको अवस्थामा पत्रकारको हकहितमा काम गर्दै अधिकारी आफैँ चामलको बोरा बोकेर ती पत्रकारको घरमा खाद्यान्न पु-याईदिएका छन् । पत्रकार निको भएर रोजगारीमा फर्किएको अवस्थासम्म प्रेस युनियन सुनसरीले खाद्यान्न सहयोग गर्ने उनले बताए ।

सहयोग गर्ने पत्रकारको नाम सार्वजनिक गरिएपनि सहयोग लिनेको नाम भने गोप्य राखिएको छ ।  लकडाउनका कारण कोही पनि पत्रकार भोकै बस्न नदिनका लागि याे अभियान सञ्चालन गरिएको हाे 

उनका अनुसार पहिलो चरणको सहयोग जिल्लामा रहेर सञ्चारकर्म गर्दै आएका, अभावमा रहेका सञ्चारकर्मीहरुलाई वितरण गरिसकिएको छ । सुनसरीको इटहरी, धरान, झुम्का, दुहवी लगायतका ठाउँमा रहेर समाचार सम्प्रेषण गर्दै आएका खाद्यान्न अभावमा रहेका चार दर्जन बढी पत्रकारहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

अधिकारी ६५ बर्षका पुगे । तर, यो उमेरमा पनि उनी पत्रकारको हकहितका लागि सक्रिय छन् । चाहे इटहरीमा होस् वा धरानमा, कतै पत्रकारलाई समस्या परे उनी तुरुन्त पुगिहाल्छन् । सानै उमेरदेखि पत्रकारिता गरेका अधिकारीको यो सक्रियता अहिले पनि उस्तै छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले सहयोग गर्ने पत्रकारको नाम सार्वजनिक गरिएपनि सहयोग लिनेको नाम भने गोप्य राखिएको बताए । उनले लकडाउनका कारण कोही पनि पत्रकार भोकै बस्न नदिनका लागि उक्त अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार २५ केजी बोराको चामल, दुई केजी दाल, दुई केजी चिनी, न्यूटला लगायतका खाद्यान्न पत्रकारहरुका लागि वितरण गरिएको छ । यहाँका विभिन्न सञ्चारमाध्यममा आबद्ध एक दर्जन बढी पत्रकारहरुले सहयोग गरेका थिए । सुनसरीमा पत्रकार महासंघमा २ सय ६० भन्दा बढी पत्रकारहरु रहेका छन् । जसमध्ये चार दर्जन बढी पत्रकारहरु घर भाडामा बस्न बाध्य रहेको र बेतलबी बिदामा रहेकाले समस्या रहेको भन्दै उनीहरुको समस्या चिर्नका लागि उक्त अभियान सञ्चालन गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ