इलाम । बेलै नभई ‘ग्रिन किवी’ को बेचविखन बढेपछि त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन थालिएको छ । खानको लागि योग्य नभएको किवी किनबेच गर्दा उपभोक्ता ठगिने र किवीको बजार समेत खस्किने भएपछि कलिलो किवीको बेचखिवनलाई निरुत्साहित गर्नका लागि बजार अनुगमन थालिएको । इलाम र पाँचथरको सीमावर्ती क्षेत्रमा रहेको राँके बजार र नेपालटारका फलफूल पसल र सूर्योदय नगरपालिकाको फिक्कल बजार अनुगमन गरिएको छ ।
कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि अनधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई, जिल्ला प्रशासन कार्यालय, सूर्योदय नगरपालिका, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्यसंघका प्रतिनिधिले बजार अनुगमन गरेका हुन् । खानको लागि अयोग्य किवी बजारमा आएपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारी स्तरबाट पहिलो पटक अनुगमन गरिएको कृषि ज्ञान केन्रदा इलामका निमित्त प्रमुख टोनी वर्देवाले बताए ।
बजारमा काँचो किवीको बेचविखन बढेपछि यसअघि विभिन्न सरोकारवालाको बैठकले अपरिपक्व किवी टिप्ने र विक्री गर्ने किसानलाई कृषि सम्बन्धि अनुदानबाट कटौती गर्ने निर्णय गरेको थियो । अहिले बजारमा रेड किवी पाइन्छ । रेड किवी भदौतिरै खान योग्य हुने भएपनि यसको उत्पादन जिल्लामा एकदमै न्युन छ । इलाममा भएको रेडकिवी विक्री भइसकेको छ । इलामको सूर्योदय, सन्दकपुर, देउमाई, माइजोगमाइका किसानले नछिप्पिदै किवी टिप्न थालेका छन् । त्यसलाई रोक्न सरोकारवालाले सन्देश प्रवाह गर्ने, अनुगमन गर्ने लगायतका काम थालेका हुन ।






