काठमाडौं । अघिल्लो एल्बम दर्शन नमस्तेको चारवटै संग्रहका गीतहरूले सफलता पाएपछि गायक राजेश पायल राईले अहिले ‘दर्शन नमस्ते–५’ श्रोतामाझ ल्याउने तयारीमा छन् ।
यो गीतिसंग्रह उनले १४ असोजमै ल्याउने तयारी गरेका थिए । तर, कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान रोकिएपछि उनी गीत रेकर्डका लागि मुम्बई जान सकेनन् । अब जहाज खुलेपछि मुम्बई गएर गीत रेकर्ड गर्ने र यही दसैंतिहारको अवसरमा दर्शन नमस्ते–५ दर्शक–श्रोताबीच ल्याउने उनले बताएका छन् ।
बुधबार आफ्नो जन्म दिन मनाउँदै गर्दा गायक राजेश पायल राईले ‘दर्शन नमस्ते–५’ गीतिसंग्रहको घोषणा गरेका छन्, ‘यो गीतिसंग्रह यसपालि आफ्नो जन्मदिनमै ल्याउने तयारीमा थिएँ । कोरोना संक्रमणका कारण यो मितिमा तयार भएन तर अर्को महिनासम्म बजारमा ल्याउने तयारीमा छु ।’
यो संग्रहका लागि उनले पाँचवटा गीतको कम्पोजसमेत तयार गरिसकेका छन्, ‘संग्रहका लागि यसपटक पनि पाँचवटा गीत तयार गरिसकेको छु । दर्शन नमस्ते मेरो विशेष एल्बम भएकाले यसमा रहने गीत मुम्बईमै पहिलादेखि नै रेकर्ड गराउँदै आएको छु ।’ त्यसैले यसपटक पनि मुम्बई मै रेकर्ड गर्न लागेको उनले बताए ।
दर्शन नमस्ते–५ मा गायक राजेश पायल राईले एउटा गीत नेहा कक्कडसँग गाउँदै छन् । गीतका लागि नेहासँग फाइनल भइसकेको पनि उनले बताएका छन् । बाँकी चारवटा गीतमा गायक राजेश पायलकै स्वर रहने भएको छ ।
यो संग्रहका गीतमा वसन्त सापकोटा, अर्जुन पोखरेल, महेश खड्का, प्रवीण बराइली र सन्तोष राजको संगीत रहेको छ, ‘सबैले उत्कृष्ट संगीत दिनुभएको छ । म त संग्रहका सबै गीत प्रति आशावादी छु,’ राजेश पायलले भने ।
यसरी आफ्नो दर्शन नमस्ते शृंखलाको पाँचांै गीतिसंग्रह विशेष तयारीका साथ निकाल्न लागेको राजेश पायलले अरूका गीत पनि अहिले पनि गाइरहेका छन् । लकडाउनको अहिलेको अवस्थामा पनि आफूले विभिन्न गीतकार संगीतकारको गीत रेकर्ड गराइरहेको गायक राजेश पायल राईले बताए ।
‘निषेधाज्ञाको बेलामा स्टुडियोसमेत जान नसक्ने अवस्था आएकाले त्यतिबेला घरबाटै पनि गीत रेकर्ड गरेको अनुभव गायक राजेश पायलसँग छ । तर, पछिल्लो समय भने आफूलाई पूर्ण सुरक्षित राख्दै गीत रेकर्ड कार्य अघि बढाएको पनि गायक राईले जानकारी गराएका छन् ।





