काठमाडौं । फरवार्ड विमल रानाको २ गोल सहयोगमा डिफेन्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले राजधानीमा जारी नयाँ सिजनको कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङले विभागीय नेपाल एपीएफ क्लबमाथि २–० को जित निकाल्दै उपाधि रक्षा अभियान थालेको हो । मनाङको जितमा दुवै गोल बिमल रानाले खेलको पहिलो हाफमा गरेको थियो ।
अघिल्लो सिजन लिग जित्दाका अधिकांश खेलाडी टोलीमा नरहे पनि मनाङलाई बुधबार कुनै प्रभाव परेन । यो सिजन कप्तान विराज महर्जन, उपकप्तान सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, दीपक राई, हेमन गुरुङ, एडिलाजा सोमिडे, प्रवेश दनुवर र अफिज ओलावाले जस्ता स्टार खेलाडीले मनाङ छाडेका थिए । एएफसी कप दौरान लोनमा भित्रिएका अभिषेक रिजाल र देवेन्द्र तामाङलाई पनि क्लबले निरन्तरता दिन सकेका थिएनन् । उनीहरू प्रायः सबै मछिन्द्र क्लबमा अनुबन्धित भएका छन् ।
स्टार खेलाडीबिनै पनि मनाङले एपीएफविरुद्ध दबाबमा खेले पनि पाएको मौकालाई सदुपयोग गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भएको हो । खेलको सातौं मिनेटमा विमल रानाको फ्लिक प्रहार पोस्टबाट थोरै बाहिरिँदा मनाङ अग्रता लिनबाट चुकेको थियो । १५औं मिनेटमा एपीएफका कप्तान नवीन लामाको फ्रिकिकमा रमेश दंगालको प्रयासले पोस्टको दिशा लिन सकेन । लगत्तै १६औं मिनेटमा कप्तान नवीनको प्रहार पोस्टबाट थोरै बाहिरिँदा एपीएफ अग्रता लिनबाट चुकेको थियो । २८औं मिनेटमा जगजित श्रेष्ठको क्रसमा विमल रानाले हेडमार्फत उत्कृष्ट गोल गर्दै मनाङलाई अग्रता दिलाए । जगजितले मैदानको दायाँ भागको कर्नर छेउबाट दुई डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई विमलले सिक्स यार्ड बक्सभित्रबाट हेडमार्फत गोल गर्न सफल भएका थिए । विमलको दोस्रो पनि उत्तिकै उत्कृष्ट रहेको थियो । ३५औं मिनेटमा फ्लोरेन्ट कोर्वाले विपक्षीको एरियामा दुई खेलाडीलाई बिट गर्दै दिएको पासलाई विमलले पेनाल्टी बक्सबाट गरेको सशक्त प्रहार सिधै गोल हुँदा मनाङले अग्रता दोब्बर बनायो ।
विमलको प्रहार एपीएफका गोलरक्षक अमृत चौधरीले रोक्ने कुनै मौका नै पाएन । पहिलो हाफको अन्त्यतिर ४४औं मिनेटमा मनाङका दयानन्द सिंहको प्रहारलाई गोलरक्षक अमृत चौधरीले मुस्किलले बचाए । लगत्तै एपीएफका आशिष लामाले सुन्दर मौका खेर फाल्दा एपीएफ गोल अन्तर घटाउनबाट चुक्यो । दोस्रो हाफमा एपीएफले आक्रामक रणनीति अपनाउँदै मनाङलाई लगातार दबाबमा राखे पनि गोल गर्न असमर्थ रह्यो । दोस्रो हाफमा मनाङ रक्षात्मक रणनीतिमा अपनाउँदा एपीएफको पोस्टमा आक्रमण नै बुन्न सकेन । ७०औं मिनेटमा सुदीप शिख्रकारको पासमा मणि लामाको हेड पोस्टबाट थोरै बाहिरियो । त्यसअघि मनाङका गोलरक्षक दीप कार्कीले एपीएफको उत्कृष्ट बचाउ गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा मनाङ विजयी हुन सफल भयो ।
२ गोल गरेका मनाङका विमल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । जितपछि मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले ३ अंकमा सन्तुष्ट रहेको र सुधार्नुपर्ने ठाउँ धेरै रहेको बताए । ‘लिगमा अंकको महत्व हुन्छ । जितमा खुसी छौं । सोचेजस्तो भएको छैन । टिममा अझै सुधार्नुपर्नेछ ।’ खेलपछि प्रशिक्षक प्रजापतिले भने, ‘सात जना सिनियर खेलाडी छैन । हामीसँग भएको खेलाडीलाई फोकस गर्ने हो । उनीहरूको अभाव भएजस्तो लागेन । यही टिमबाट नै नतिजाको अपेक्षा गर्न सकिन्छ ।’ एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले फिनिसिङ नहुँदा हार भोग्नुपरेको बताए । ‘हामीले सुरुमै २ गोल खान पुग्यौं । तर, पनि हामीले पुनरागमन प्रयास ग¥यौं । फिनिसिङ नहुँदा हामीले अंक गुमायौं,’ खेलपछि प्रशिक्षक तामाङले भने ।
युवा खेलाडीलाई प्राथमिकतामा राखेर लिग खेलिरहेको घरेलु फुटबलको चर्चित र लोकप्रिय ललितपुरको रुस्लान थ्री स्टार क्लबले प्रभु जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको केही मौकालाई सदुपयोग गर्न सकेन । ११औं मिनेटमा जावलाखेलले अग्रता लिने सुन्दर मौका खेर फालेको थियो । सुजित बुढाथोकीको क्रस पासमा डिफेन्डर अनन्त तामाङ बिट भए पनि विजय घलानको प्रहारले पोस्टको दिशा लिन सकेन । १६औं मिनेटमा थ्री स्टारका रुपेश केसीको बक्सबाहिरको प्रहार गोलरक्षक टेकेन्द्र थापाले सहजै बचाए । २७औं मिनेटमा जवलाखेलका विजय घलानकै पासमा फोडे फोफानाको हेडर पोस्टबाट थोरै बाहिरियो । ३५औं मिनेटमा थ्री स्टारका कप्तान विक्रम लामाको फ्रिकिक गोलरक्षक टेकेन्द्रले मुस्किलले बचाउँदा थ्री स्टार अग्रता लिनबाट चुकेको थियो । ३८औं मिनेटमा मिक्छेन तामाङले बक्सभित्रबाट गोलको सुन्दर अवरसर खेर फाल्यो । उनको प्रहार बाहिरिएको थियो । दोस्रो हाफको सुरुवाती समयमा थ्री स्टारले थप आक्रामक खेले पनि गोल गर्न सकेन । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फरवार्ड विजय भुजेलले ६९औं मिनेटमा थ्री स्टारलाई अग्रता दिलाउनबाट चुके । सुशील राईको कटब्याकमा गोलरक्षक बिट भइसकेको अवस्थामा विजयले खाली पोस्टमा गोल गर्न सकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।






