लन्डन । इग्लिस प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लिभरपुल गएराति सम्पन्न खेलमा एस्टन भिल्लासँग ७–२ ले पराजित भयो । एस्टन भिल्लाको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ओली वाट्किन्सले ह्याट्रिक गरे । उनले मध्यान्तरअघि नै ह्याट्रिक पूरा गरेका हुन् । खेल सुरु भएको चौथो मिनेटमा नै लिभरपुरविरुद्ध उनले गोल गरेका थिए ।
खेलमा ज्याक ग्रिलिशले २ गोल गर्दा जोन म्गाक्गीन र रोस बार्क्लेले १–१ गोल गरे । एस्टन भिल्लासामु निरिह देखिएको लिभरपुलका मोहोमद सालाहले दुई गोल फर्काए । उनले ३३ र ६० औं मिनेटमा गोल गरेका थिए ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर युनाईटेडको पोस्टमा ६ गोल ठोक्यो । म्यान्चेस्टरका लागि यो बिर्सन लायक खेलको नतिजा ६–१ ले टुंगियो । म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा आधा दर्जन गोल बर्साउनेक्रममा हिउङ मिन सन र ह्यारी केनले २–२ गोल गर्दा दोम्बेले र सर्ज औरियरले एक एक गोल थपे ।
म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत एक गोल फर्काए । खेलको २८ औं मिनेटमा म्यान्चेस्टरका एन्टोनी मार्टीयलले रातो कार्ड खाएपछि टोली दबाबमा परेको थियो ।
प्रिमियर लिगकै अन्य खेलहरुमा वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई ३–० ले हराउँदा आर्सनलले सेफिल्ड युनाईटडलाई २–१ ले पराजित ग-यो । यसैगरी साउथह्याम्पटनले वेष्ट ब्रोमलाई २–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले फुल्हमलाई १–० ले पाखा लगायो । प्रिमियर लिगमा गएरातिका खेलहरुपछि ४ खेलबाट १२ अंक जोडेको एभर्टन शीर्ष स्थानमा छ ।
दोस्रो देखि पाँचौ स्थानसम्म रहेका एस्टन भिल्ला, लेष्टर सिटी, आर्सनल र लिरभपुलको समान ९–९ अंक रहेको छ ।






