भष्ट्रचारमा किन मुछिन्छ बेलकोटगडी नगरपालिका ?

विदुर । देशकै कान्छो नगरपालिकाको रुपमा रहेका बेलकोटगढी यतिबेला भ्रष्टाचारको अखडा बन्दै गएको छ । यसै बर्षमात्र नगरपालिकाका २ इन्जिनियर र एकजना सहयोगी भ्रष्टाचार मुद्दामा रंगे हात पक्राउ परेसँगै नगरपालिकाभित्र हुने भ्रष्टाचार र अनियमितता सार्वजनिक भएको हो ।

गत शनिबार बिहानै मात्र पनि अख्तियार दुरुपयोग अनुसन्धान आगोगले बटार बजारबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने नाममा सेवाग्राहीसँग घुस माग्ने इन्जिनियर पर्वत पौड्याललाई पक्राउ गर्यो । इन्जिनियर पौड्याललाई अख्तियारको टोलीले ७५ हजार नगदसहित पक्राउ गरेको हो । पौड्यालसहित उनलाई सहयोग गरेको आरोपमा बेलकोटगडी नगरपालिका–८ का नारायण भट्टलाई समेत अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

यसअघि उक्त नगरपालिकाका स्थायी इन्जिनियर बद्री भण्डारी पनि घुस लिएको आरोपमा पक्राउ परेका थिए । काठमाडौंबाट भण्डारीलाई घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । विकास निर्माणको योजनाको मूल्याङन गर्ने काममा उपभोक्तासँग अनावश्यक दुख दिएर रकम बार्गेनिङ गरेका भण्डारीलाई अख्तियारले पक्राउ गरेसँगै नगरपालिकाको काम कारवहीमा प्रश्न उठेको थियो ।

त्यसो त नगरपालिकामा एक बर्ष अघिमात्र केही वडामा मृतकको नाउँँमा कीर्ते सहीछाप गरी बृद्व भत्ता बुझिलिएको भन्दै अख्तियारले फाइल नियन्त्रणमा लिएको थियो । उक्त मुद्दा अझै पनि अख्तियारले छानबिनकै क्रममा राखेको छ ।

ढिलासुस्तीमा नम्बर–१
अनियमितताको चरम आरोप खेपिरहेको बेलकोटगढी नगरपालिकामा कार्यसम्पादन र जनताको काम गर्न ढिलासुस्तीमा नम्बर १ मा आउने स्थानीयहरु बताउँछन् । नगरपालिकाले निर्वाचनयता मुस्किलले ३९ वटा बैठक बोलाएको छ । त्यसो त नगरपालिकाले आर्थिक बर्ष २०७७-०७८ को लागि असार १० गते सम्पन्न नगरसभाको बजेट बाँडफाँड पुस्तिकासमेत जनप्रतिनिधिलाई उपलब्ध गराइएको छैन । वडा नं. ११ का वडाअध्यक्ष रामहरि पाण्डेले पुस्तिका प्रकाशनका लागि प्रेसमा रहेको जानकारी दिए । उनका अनुसार पहिलो पटक प्रकाशित पुस्तिकामा केही त्रुटी भएकाले दोस्रो पटक पुनः प्रकाशन गर्दा ढिला भएको हो ।

पुस्तिका ढिलो प्रकाशित हुँदा कहाँ कति र कुन योजना’bout जनप्रतिनिधि अनभिज्ञ हुन्छन् । ‘नाउँमात्रको नगरपरिषद् गरेर हामीलाई झुक्याइयो, कात्तिक मसान्तभित्र उपभोक्ता समिति गठन गरेर विकास निर्माणलाई तीब्रता दिनुपर्नेमा आजसम्म पनि कहाँ कति बजेट छुट्याइएको थाहा पाउनसमेत सकिएन’ एक वडाध्यक्षले गुनासो गरे ।

नगरपालिकाको ढुलासुस्तीको अर्को नमुना जेष्ठ नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्तामा देखिएको छ । प्रत्येक चार महिनामा जेष्ठ नागरिकले प्राप्त गर्नुपर्ने भत्ता दोस्रो चौमासिक सकिँदासम्म प्राप्त गर्न सकेका छैनन् ।

बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्ने नाममा जेष्ठ नागरिकले भत्ता वितरण गर्न नसकिएको ७ नम्बर वडाअध्यक्ष हेमनिधि नेपालले बताए । उनले भने, ‘सानिमा बैंकमार्फत् भत्ता वितरण गर्ने भनिएको थियो, नगरपालिका नै आवश्यक कागजपत्र उपलब्ध नगराएकाले भत्ता बैंकिङ प्रणालीमार्फत् वितरण गर्न सकिएको छैन ।’

बैंकलाई किन कागजपत्र उपलब्ध नगराएको भन्ने जिज्ञासामा वडा नं. ११ का वडाध्यक्ष रामहरि पाण्डेले भने, कर्मचारीको अभावमा तथ्यांक उर्तान समय लागेको हो । तथ्यांक राष्ट्रिय पञ्जीकरणमा पठाएपछि बैंकिङ प्रणालीमार्फत भत्ता वितरण हुनेछ ।’

बेलकोटगडीबाहेक नुवाकोटका सम्पूर्ण स्थानीय तहले दशैंअघि नै जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेका थिए । बेलकोटगढीका जेष्ठ नागरिकले भत्ता पाउन सकेनन् । ‘भत्ता आउँला भनेर बैंक धाउँदा धाउँदै हैरानमा परियो दशैंमा समेत भत्ता पाइएन’ स्थानीय धनकुमारी तामाङले गुनासो गरिन् ।

नगरपालिकाको काममा ढिलासुस्ती हुनुमा नगरपालिकाले बारम्बार प्रशासकीय अधिकृतहरुलाई परिर्वतन प्रमुख कारण रहेको स्थानीयहरु बताउँछन् । नगरपालिकाले गत तीन बर्षमै चार जना प्रशासकीय अधिकृत परिवर्तन गरिसकेको छ । प्रशासकीय अधिकृत किन टिक्दैनन, यसको जवाफ मेयर राजेन्द्ररमण खनालसमेत दिन चाहदैनन् । पटक पटक सम्पर्क गर्दा उनले पत्रकारलाई जवाफ दिन आफूसँग समय नभएको बताए ।

नगरपालिकाले आजसम्म पनि भएका स्थायी कर्मचारीहरुको व्यवस्थापन गर्न नसकेको बताइन्छ । ‘भएका कर्मचारीको व्यवस्थापन गर्न सकिरहेको छैन बरु अनावश्यक रुपमा आफू निकटका कार्यकर्ताहरुलाई करार कर्मचारीको रुपमा नियुक्ति मात्र गर्छन् ।’ स्थानीयहरुले गुनासो गरे ।

त्यसोत नगरपालिकाले आजसम्म पनि नगर प्रहरी समेत गठन गरेको छैन । ‘कृषि पुश र शिक्षा जस्ता क्षेत्रमा कुनै योजना नै छैन भएका कर्मचारीहरुले समेत काम पाइरहेका छैनन्, कार्यकर्ता भर्ती गरेर मनपरी चल्यो’ स्थानीयहरुले गुनासो गरे ।

विकास निर्माणमा मनपरी गरेको आरोप
बेलकोटगढाी नगरपालिकामा हुने विकास निर्माणमा समेत मनपरी र पक्षपात हुने गरेको स्थानीयहरुको गुनासो छ । आफ्ना कार्यकर्ताहरुको भरणपोषण्मै विकास निर्माणको बजेट खर्च हुने गरेको कतिपयको आरोप छ । नगर आफैले छुट्याइने बनेटमा त पक्षपात भयो भयो, प्रदेश सरकारले छुट्याएको बजेटमा समेत शिर्षकै परिर्वतन गरी मनपरी गर्छन् स्थानीय जनप्रतिनीधिले भने ।

नगरप्रमुख राजेन्द्ररमण खनालले कालिघुम्ती बेलकोट सडकखण्डमा मनपरी गरेर बजेट हालेको बताइएको छ । नगरपालिकाले उक्त सडकमा मात्रै तीन करोड बराबारको रकम हाल्यो पनि बजेट वालुवामा पानी खन्याएको जस्तो मात्र भएको स्थानीयहरुको अरोप छ । करोडौं छुट्याइएर बनाएको सकडमा अहिले समान्य गाडीहरु समेत गुड्न सक्ने अवस्था नरहेको स्थानीयहरु बताउँछन् ।

करोडौं रकम छुट्याएर बनाइएको सडकमा कार्यकर्ताहरुको भरणपोषण्का लागि नगरप्रमुख खनालको ठाडो आदेशमा १० लाखभन्दा बढी रकमको बृक्षारोपण गरे पनि एक सातामै विरुवा मरे भने केही विरुवा चोरी भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 484 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार महासंघ जिल्ला शाखाद्वारा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र