वालिङ । बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेकाे छ । पाण्डेले ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले ठूलो समस्यामा परेको भन्दै एक महिलासंग १० लाख ठगी गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
पाण्डेले पहिला महिलालाई फेसबुकमार्फत साथी बनाए अनि विभिन्न बहानामा पैसा माग्न थाले । पटकपटक गरी दश लाख २८ हजार ७०० ठगी गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।
महिलालाई विश्वासमा लिएर तत्काल फिर्ता गर्छु भनी पैसा ठगी गर्ने पाण्डेलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरी ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ’ सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको उनको भनाइ छ । प्रहरीले पक्राउ परेका युवकलाई अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको छ ।






