काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले झन्डै एक वर्षपछि १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले वाचा गरेभन्दा नौ महिनापछि आइतबार पत्रकार सम्मेलनमार्फत सागको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
राखेपले साग आयोजना भएको तीनै स्थान (काठमाडौं उपत्यका, पोखरा र जनकपुर)को हिसाब समयमा नआएको र यसबीचमा कोरोना महामारीको कारण आफूले बाचा गरेभन्दा हुन पुगेको भन्दै माफीसमेत मागेका छन् । सार्वजनिक खर्च विवरणअनुसार साग खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ । यस्तै पूर्वाधार निर्माणतर्फ विगतका वर्षहरूदेखि हालसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँँ खर्च भएको सदस्यसचिव सिलवालले जानकारी गराए । यसर्थ सागकै लागि कुल ४ अर्बभन्दा बढी खर्च भएको राखेपले जनाएको छ ।
यस्तै सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय टोलीलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख रुपैयाँलाई राखेपको खर्चमा नजोडिएको सदस्यसचिव सिलवालले बताए । सागका लागि ५ अर्ब ६९ करोड बजेट प्रस्ताव गरिएकोमा सरकाले ३ अर्ब ६५ करोड विनियोजन भएको थियो । सागमा सरकारबाट १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९ हजार ९ सय १५ र सहभागी राष्ट्रबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ आय भएको सदस्यसचिव सिलवालले जानकारी गराए ।
यस्तै, खर्चतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ संलग्न विवरणबमोजिम खर्च भएको छ । यस्तै, ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ बैंक मौज्दात रहेको र १ करोड ९३ लाख ८० हजार २ सय २४ फ्रिज भएको राखेपले जनाएको छ ।
ब्याडमिन्टन म्याट, कबड्डी म्याट, बास्केटल म्याट, टेबल टेनिस म्याट र पदक, किड्ससम्बन्द्ध केही सामग्रीमा ४ करोड ८१ लाख ३० हजार सहयोग स्वरूप प्राप्त भएको राखेपले जनाएको छ । सागको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, ८८ हजार ८ सय ४ रुपैयाँँ खर्च भएको विवरण राखेपले सार्वजनिक गरेको छ । यस्तै, होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६ सय ८३ रुपैयाँँ खर्च भएको छ । खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार ८ सय ८१ रुपैयाँँ, राष्ट्रिय टिम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९ सय ३९ रुपैयाँँ खर्च भएको छ ।
सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख, ५६ हजार ४ सय ७९, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार २ सय २४ र जनकपुरमा ८० लाख ३७ हजार २ सय १२ रुपैयाँँ खर्च भएको छ ।
पूर्वाधार निर्माणतर्फ दशरथ रंगशाला पुर्ननिर्माण, सातदोबाटो हिटिङ पुल निर्माण, सातदोबाटो स्क्वास कोर्ट निर्माण, तेक्वान्दो र कराते एकेडेमी निर्माण, च्यासल रंगशाला निर्माण, लन टेनिस कोर्ट निर्माण, लैनचौर कभर्डहल मर्मत, कीर्तिपुर क्रिकेट मैदान तथा कभर्डहल मर्मत तथा निर्माण, पोखरा रंगशाला निर्माण, पोखरा साग भेन्यु निर्माण र धनुषा कभर्डहल मर्मतमा खर्च भएको राखेपले जनाएको छ । १४औं साग पाकिस्तानले आयोजना गर्ने भए पनि यो एक वर्षको अवधिमा पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन । पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको सिलवालले बताए ।
सागमा दक्षिण एसियाली राष्ट्रका २७४६ खेलाडी ९०६ अफिसियलसहित कुल ३६५२ जनाको सहभागिता रहेको थियो । नेपालबाट ८३१ जनाले सहभागिता जनाएका थिए । साग गतवर्ष मंसिर १५ देखि २४ गते सम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा आयोजना भएको थियो । सागको इतिहासमा नै पौडीकी गौरिका सिंहले एकै सागमा ४ स्वर्ण, करोतका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फाका सुवास तामाङले दोहोरो स्वर्ण जित्न सफल भएका थिए । घरेलु भूमिमा भएको सागमा नेपालले कुल २ सय ७ पदक जितेको थियो । जसमा ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य पदक रहेको छ ।






