कांग्रेसको प्रदर्शन : प्रतिपक्षी नसुतेको सरकारलाई सन्देश

काठमाडौं । भ्रष्टाचार, अनियमितता सहित सरकारको निरंकुश कार्य शैलीको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले सोमबार ७७ वटै जिल्लामा सरकार बिरुद्ध शशक्त प्रदर्शन गर्दै प्रतिपक्ष पर्ख र हेरको स्थितिमा बसेको तर नसुतेको सन्देश दिएको हो ।

मकवानपुरको हेटौंडा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनलाई सम्बोधन गर्दै बाध्यात्मक अवस्थाका बिच कोरोना महामारीमा समेत कांग्रेस सडकमा उत्रनु परेको बताए ।

‘कांग्रेस नबोल्दा पनि नहुने बोल्न सडकमा आयो भने पनि यस्तो भिड हुन्छ, हाम्रो उद्धेश्य सडक बन्द गर्ने जनतालाई दुःख दिने होइन, कोरोना महामारीमा पनि बाध्य भएर सडकमा आउनु पर्ने अवस्था आयो ।’ देउवाले सम्बोधन सुरुवात गर्दै भने ।

सो क्रममा सभापति देउवाले पछिल्लो समय राजा आउ देश बचाउ भन्ने नाराहरु सुनिन थालेको भन्दै सरकारकै मिलेमतोमा राजावादीहरु सलबलाउन थालेको र प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंकासमेत उब्जिएको बताए ।

– गणतन्त्र जोगाउन ओली सरकारको मुक्ति आवश्यक: देउवा
– राजावादीहरुसँग सरकारको साँठगाँठ हुन सक्छ

‘राजा आउ देश बचाउ भन्ने नाराहरु सुनिन थालेका छन, राजावादीहरुसँग सरकारको संलग्नता पनि हुन सक्छ त्यो थाहा छैन, कांग्रेस प्रजातन्त्रको खिलाफमा जाँदैन, देशमा गणतन्त्र आइसकेको छ, त्यसतर्फ हामी होसियार छौं,’ देउवाले थपे ।

देउवाले गणतन्त्रलाई स्थायी बनाउन र सुदृढ पार्न ओली सरकारबाट जनताले मुक्ति चाहेको समेत उद्घोष गरे । उनले भने, ‘गणतन्त्र आइसक्या छ, गणतन्त्रलाई ठीक पार्ने, राम्रो गराउने, ओलीको सरकारबाट मुक्त गरायो भने गणतन्त्र राम्रो भएर जान्छ, यसमा हामी लागौं ।’

पछिल्लो समय देशमा भ्रष्टाचार तथा अनियमितता बढेको, हत्या हिंसाका घटनामा सरकार नै संरक्षक बनेको, कोरोना महामारीमा सरकार जनताका जिउ धनको रक्षा गर्न उदासिन बनेको, न्यायपालिका र कार्यपालिकालाई आफ्नो छायाँमा पारेको, प्रधानमन्त्री स्वयम् विकेन्द्रिकृत शक्तिलाई आफू मातहत ल्याएर निरंकुश बन्न थालेको भन्दै सरकारलाई कांग्रेसले राम्रा काममा सहयोग गर्ने प्रतिबद्धता जनाउँदा समेत गलत बाटोमा लागेकाले सरकार बिरुद्ध कांग्रेस बाध्यात्मक अवस्थामा सडकमा आएको देउवाले दाबी गरे ।

काठमाडौंको रत्नपार्कमा भएको सभालाई भने कंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे । सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले निर्दलीय पंचायती व्यवस्थाको काल र गणतन्त्र कालका कम्युनिष्ट उस्तै निरंकुश देखिन थालेको बताए ।
उनले वर्तमान सरकार इतिहासमा नै भ्रष्ट र नालायक भएको भन्दै निरंकुशता, भ्रष्टाचार र अत्याचारको बिरुद्ध कांग्रेस निरन्तर लडिरहेको र लडेर नथाक्ने बताए ।

‘यो सरकार इतिहासकै नालायक र भ्रष्टाचार सरकार भइसक्यो, मैले भन्नै पर्दैन, उनीहरुकै सचिवालयका नेताहरु यसो भन्न थालिसकेका छन, निरंकुश शासन व्यवस्था बिरुद्ध कांग्रेस लडेर कहिल्यै थाक्दैन, निरन्तर लड्छ,’ सम्बोधनका क्रममा पौडेलले भने । पौडेलले भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत प्रधानमन्त्रीको इसारामा चलेको र छानीछानी कारवाही थालेको बताए ।

‘जबजब मन्त्रीले भ्रष्टाचार गरेको काण्ड आउँछ, तबतब प्रधानमन्त्री स्वयंम अगाडि सरेर यो मन्त्री त चोखै छन्, मन्त्री त निर्दोष छन्, यो मन्त्रीलाई केही हुँदैन भनेर अख्तियातिर इसारा गर्छन्, अनि अख्तियार त्यो केसलाई मुल्तबीमा राख्छ, सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो ?,’ पौडेलको भने ।

कांंग्रेस उपसभापति विमलेन्द्र निधिले भक्तपुरको विरोध सभालाई सम्बोधन गरे भने महामन्त्री डा. शशांक कोइरालाले भने मोरङ्गको विराटनगरमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गरेका छन । यसैगरी कोषाध्यक्ष सितादेवी यादवले ललितपुरको सभालाई सम्बोधन गरेकी छन भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले जनकपुरको विरोध सभालाई सम्बोधन गरेका छन ।

यस्तै युवा नेता गगन थापा धनगढीमा आयोजित बिरोध प्रदर्शनमा सहभागी हुँदै सभालाई सम्बोधन गरेका छन । कांग्रेसले प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरेको थियो भने प्रदर्शनलाई प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारी सहित वरिष्ठ नेता र केन्द्रिय सदस्यहरुलाई जिल्ला पठाएको थियो ।

कांग्रेस सभापति देउवाले प्रदर्शनको पूर्व सन्ध्यामा आइतबार नै प्रतिपक्षका रुपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रनु परेको बताएका थिए ।

राष्टपतिलाई गगन थापाको चुनौती
‘हिम्मत भए काठमाडौंमा चुनाव लड्न आइबक्स्योस’

कांग्रेस युवा नेता गगन थापाले धनगढीमा आयोजित विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै राष्ट्रपतिले आफ्नो मर्यादा बिर्सिएको आरोप लगाए । पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मेवारी राष्ट्रपतिको नभएको भन्दै थापाले त्यता तर्फ अल्झिन नहुने र सबैको राष्ट्रपति बन्नु पर्ने बताए ।

नेता थापाले स्वर्गीय मदन भण्डारीले बोलेको भाषण सुनाएरमात्रै राष्ट्रपतिले चुनाव जितेको भन्दै पदको मार्यादा नबिर्सन राष्टपतिलाई आग्रह गरे । ‘राष्ट्रपति महोदय आँखा नचम्काइ बक्स्योस्, हात नलम्काइ बक्स्योस्, हिम्मत भए काठमाडौंमा चुनाव लड्न आइबक्स्योस्, राजालाई त सडकबाट फाल्यौं, राष्ट्रपतिलाई पनि सडकमा ल्याउन हिम्मत राखौं,’ सम्बोधनका क्रममा थापाले भने ।

उनले सरकारका क्रियाकलापबाट आजित भएर कांग्रेस सडकमा आएको भन्दै सरकार ठेगानमा नआएसम्म सडकबाट नफर्कनेसमेत दाबी गरे । ‘बालुवाटारको दुलोमा लुकेर षड्यन्त्र गरेको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको छ, सरकारले घुँडा नटेकेसम्म हामी सडकमै रहन्छौं ।’

नेता थापाले निर्मला पन्तको बलात्कार र हत्या काण्डको संरक्षण गर्ने मान्छे गृहमन्त्री, वालुवाटारको जग्गा हडप्ने अर्थ मन्त्री, स्वास्थ्य सामाग्रीमा कमिसन खाने प्रधानमन्त्रीको विशेष मन्त्री बनेको आरोप समेत लगाए ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

epaper

ताजा समाचार

जुत्ता उत्पादक व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह