पोखरा । पोखरामा बुधबारदेखि नेपाली सेनाका हिताधिकारीका लागि निर्मित अस्पताल उद्घाटन गरिएको छ । सैनिक कल्याणकारी कोषको १६ करोड रुपैयाँ लागतमा निर्मित सो अस्पताल नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सो अस्पताल उद्घाटन गरेका हुन् । सो क्रममा उनले अस्पताल निरीक्षण समेत गरे ।
प्रधानसेनापति थापाले अस्पताललाई सुविधासम्पन्न र व्यवस्थित गरिँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेशअन्तर्गत नेपाली सेनामा कार्यरत एवं पूर्वभूपू सेनाका आश्रित परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गरे ।
नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी संचालित अस्पतालमा हाल विभिन्न विषयका चिकित्सकसहित ७७ कर्मचारीको व्यवस्था भइसकेको अस्पतालका प्राविधि प्रमुख सेनानी डा. आरजुचन्द्र सिंहको भनाइ छ ।
नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको हातामा साढे ४ रोपनी जग्गामा निर्मित सो अस्पताल ५० शैया क्षमताको छ । दुईतले सो अस्पताल अपांगमैत्री हो ।
डा. सिंहका अनुसार अस्पताल सञ्चालनसँगै गण्डकीका ११ जिल्लाका २० हजारभन्दा बढी सेना र आश्रित परिवारलाई सुविधा पुग्नेछ । नेपाली सेनाले यसअघि ६ सय ३५ शैयाको सैनिक अस्पताल छाउनी र ५० शैयाको नेपालगञ्ज अस्पताल सञ्चालन गरिसकेको छ । यस्तै, पूर्वको इटहरीमा ५० शैयाको अस्पताल सञ्चालन तयारीमा छ ।
पोखरामा संचालित अस्पतालमा नेपाली सेनामा कार्यरत एवं भूतपूर्व सेनाका आश्रित परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने छ । अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, अल्ट्रासाउण्ड, एक्स–रे, सहित औषधि वितरण कक्ष, भौतिक चिकित्सा र जनरल ओपीडी सेवा उपलब्ध छन् ।
त्यस्तै, मेडिकल सघन उपचार केन्द्र, आइसोलेसन वार्ड, बालरोग, पुरुष, महिला, पोष्ट अपरेटिभ वार्डसहित प्रसूति शल्यक्रिया कक्ष, सर्जिकल शल्यक्रिया केन्द्र र मुख्य ओटी सेवा सञ्चालन गरिएको छ ।






