काठमाडौँ । नेपाल आयल निगमले विमानस्थलमा १० वर्षपछि चार वटा हवाई इन्धन बोक्ने रिफिलर थप गरेको छ । निगमले काठमाडौँको हवाई इन्धन डिपो सिनामंगलमा २७/२७ किलोलिटरका चार वटा रिफिलर १२ करोड ७७ लाख लगानीमा थप गरेको हो । निगमका अनुसार ३ करोड १९ लाख २५ हजार रुपैयाँमा खरिद गरिएको छ । यसअघि निगमले नयाँ रिफिलर खरिद गर्न नसक्दा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट भाडामा लिएर इन्धन आपूर्ति गरी रहेको थियो । नयाँ रिफिलर सञ्चालनमा आउने भएपछि एक महिनाअघि मात्र २७ हजार र १६ हजार लिटरको दुईवटा रिलिफलर फिर्ता गरेको निगमले जानकारी गराएको छ । निगमका अनुसार १६ हजार लिटर क्षमताको दुईवटा रिफिलर जनकपुर विमानस्थलमा प्रयोग गरिरहेको छ ।
यसअघि अन्तर्राष्ट्रिय हवाई उडानको लागि तीन वटामात्र रिफिलर हुँदा उडानको चाप हुँदा इन्धन आपूर्ति लागि अपुग भएपछि नयाँ थप गरिएको निगमले जानकारी दिएको छ । कोभिड–१९ को कारणले गर्दा उडान कम भएकाले आपूर्तिमा कुनै समस्या नभए पनि सामान्य अवस्थामा व्यवस्थापन गर्न समस्या पर्ने गरेको निगमको भनाइ छ । अन्तर्राष्ट्रिय उडानमा दैनिक ५ सय किलोलिटर देखि ६ सय किलोलिटर सम्म इन्धन खपत हुने हुँदा कम क्षमताको रिफिलर गर्दा इन्धन आपूर्ति गर्न धेरै समस्या हुने गरेको थियो ।
चारवटा रिफिलर थप गर्दा अबका दिनमा हवाई इन्धन आपूर्ति गर्न धेरै सहज हुने नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगलका प्रमुख अभिशेक ठाकुरले जानकारी दिए । उनले यसअघि निगमसँग हवाई इन्धन गर्न आपूर्ति गर्ने रिफिलर नहुँदा हवाई उडानका लागि इन्धन आपूर्ति गर्न कठिन हुने गरेको बताए । डिपो प्रमुख ठाकुरले भने, ‘हवाई इन्धन आपूर्तिका लागि आइओसीसँग चारवटा रिफिलर भाडामा ल्याएको थियो । अहिले चार वटा मध्ये दुई वटा रिफिलर फिर्ता गरी सकेको छ ।’ दुई वटा भने अहिले पनि सञ्चालन ल्याएको प्रमुख ठाकुरले बताए । ठाकुरका अनुसार निगमसँग ठुलो क्षमताको रिफिलर नहुँदा विषेश गरी अन्तर्राष्ट्रिय हवाई उडानको चाप भएको समयमा हवाई इन्धन आपूर्ति कठिन हुने गरेको थियो ।
डिपो प्रमुख ठाकुरका अनुसार सामान्य अवस्थामा त्रिभुवन विमानस्थलमा दैनिक पाँच लाख लिटर हवाई इन्धन खपत हुँदै आएको छ । उनले आन्तरिकतर्फ एक लाख र अन्तर्राष्ट्रियतर्फ चार लाख लिटरसम्म इन्धन खपत हुने गरेको बताए ।
सिनामंगल डिपोमा ७० लाख लिटर क्षमताको हवाई इन्धन भन्डारण रहेको छ । नयाँ बनिरहेका भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर थप रिफ्युलर सञ्चालन गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ । उपत्यकाबाहिर रहेका विमानस्थलमा हाल २० वटा रिफिलरले हवाई इन्धन भर्ने काम गरिरहेका छन् ।






