काठमाडौँ । संघिय सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब २८ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको साउन देखि मंसिर महिनासम्ममा सो खर्च गरेको हो । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा सरकारले ९.९ प्रतिशत बढी खर्च गरेको भएपनि पुँजीगत खर्च भने निरासाजनक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिका सरकारले २ खर्ब ९८ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले कुल खर्च मध्ये चालु खर्च २ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ गरेको छ । पूँजीगत तर्फ ३५ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ भने वित्तिय व्यवस्था तर्फ ११ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेको छ । चालु खर्च १३.७ बढेको छ भने पँुजीगत खर्च ४.४ प्रतिशतले घटेको छ । यसैगरी र वित्तीय व्यवस्था तर्फको १७.१ प्रतिशतले घटेको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माण कार्यहरु सञ्चालनमा कठिनाइ भएको कारण पुँजीगत अपेक्षा अनुसार हुन नसकेको मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा कुल विनियोजित बजेटको २२.२७ प्रतिशत खर्च भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष सोही अवधिमा कुल खर्च १९.४९ प्रतिशत भएको थियो । चालु खर्च तर्फ विनियोजित बजेटको २९.८५ प्रतिशत भएको छ भने पँजीगत खर्च जम्मा १०.१८ प्रतिशत मात्र भएको छ । यसैगरी वित्तिय व्यवस्था तर्फ ६.८१ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा चालु खर्च २५.८० प्रतिशत पुजीगत खर्च ९.२२ प्रतिशत र वित्तिय व्यवस्था तर्फ ८.४४ प्रतिशत रकम खर्च भएको थियो ।
सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा चालु खर्च ०.१८ प्रतिशत गरेको छ भने पँुजीगत तर्फ ०.०४ प्रतिशत मात्र खर्च गरेको छ । यसैगरी वित्तिय व्यवस्था तर्फ ०.०७ प्रतिशत खर्च गरी जम्मा संघिय खर्च ०.१३ प्रतिशत गरेको छ । चालु आर्थिक वर्षको दोस्रो महिना चालु खर्च ६.६६ प्रतिशत, पुजीगत खर्च १.०६ प्रतिशत र वित्तिय तर्फ ०.९१ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षको दोस्रो महिना जम्मा गरेर ४.६५ प्रतिशत खर्च गरेको छ । तेस्रो महिनामा चालु खर्च १९.२४ प्रतिशत, पुँजीगत खर्च ४.२६ प्रतिशत र वित्तिय खर्च १.९८ प्रतिशत खर्च गरी जम्मा १३.६४ प्रतिशत खर्च गरेको छ । यसैगरी चौथो वर्ष महिना चालु खर्च २४.२५ प्रतिशत पुँजीगत खर्च .३४ प्रतिशत, वित्तीय खर्च ५.५१ प्रतिशत गरी जम्मामा १८.२५ प्रतिशत खर्च भएको गरेको छ । चालु आर्थिक वर्षको पाँचौ महिनामा सरकारले सबै भन्दा बढी खर्च गरेको छ । चालु खर्च २९.८५ प्रतिशत खर्च गरेको छ भने पुँजीगत तर्फ १०.१८ प्रतिशत खर्च गरेको छ । यसैगरी वित्तीय तर्फ ६.८१ प्रतिशत खर्च गरी जम्मा २२.२७ प्रतिशत खर्च गरेको छ ।
यसैगरी सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब १ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा २.४ प्रतिशत कम हो । कुल राजस्वमा कर राजस्व २ खर्ब ८४ अर्ब ५९ करोड र गैरकर राजस्व १६ अर्ब ७० करोड रुपैयाँ रहेको छ । यस अवधिमा कुल राजस्व र अन्य सहित कुल ३ खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।






