काठमाडौं । लोकदोहोरी गायिका जानुका तामाङ यतिबेला नयाँ लोकदोहोरी झ्याउरे भाका उखु गुलियो…लिएर दर्शकश्रोता माझ आएकी छन् । आधा दशकदेखि गायनमा सक्रिय जानुकाको यो अहिलेसम्मै महँगो लगानीको गीत हो ।
अग्रज गायक चन्द्र शर्मा र जानुकाको स्वरमा उखु गुलियो तयार भएको हो । खेम सेन्चुरीले संगीत गरेको यो गीतको भिडियो त्यत्तिकै आकर्षक बनेको छ । हिमालदेखि तराईसम्मको वेशभूषा र नृत्य समेटिएका कारण पनि दर्शकले भिडियो रुचाएका छन् । भिडियोलाई सुनिल क्षत्रीले निर्देशन गरेका हुन् । सोही कारण पनि यो गीतले रिलिज भएको तीन दिनमै ४ लाख दर्शकको साथ पाइसकेको छ ।
दाजु र बहिनीको सम्बोधनबाट सुरु भएको गीतमा माया प्रेमका कुरा गरिएको छ । दाजु र बहिनीबीच मायाप्रेमका कुरा गर्दा दर्शकको विभिन्न टिप्पणी पनि नआएको हैन । यो विषयमा गायिका जानुकाले भनिन्, ‘केटाकेटी भेट हुँदा सुरुमा दाइ बहिनी भनेर सम्बोधन गर्ने तर पछि साथी भएर प्रेम गर्नेहरू यहाँ धेरै छन् । समाजमा यस्तो कुरा देखेरै हामीले पनि गीतमा दाजु बहिनीको सम्बोधनबाट सुरु गरेर माया प्रेम देखाएका हौं ।’ दाइ बहिनी भनेर गरिएको पहिलो सम्बोधनलाई गलत रुपमा नलिन यी गायिकाले अनुरोध गरेकी छन् ।
यो आधा दशकको गायन यात्रामा जानुकाले ४० भन्दा बढी लोकदोहोरी भाका दर्शकमाझ ल्याइसकेकी छन् । आफूले बाबुराम परियारसँग गाएको पहिले गीत अन्तिमपल्ट भेट्न मन लाग्छ … हिट भएपछि उनले गायन यात्रा अघि बढाएकी हुन् । उनले अर्को हिट गीत तामे करुवाले झनै चर्चामा ल्यायो । यस्तै दर्शन ढुंगा, म माया मार्न चाहन्छु, तीजको झल्को जस्तो थुप्रै उनका सफल गीतहरू छन् ।
अग्रज गायक चन्द्र शर्मासँग पहिलोपटक नयाँ गीत उखु गुलियो गाएकी जानुकाले आफू शर्माको धेरै अघिदेखि फ्यान रहेको बताइन् । यतिबेला चन्द्र शर्मासँग दोहोरी गाउन पाउँदा उनले खुसी व्यक्त गरेकी छन् ।
यसअघि राजु परियारसँग गाएको गीत मेरो माया … पनि दर्शकले रुचाएपछि चन्द्र शर्मासँग गाउने योजना उनले बताएकी थिइन् । त्यो योजना यतिबेला सफल भएको छ । उखु गुलियोमा लगानी महँगो परे पनि यसले लगानी उठाउने उनको विश्वास छ ।
यसअघि कुलेन्द्र विक, राजकुमार बानियाँ, दीपक परियार, खेम सेन्चुरी, अर्जुन केसीसहित थुुप्रै लोकगायकहरूसँग जानुकाले गीत गाईसकेकी छन् । केही समय विदेश बसेकी उनी बिदामा नेपाल आउँदा केही गीत रेकर्ड गरेर जान्छिन् । कोरोनाको समस्यापछि नेपाल आएकी उनी अब यतै बसेर गायनलाई निरन्तरता दिने पक्षमा छिन् ।
आफूले निकै आशा गरेको उखु गुलियोलाई दर्शकले यतिबेला निकै मन पराएकोमा उनी खुसी छिन् । खेम सेन्चुरीको यसअघिको गीत झ्यालमा पर्दाले १ करोड भ्युज युट्युबमा पाएको बेला आफू र चन्द्र शर्माको उखु गुलियो गीतले पनि त्यो सफलता चुम्ने आशा यी गायिकाको छ ।






