७.५५ प्रतिशतले लगाए खोप

काठमाडौं । हालसम्म कोरोना संक्रमणविरुद्धको खोप लगाउन योग्यमध्ये ७ प्रतिशत बढी नागरिकले खोप लगाएका छन् । सरकारले कुल जनसंख्यामध्ये २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । जसमा हालसम्म १६ लाख ४४ हजार ५ सय ५८ लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यो कुल जनसंख्याको ७.५५ प्रतिशत हो ।

सरकारले स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक ५१ लाख ६४ हजार २ सय ६९ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । यसैगरी, ४० देखि ५४ वर्षका बाँकी २९ लाख १ हजार १ सय ४, १५ देखि ३९ वर्षका सबै १ करोड २७ लाख ८० हजार ४८ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

यसैबीच, खोप नआएपछि अभियान प्रभावित भएको छ । अभियानलाई निरन्तरता दिन भारतबाट ल्याउन बाँकी १० लाख डोज र कोभ्याक्स फ्यासिलिटीबाट आउने भनिएको ३ लाख ४८ हजारमा नेपाल निर्भर थियो । यद्यपि, अहिलेसम्म दुवै खोप आउन सकेको छैन ।

– लक्ष्यः २,१७,५६,७६३,
– प्राप्तः १६,४४,५५८
– समय नआएपछि अभियान प्रभावित
– दोस्रो मात्रा ७ देखि ११ वैशाखसम्म

त्यस्तै, १४ माघदेखि १० फागुनसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएकालाई ७ देखि ११ वैशाखसम्म दोस्रो मात्रा दिने योजना बनाइएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा तीन महिनापछि दिने निर्णय गरेको हो ।

बैठकले दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मकालाई पहिलो मात्रा दिनका लागि पछि सूचना जारी गर्ने जनाएको छ । पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८ सय ८० व्यक्तिले खोप लगाएका थिए । दोस्रो मात्रा लगाइसकेकालाई खोप कार्डसमेत उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।

यता, भारतबाट अनुदानस्वरूप उपलब्ध पहिलो खोपको मौज्दातसहित सम्पूर्ण विवरण पठाउन स्वास्थ्य मन्त्रालयले खोप केन्द्रलाई निर्देशन दिएको छ । सबै केन्द्रलाई मौज्दातसहित सम्पूर्ण विवरण दुई दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिएको हो ।

स्वास्थ्य संस्थामा पठाएको र बाँकी खोप भण्डारण केन्द्रमा सुरक्षित राखेर पहिलो प्राथमिकतामा परी पहिलो मात्रा खोप लगाएका स्वास्थ्यकर्मीलगायतका लागि सुरक्षित राख्नसमेत निर्देशन दिइएको छ ।

दोस्रो प्राथमिकतामा परेकालाई २० दिनका लागि सञ्चालन गरेको कोरोनाविरुद्धको खोप अभियान रोकिएको छ । गत २३ फागुनदेखि दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन सुरु गरे पनि अभियान ३ चैतमा स्थगित भएको छ ।

४ चैतदेखि ५५ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने घोषणा गरिए पनि पर्याप्त खोप नहुँदा खोप अभियान स्थगित भएको हो । सरकारले खरिद गरेको १० लाख मात्रा तथा कोभ्याक्स फ्यासिलिटीमार्फत ३ लाख ४८ हजार खोप अहिलेसम्म आउन सकेको छैन ।

त्यस्तै, देशभर बुधबार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५५ कोरोना संक्रमित घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ९ सय ५४ छन् ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान