काठमाडौं । कोभिड–१९ को महामारीपछि बिगत एक वर्षदेखि नेपालमा सिनेमा हलमा चलचित्रको व्यापार ठप्प जस्तै छ । आउँदो नयाँ वर्षपछिबाट केही राम्रा फिल्म रिलिज हुने संकेत देखिएकाले चलचित्रको बजार सुरु हुने आशा गरिएको छ । तर, यतिबेला नेपाली चलचित्रको निर्माण क्रम भने पुरानै लयमा आउन लागेको छ । निर्माता निर्देशक उत्साहका साथ चलचित्रको छायांकनमा जुटेका छन् ।
चलचित्र बनाउने क्रम अहिले बढेको छ । आधा दर्जनभन्दा बढी चलचित्र अहिले छायांकनमा छन् । यी सबै चलचित्र आगामी भदौपछि प्रदर्शन गर्ने लक्ष्यका साथ छायांकन थालिएको छ । अबको ६ महिनापछिबाट चाडहरू सुरु हुने र सुईका कारण कारण कोरोनाका त्राससँगै संक्रमण घट्ने सम्भावना देखेर आफूहरू चलचित्रको छायांकनमा उत्रिएको सम्बन्धित निर्माता निर्देशकको कथन छ ।
यसैक्रममा निर्माता निर्देशक दीपक श्रेष्ठ अहिले नयाँ चलचित्र घिन्ताङको छायांकनमा व्यस्त छन् । आगामी दसैंसम्म नेपाली चलचित्रको बजारमा सुधार आउने उनको विश्वास छ । सोही कारण आफू यो चलचित्रको निर्माण निर्देशनमा उत्रिएको उनले बताएका छन् । चलचित्र घिन्ताङमा गौरव पहारी, लक्ष्मी बर्देवालगायतको मुख्य भूमिका छ । एक पुरुष र एकल महिलाबीचको अन्तरजातीय प्रेममा आधारित रहेर आफूले यो चलचित्रको निर्माण निर्देशन गरिरहेको उनले बताएका छन् ।
यस्ता निर्देशक दिनेश राउत यति बेला नयाँ चलचित्र प्रकाशको छायांकनमा छन् । यो चलचित्रको गत साताबाट जुम्लामा छायांकन भइरहेको छ । विकट ग्रामीण क्षेत्रका एक युवकको संघर्षको कथा समेटिएको यो चलचित्रलाई आगामी दसैं छेका प्रदर्शन गर्ने लक्ष्यसहित आफू निर्माण निर्देशनमा उत्रिएको निर्देशक राउतले राजधानीलाई बताए । उनी पनि आगामी दसैंबाट नेपाली चलचित्रको बजार राम्रो हुने विश्वासका साथ फिल्म निर्माणमा जुटेका छन् । यो चलचित्रमा प्रदीप खड्का प्रकाशको भूमिकामा छन् । प्रदीपसँगै दिया मास्के, रेणु योगी, प्रकाश घिमिरेसहितको मुख्य भूमिका यो चलचित्रमा रहेको छ ।
राघव आचार्यको निर्देशनमा नयाँ चलचित्र ‘ए साथी सुन’को छायांकन पनि पाँच दिनअघिबाट हेटौंडादेखि सुरु भएको छ । प्रेम कथामा आधारित यो चलचित्रमा वर्षा सिवाकोटीको मुख्य भूमिका छ । यो चलचित्रमा वर्षासँगै नवअभिनेता रमेश बाँनियाले नायकको रूपमा डेब्यू गर्दै छन् । फिल्मलाई विना कार्कीले निर्माण गरिरहेकी छन् ।
यस्तै चार दिनअघिबाट नयाँ चलचित्र ‘ए’ को छायांकन सुरु भएको छ । हरर थ्रिलर भनिएको यो चलचित्रको निर्देशकमा भोमन कटुवाल छन् । यो चलचित्रमा प्रमोद अग्रहरी, छुल्टिम गुरुङ, सोहित मानन्धर, रिस्ता बस्नेत, रवि गिरी, प्रविन खतिवडा, सीएम भारद्वाज, विकेश प्रजापति, सुरज विष्ट, समीक्षा क्षत्रीलगायतको मुख्य भूमिका रहनेछ । फिल्मका निर्मातामा प्रलाद काफ्ले छन् । यो चलचित्रको अहिले काठमाडौं उपत्यकामा छायांकन भइरहेको छ ।
निर्माता शर्मिला पाण्डे तथा निर्देशक दीपेन्द्र के खनाल यति बेला नयाँ चलचित्र चिसो मान्छेको निर्माणमा व्यस्त छन् । यो चलचित्रको गत साताबाट काठमाडौंदेखि छायांकन सुरु भएको हो । आफ्नो चलचित्र आगामी दसैंको आसपासमा रिलिज गर्ने लक्ष्य निर्देशक खनालको रहेको छ । यो चलचित्रको अहिले पश्चिमका विभिन्न जिल्लाको राजमार्गमा छायांकन भइरहेको छ । यो चलचित्रमा स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ ।
यस्तै धिरेन शाक्यको मुख्य भूमिका रहेको नयाँ चलचित्र मञ्जिलको पनि यति बेला दाङमा छायांकन भइरहेको छ । यो चलचित्रको गत साताबाट सुटुक्क छायांकन थालिएको अभिनेता धिरेनले बताएका छन् ।
आर्यन सिग्देलको मुख्य भूमिका रहेको निर्माता लक्ष्मण रिजालको फिल्म डिसेम्बर फल्स पनि अहिले छायांकनमै छ । पोखरामा करिब ८० प्रतिशत छायांकन सम्पन्न गरिएको यो फिल्मको केही दृष्य हिमाली क्षेत्रमा खिच्नका लागि आफूहरू पुनः छायांकनमा जान लागेको निर्माता रिजालले बताएका छन् । यस्तै बुधबारबाट अर्को नयाँ चलचित्र बिहे पासको पनि छायांकन सुरु हुँदै छ । यो चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा छन् ।
यसरी कोभिडको संक्रमण अझै जारी रहे पनि नेपाली चलचित्रको छायांकन गर्ने क्रम मौलाएको छ । आगामी नयाँ वर्षसँगै अझै केही चलचित्र छायांकनका लागि मैदानमा जाँदै छन् । राम्रा ब्यानरका बलिउड चलचित्र तीन सातापछिबाट नियमित प्रदर्शनमा आउने भएकाले सोही छेकोबाट नेपाली चलचित्रको बजारमा राम्रो हुने आशासहित आफूहरू धमाधम चलचित्रको छायांकनमा उत्रिएको निर्माता निर्देशकको भनाइ छ ।






