काठमाडौं । नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । अब फाइनलमा नेपाल र बंगलादेशबीच नै प्रतिस्र्धा हुनेछ । फाइनल सोमबार हुनेछ । विजेताले ५ हजार अमेरिकी डलर हात पार्नेछन् ।
लिग चरणमा नेपालले दुई खेलबाट २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । शीर्षस्थानको बंगलादेशले २ खेलबाट ४ अंक जोड्यो । नेपाल र बंगलादेशको बराबरीले किर्गिस्तानको यू–२३ टोली प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानले लिग चरणमा १ अंक जोड्यो । किर्गिस्तान बंगलादेशसँग पराजित हुँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले पछिल्लो ६ खेलमा गोल गर्न सकेको छैन
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली नेपालले बल पोसेसनमा बलियो पकड बनाए पनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर पोस्टको माथिबाट बाहिरिँदा नेपाल अग्रता लिनबाट चुक्यो । २४औं मिनेटमा त्रिदेव गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन ।
३७औं मिनेटमा फ्रिकिकबाट आएको बललाई बंगलादेशका खेलाडीको हेडरलाई रोहित चन्दले क्लियर गर्दै नेपालको संकट टारे । ४०औं मिनेटमा कप्तान जमल भुयाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिँदा बंगलादेश अग्रता लिनबाट चुक्यो । ५४औं मिनेटमा जमल भुयाको फ्रिकिकलाई नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै बचाए ।
५९औं मिनेटमा सुनिल बलको पासमा अन्जन विष्टको फितलो प्रहारलाई बंगलादेशका गोलरक्षक मोहम्मद साहिदुल आलमले सहजै नियन्त्रणमा लिए । ६४औं मिनेटमा सुनिल बलको क्रस पासमा त्रिदेव गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहारले पोस्टको गति लिन सकेन । ६५औं मिनेटमा रन्जित धिमालको क्रसमा अभिषेक रिजालको हेडर बाहिरिँदा नेपालले अग्रता लिन सकेन । ८२औं मिनेटमा दिनेश राजवंशीको थ्रो बलमा दर्शन गुरुङको हेडर क्रसबारमा लागेर बाहिरिँदा नेपाल अग्रता लिनबाट चुक्यो ।
दोस्रो हाफमा विशाल राई र सुनिल बल मैदान प्रवेश गरेपछि नेपालले बल पोसेसनमा थप पकड बनाउँदै आक्रमण बुने पनि फिनिसिङ चुक्दा नेपाल जितबाट वञ्चित बन्यो । नेपालका डिफेन्डर रोहित चन्द खेलको म्यान अफ दि म्याच घोषित भए । उनले २ सय ५० अमेरिकी डलर प्राप्त गरे ।
बराबरीपछि बंगलादेशमा मुख्य प्रशिक्षक जेम्स डेले खेल प्रतिस्पर्धात्मक भएको र गोल पनि निस्कन सम्भव नभएको बताउँदै फाइनलमा घरेलु टोलीलाई हराउँदै उपाधि जित्ने योजना रहेको बताए । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पोइन्ट लुज नगर्ने रणनीतिमा सफल भएको र फाइनलमा ट्रफी उचाल्ने बताए । ‘पहिलो हाफ र दोस्रो हाफमा हामीले डोमिनेट गरेरै खेल्यौं । तर, स्कोर निस्कन सकेन । फुटबल जित्न स्कोरको आवश्यकता छ । भाग्यले साथ नदिएको पनि हुन सक्छ ।’ प्रशिक्षक महर्जनले खेलपछि भने, फाइनल डु अर डाई हुनेछ । अट्याकिङ थर्ड र स्ट्राइकरलाई चलायमान बनाउँदै गोलका लागि फाइनलमा आशा गर्नेछौं ।’ खेलको म्यान अफ दि म्याच घोषित भएको रक्षक रोहिचत चन्दले प्रशिक्षकको योजनाअनुसार खेलेको बताए ।
सन्जोक, त्रिदेव र निशानको ‘डेब्यु’
मिडफिल्डरद्वय सन्जोक राई र त्रिदेव गुरुङसँगै डिफेन्डर निशान खड्काले नेपाली सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । थ्री नेसन्स कपअन्तर्गत शनिबार बंगलादेशविरुद्धको खेलबाट सन्जोक र त्रिदेव र निशानले सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । सन्जोक र त्रिदेवले सुरुवाती रोजाइमा र निशानले दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । यी तीन खेलाडीले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै सिनियर टोलीमा डेब्यु गर्न सफल भएका हुन् ।
सन्जोक, त्रिदेव र निशान खड्काले नेसन्स कपकै किर्गिस्तानको यू–२३ टोलीविरुद्धको खेलबाट राष्ट्रिय टोलीको जर्सी लगाए पनि उनीहरूको अन्तर्राष्ट्रिय ‘डेब्यु’ मानिएको थिएन । सन्जोक र निशानले ‘ए’ डिभिजन क्लब रुस्लान थ्रीस्टारबाट तथा त्रिदेवले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा क्लबबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका छन् । च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका सन्जोक र निशान त्यसपछि थ्री स्टारमा पुगेका थिए । २२ वर्षीय सन्जोक गत वर्षको लिगमा ह्याट्रिक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।
उनले किर्गिस्तानको यू–२३ टोलीविरुद्ध ८६ मिनेट मैदानमा बिताएका थिए । उनलाई विशाल राईले स्थानान्तरण गरेका थिए । सन्जोक नेपाल सुपर लिग (एनएसएल) क्लब काठमाडौं रेजर्ससँग १ लाख रुपैयाँमा अनुबन्धित भएका छन् । घरेलु लिगमा हिमालयन शेर्पाबाट खेल्दै आएका त्रिदेवले राष्ट्रिय टोलीमा परेको पहिलोपटक नै सिनियर टोलीमा खेल्ने मौका पाए ।
किर्गिस्तानविरुद्ध सुरुवाती–११ मै स्थान बनाएका त्रिदेवलाई ५९ मिनेटमा सुजल श्रेष्ठले स्थानान्तरण गरेका थिए । एनएसएलमा त्रिदेव १ लाख रुपैयाँमा काठमाडौं रेजर्समा अनुबन्धित छन् । निशानले ७१औं मिनेटमा रन्जित धिमाललाई प्रतिस्थापन गरे । २३ वर्षीय डिफेन्डर निशान खड्काले रुस्लान थ्री स्टारबाट व्यावसायिक फुटबल खेल्छन् ।






