काठमाडौं । हास्य अभिनेता सुलेमान शंकर (इकु)को दिनचर्या आजकाल अनाथ बालबालिकासँग बित्ने गरेको छ । टेलिफिल्म तथा फिल्मको छायांकनबाहेक अरू बेला उनी मूलपानीको स्नेह बाल आश्रममा हुने गर्छन् ।
यो बाल आश्रमको स्थापना इकुले नै गरेका हुन् । आफ्नो दोस्रो फिल्म इकुले केही व्यावसायिक पीडा दिएपछि दिक्क भएका इकु पाँच वर्षअघि एकाएक बालआश्रम सञ्चालनमा लागेका हुन् ।
२०७२ सालमा बिनासकारी भूकम्प गएपछि त्यसबाट धेरै प्रभावित भए । सोही भूकम्पबाट अभिभावक गुमाएका दुई बालबालिकालाई आश्रय दिने क्रममा उनले कानुनी रूपमा घरमा पाल्न सकेनन् । ती दुई बालबालिकालाई सहारा दिनकै लागि उनले स्नेह बाल आश्रम सञ्चालनमा ल्याए । यति बेला यो आश्रममा १४ जना बालबालिका रहेका छन् । जसमा ७ जना बालक र ७ जना बालिका रहेको पनि इकुले जानकारी गराए । जहाँ ३ वर्षदेखि १४ वर्ष उमेरभित्रका बालबालिका रहेका छन् ।
त्यति बेला भूकम्पबाट अभिभावक गुमाएर एक्लो भएका अरू बालबालिका उनले इकुले भेटे । उनीहरूलाई पनि आफ्नो आश्रममा आश्रय दिँदादिँदै उनीहरू अहिलेसम्म १४ जना बालबालिका पुगेका हुन् ।
आश्रममा सबै बालिकाले इकुलाई बुबा भनेर सम्बोधन गर्छन् । हास्य टेली शृंखलामा इकु इकु भन्दै जंगली मानिसको भूमिकाबाट चर्चा कमाएका उनले इकु नामबाट दुईवटा बाल फिल्म नै बनाए । बालबालिकाका लागि नेपालमा मनपर्ने हास्य कलाकारमध्ये इकु पनि पर्छन् । सोही कारण पनि आफूले बालबालिकाका लागि काम गर्दै आएको इकुले बताए । बालबालिकाका लागि फिल्म बनाउँदा बनाउँदै बाल आश्रम खोलेर बाल सेवामा आफू जुटेको पनि उनले बताए ।
भूकम्पबाहेक अन्य कारणले पनि आमा–बुबा गुमाएका बच्चालाई पनि इकुले संरक्षण दिइरहेका छन् । आमा गुमाएर अनाथ भएका जुम्ल्याहा बालक लव र कुसलाई उनले केही समय अघि वीर अस्पतालबाट आश्रममा ल्याई संरक्षण दिएका छन् ।
नेपालमा कोभिडको समस्या देखिनुअघि नियमित हुने विभिन्न स्टेज कार्यक्रमको कमाइबाट इकुले सजिलै सो बाल आश्रम सञ्चालन गरेका थिए । तर, अहिलेको अवस्था प्रतिकूल रहेको उनले बताएका छन् ।
कोभिडपछि स्टेज कार्यक्रम बन्दको अवस्थामा रहेको चलचित्रको पनि छायांकन नभएको र अन्य विभिन्न कारणले गर्दा यतिबेला आश्रम चलाउन समस्या भएको उनले बताए ।
स्नेह बाल आश्रममा रहेका १४ जना बालबालिकालाई नै उनले विभिन्न विद्यालयमा पढाएका छन् । तर, यतिबेला ती बालबालिकाका लागि विद्यालय शुल्क तिर्न निकै धौधौ परेको इकुले बताए । ती बालबालिकाका लागि पालनोषनकै समस्या परेको बेला उनीहरूलाई स्कुलको शुल्क बुझाउन झनै गाह्रो परेको उनले बताए ।
‘कोभिडपछि देश विदेशमा रहेका केही साथीले धेरथोर आर्थिक सहयोग गरेर यहाँसम्म आश्रम चलाएका हौं । मनकारी नेपालीले सहयोग गरेको खण्डमा हामीले यो आश्रम सञ्चालन गरेर आश्रमका लागि केही करोडमा जग्गा किनेर घर नै बनाउन सक्छौं ।’ इकुको भनाइमा त्यहाँ आश्रित बालबालिका अध्ययनमा निकै तीक्ष्ण छन् । सबैको सहयोग भएमा उनीहरूको भविष्य उज्ज्वल हुने भनाइ यी हास्य अभिनेताको छ ।
कोरोना संक्रमण कम भएमा स्टेज कार्यक्रम सुरु हुने उनको आशा छ, ‘स्टेज कार्यक्रम सुरु भएपछि त देश–विदेशमा कार्यक्रम हुन्छन् । त्यसपछि मेरो आफ्नै कमाइले पनि आश्रम चलाउन केही सहज हुने थियो ।’






